• मंसिर १२ २०८१, बुधबार

बनेपामा मनाइने चण्डेश्वरी जात्राका विशेषता के-के हुन् ?

बैशाख ३१ २०७९, शनिबार

नेपालका प्रसिद्व नगरहरुमध्ये धार्मिक ऐतिहासिक र व्यापारी दृष्टिकोणले बनेपा पनि एक हो । यो नगर काभ्रेका प्राचीन सात बस्तीहरु मध्ये पनि एक हो ।

परापूर्वकालमा बनेपाको उत्तरतिर रहेको नाला शहरलाई देशपनि भनिन्थ्यो । घनाबस्ती भएको र वरिपरिबाट पर्खालले घेरेको शहरलाई देश भन्ने चलन थियो । यसैगरि बनेपा नगरको अधिष्ठात्री देवी चन्देश्वरी हुन् ।

चण्डेश्वरी देवीलाई यहाँका मानिसहरुले आफ्नो दृष्टिदेवीको रुपमा मान्दै आएका छन् । काठमाडौँदेखि पूर्व २६ कि.मिमा रहेको र काठमाडौं उपत्यकाको बाहिरी भागमा रहेको एउटा चिटिक्कको शहर पनि हो बनेपा । बनेपा काभ्रे जिल्लाको व्यापारीक केन्द्रको रुपमा रहेको छ । यस शहरमा मल्ल राजाको पुरानो दरबारको भग्नावेश पनि रहेको छ ।

यो शहरमा गणेश मूर्तिसहितको आठ ठाउँमा शहरभित्र पस्ने ढोका, कुण्ड तथा पाटीहरु प्रशस्त मात्रामा छन् । यस ठाउँको मुख्य जात्रा माता चण्डेश्वरीको जात्रा हो । चण्डेश्वरीको मन्दिर बनेपा शहरबाट उत्तर पूर्वी मोहडामा करिब २ कि. मि टाढा रहेको छ ।

लोकजीवनमा चण्डेश्वरीलाई जगज्जननी भगवती दुर्गा, महिषासुर, मर्दिनी भवानी, चण्डिका, कालिका, चण्डमुण्ड विनासिनी, उग्रतारा, सरस्वती, चामुण्डा कुमारी, कुमारी दुमाजु आदि विविध नामबाट पुकार्ने चलन रहेको थियो ।

मनिमय पर्वतको फेदमा अवस्थित रक्तचन्दन वनमा रहेको चन्दनको रुखबाट प्रकट भएर चण्डासुर वध गरेकी हुँदा काभ्रेमा यी देवीलाई चण्डेश्वरीको अलावा चन्दनेश्वरी पनि भनि पुकारेको पाइन्छ ।

चण्डेश्वरीको उत्पत्ति :

प्रचलित वंशावलीमा चण्डेश्वरी देवी र चण्डेश्वरी महादेवको उत्पत्ति बारे यसप्रकार बयान गरिएको पाइन्छ । एक समय एक महापराक्रमी दैत्य र देवगनबिच युद्ध भयो । त्यस युद्धमा देवगणले दैत्यलाई जित्न सकेनन् ।

जित्न नसक्नुको कारण त्यस दैत्यले हजारौं वर्षसम्म महादेवको कठिन तपस्या गर्दा महादेव प्रसन्न भएर स्वर्ग मत्र्य र पाताल तिनै लोकमा अजय हुने वरदान दिए । सो वरदानले गर्दा देवगणहरु माथि विजयको अभिलाषा बोकेर देवगणहरुलाई दुःख दिन थाले । सम्पूर्ण देवगणहरु दैत्यबाट भागेर आफ्नो आत्मरक्षाको लागि माता भगवतीको आराधना गर्न थाले । उनीहरु आराधना सुनेर बस्दा दैत्यगणहरु पनि त्यहिँ पुगी हमला गर्न थाले ।

