काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमै विभाजन भएको छ ।
पार्टी विभाजन भएसँगै नेकपाका तत्कालीन नेता धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जन्मिएको छ । विप्लव र धर्मेन्द्र समूहको विवादको परिदृष्य लामो नभए पनि छोटो समयमै विवाद उत्कर्षमा पुग्यो । र, अन्ततः नेकपा विभाजत भएर छोड्यो ।
यद्यपि नेकपा विभाजन हुनुको मुख्य कारण वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन हो । निर्वाचनमात्रै नभएर संसदीय व्यवस्थाको धोर विरोध र निन्दा गर्ने विप्लव आखिरमा संसदीय प्रणालीको सुन्दर पक्ष मानिने निर्वाचनलाई नै अंगाल्न पुगेपछि विप्लव र धर्मेन्द्र समूहबीच विवाद चुलिएको थियो । विवादकै कारण विप्लवले सनककै भरमा नेताद्वय धमेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीको जिम्मेवारीबाटै मुक्त गरे ।
तथापि उनीहरूलाई पुनः जिम्मेवारीमा फर्काउन नेकपाका संघ–संगठन र नेताहरू आन्तरिक दौडमा ननिस्केका होइनन् । तर, उनीहरूको दौडले विप्लव टसमस भएनन् । र, धमेन्द्र बास्तोला र हेमन्तप्रकाशले नयाँ पार्टी गठन गरेरै छोडे ।
विप्लव र धर्मेन्द्र समूहको विवाद कसरी सुरु भयो ?
नेकपाको केन्द्रीय कमिटी बैठक गत चैतमा कपिलवस्तुको शिवगढीमा सम्पन्न भयो । उक्त बैठकले मुख्य गरि तीनवटा विषयको निर्णय गर्दै बैठक सम्पन्न भएको घोषणा गरेको थियो । जसअनुसार पहिलो महाधिवेशन आगामी मंसिर–पुषमा गर्नेगरी पछि निर्णय गर्ने, दोस्रो एमसीसीविरुद्ध आन्दोलन गर्ने र तेस्रो स्थानीय तह निर्वाचनमा भाग नलिने ।
यी निर्णयसहित बैठकमा नेकपाका महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरे । उक्त प्रतिवेदनमा उनले निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव आफ्नै मनमौजीले थप गरेका थिए । यद्यपि उनले पेश गरेको मनमौजी प्रस्तावप्रति केन्द्रीय समितिका अधिकांश सदस्यहरूले अन्य प्रस्तावमाथि सहमति जनाए पनि निर्वाचनप्रति असहमति जनाएका थिए । केही समयअघि निर्वाचनमा भाग नलिने र पछि आफैले लिने प्रस्ताव पेश गरेपछि बैठकमै विवाद भएको स्रोत बताउँछ । स्रोतका अनुसार बैठकमै विवाद भएपछि उक्त प्रस्ताव विप्लवले गुपचुप पारेका थिए ।
निर्वाचनमा भाग लिने विप्लवको प्रतावमा नेकपाका ६९ सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये ४४ जना प्रस्तावको विपक्षमा उभिए भने २५ जना पक्षमा उभिएका थिए । विपक्षमा बहुमत केन्द्रीय सदस्यहरू उभिए पनि महासचिव कमरेडले संस्थागत रूपमा पार्टी निर्वाचनमा नगए पनि व्यक्तिगत रूपमा जनपक्षीय उम्मेदवारलाई सघाउन सक्ने निर्णय गरि प्रतिवेदन संशोधन गरेको आरोप नेता हेमन्तप्रकाश ओलीले उतिबेला नै लगाएका थिए ।
विप्लवको तजबिजी प्रस्तावित निर्णय पारित नभए पनि केही नेता तथा कार्यकर्ता स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपले चुनावी प्रतिस्पर्धामा उत्रिएपछि शीर्ष नेताहरू दुईधारमा विभाजित भए । महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा अहिले पनि निर्वाचनको समर्थनमा छन् ।
धर्मेन्द्र र हेमन्तप्रकाशलाई नेकपाको जिम्मेवारीबाट मुक्त गर्नुको कारण के हो ?
नेकपाका नेता तथा कार्यकताले देशका केही पालिकामा स्वतन्त्र उम्मेदवारी दिएपछि गत मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीसी विरोधीलाई सर्मथन गर्ने र निर्वाचनमा भाग नलिने पार्टीको नीति भएको भन्दै उम्मेदवारी दिनु गतल भएकोले फिर्ता लिन धमेन्द्र बास्तोलाद्धारा विज्ञप्ति जारी गरिएको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवारमा नउठ्ने मान्यताविपरीत कतिपय कमरेडहरूले विभिन्न पदहरूमा मनोनयन दर्ता गरेका समाचारहरू सार्वजनिक भएकाले पार्टीको नीति अनुसरण गर्ने कमरेडहरूलाई नीतिविपरीत देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि पार्टीको सचिवालय हार्दिक अपिल गर्दछ ।’ यो विज्ञप्ति निकालेको भोलिपल्ट विप्लवले धमेन्द्र र हेमन्तप्रकाशलाई पार्टीको सम्पूर्णक जिम्मेवारीबाट मुक्त गरेका थिए ।
धर्मेन्द्र र हेमन्तप्रकाशको कारबाही फिर्ता लिन संगठनहरूको माग
विप्लवलाई नेताद्वय धर्मेन्द्र र हेमन्तप्रकाशको कारबाही फिर्ता लिन आग्रह गरेका थिए । वैशाख १४ गते विप्लवले पार्टीको अनुशासनविपरीत गतिविधि गरेको भन्दै यी नेताद्वयलाई विप्लवी शैलीमा कारवाही गरेपछि विवाद उत्कर्षमा पुगेको थियो ।
नेकपाका आधा दर्जन जनवर्गीय संघ, संगठनले