सम्पूर्ण देवगणहरु भागे । माता भगवती भने एउटा चम्पक वृक्षमा लुक्न पुगिन् । ती दैत्यहरुले देखेर त्यस चम्पक वृक्षलाई टुक्रा टुक्रा पारिदिए । काटिएको वृक्षको फेंदबाट शक्तिशाली देवीप्रकट भईन् । देवी र दैत्यकाबिच वाक युद्ध भयो । अन्त्यमा दैत्यको हार निश्चित भएपछि आफ्नो मृत्यु पूर्व एउटा महादेव स्थापना गर्ने इच्छा प्रकट गरे ।

सोही अनुरुप महादेव स्थापना गरे र सो महादेवको नाम चण्डेश्वरी महादेव हुन पुग्यो भने त्यस चन्डासुर दैत्यलाई माता भगवतीले वध गरेको हुनाले उनको नाम चण्डेश्वरी भगवती हुन पुग्यो भन्ने रहेको छ । भगवती स्थान भन्दा शिवलिङ्ग पहिले स्थापना भएको हुनाले चण्डेश्वर महादेवको पहिले पूजा गरेर मात्र देवी चण्डेश्वरीको पुजा गर्ने चलन आजपनि रहेको हो । चण्डेश्वरी मन्दिरमा भने उक्त चम्पक वृक्षको ठुटोलाई नै प्रतिक मानी अहिले पनि पुजाआजा गरिन्छ ।

चण्डेश्वरी जात्रा :

विक्रम संवत् नववर्षको आगमन संगसंंगै काठमाडौँ उपत्यका र त्यसको वरिपरि विभिन्न देवी देवताको जात्रा गर्ने परम्परा अनुरुप बनेपामा चण्डेश्वरीको जात्रा गर्ने चलन रहिआएको छ । बैसाख पूर्णिमातिर बडो धुमधामले मनाउने गर्दछन् । चण्डेश्वरी जात्रा मुख्य रुपमा तिन दिनसम्म मनाउने गरिन्छ । ती तिन दिनमा बनेपावासीहरुले आ–आफ्ना इष्टमित्रलाई जात्राको दर्शनका लागि बोलाउने र नेवारी परम्परा अनुसार प्रत्येक घरमा भोज खाने र जात्रा हेर्ने चलन रहेको छ ।

पहिलो दिनको जात्रा :

बैशाख पूर्णिमाको अघिल्लो चतुर्दशीको राती बनेपावासीहरुले आ–आफ्ना घरबाट विशेष प्रकारको चिराग बाली बनेपाको स्वधा टोलबाट लस्करै चण्डेश्वरी मन्दिरतिर लग्दछन् । चिराग जात्रा शुरु हुने चौबाटोमा ठूलो ज्वाला निकालेर आयो बाल्ने गरिन्छ । त्यो ज्वालालाई अग्निज्वाला नामक राक्षसको प्रतिक मान्ने गरेको पनि पाइन्छ ।

त्यस माता पूजा चिरागका यात्रीहरुले उक्त ज्वालामा स्पर्श गर्न नहुने परम्परा रहेको छ । चिराग यात्रा पुजा गर्ने निर्दिष्ट ठाउँमा पुगेपछि त्यस दिनको यात्रा टुंगिन्छ र चिरागलाई त्यहि फ्याँकी आँखा धोएर सबै जना घर फर्कन्छन् । त्यसै दिन चण्डेश्वरी मन्दिर पछाडी रहेका देवताहरुलाई १२ वटा बोकाको वली चढाई पुजा गरिन्छ । त्यस बखतको बोकाको कम्मरदेखि माथिल्लो भागको मासु भोलिपल्टको जात्रा उत्सवको लागि राखी बाँकी भाग प्रसादस्वरुप गुठीयारहरुले बाँड्ने परम्परा रहेको छ ।

दोश्रो दिनको जात्रा :

दोश्रो दिन बैशाख पूर्णिमा पर्दछ । त्यस पूर्णिमालाई चण्डेश्वरी जात्राको पूर्णिमा अथवा चास पूर्णिमा भन्ने गरिन्छ । त्यसदिन सानो र ठुलो खट प्रयोग गरि जात्रा गरिन्छ । एक ताका नाला उग्रचण्डीको जात्रा गर्ने क्रममा पाण्डे गाउँतिर खटलाई लाने क्रममा पुण्यमाता खोलामा खटलाई राखी त्यहाँबाट नाङ्गलोमा उग्रचण्डी भगवतीलाई राखी पाण्डेगाउँको जंगलमा लाने गरिन्छ ।

सो क्रममा खटलाई पुण्यमाता नदीमा बाढीआई बगाएर बनेपामा लगेछ । र त्यतिखेर बनेपा हालको पुलबजारमा अवस्थित थियो । बनेपाको मान्छेहरुले बगाएर ल्याएको खटलाई आफ्नो कब्जामा लिई चण्डेश्वरीको जात्रा गरेको भन्ने जनश्रुति पनि पाइन्छ ।

नालामा नाङ्गलोमा राखी जात्रा गर्ने स्थानलाई हालसम्म पनि साहा बुं नाङ्गलो खेत भन्ने रहेको पाइन्छ । ठूलो खट लान सकेन भने सानो खट प्रयोग गरिन्छ । ठूलो खट झण्डै ४०/५० जनाले बोक्नु पर्ने खालको हुन्छ ।

खटलाई स्वधा टोल तीनधाराबाट शुरु गरेर गणेशस्थान ढोगेचौर भई चण्डेश्वरी मन्दिर सम्म पुर्याइन्छ । खट जात्राको अघि अघि विभिन्न बाजाहरु का : पोंगा नाग : र धिमे बाजा बजाई बडो हर्षोलासका साथ सम्पन्न गरिन्छ । खट प्रायबोक्न स्थानीय मानन्धर समुदायले बोक्न गर्दछन् ।

यो खट जात्रा कहिँ पनि नबिसाइकन निर्दिष्ट ठाउँमा पुर्याएर देवीको गोप्य पुजा गरिन्छ । पुजापछि खटको द्वारेलाई कपडाले छोपिएको देवीको प्रतिमा जिम्मा लगाइन्छ । त्यसपछि देवीको प्रतिमा भएको भएको खट यात्रा नगरतर्फ चलाइन्छ ।

बनेपा नगरभित्र जात्रा गर्दा फूल अबिर अक्षता चढाई प्रसाद ग्रहण गर्न हजारौं भक्तजनहरु जात्रा गर्ने बाटोको दायाँ बायाँ उभिएको हुन्छन् । बाटो बाटोमा सर्वत काँचो केराउ भिजाएर राखेको फलफूल गाजर देवीलाई चढाई सबैलाई प्रसादको रुपमा बाडिन्छ । खट जात्रा वकु टोलमा गएर विश्राम लिईन्छ ।

त्यतिखेर कन्या केटीहरु र ब्राहमणद्वारा देवतालाई लशकुश गरि स्वागतम गर्दछन् । त्यसपछि खट जात्रा नगर परिक्रमा क्रममा दथुटोलमा पुर्याइन्छ त्यस समयमा कलदान कार्य गरिन्छ । यस कार्यक्रम अघिल्लो दिनमा काटेको १२ वटा बोकाको मासु टुक्राटुक्रा पारी पकाई सिउ समेत हुनेगरि घरको छतबाट प्रसाद छर्ने कार्य गरिन्छ ।

त्यसबखत प्रसाद लिन ठूलो मात्रामा भक्तजनहरुको भिड लागेको हुन्छ । धार्मिक आस्था अनुसार जसजसले चोक्टा मासु पाएर ग्रहण गरे भाग्यमानी हुन्छ भन्ने जनविश्वास रहेको छ । सिउ पर्ने झनै बढी भाग्यमानी हुन्छ भन्ने ठान्दछ ।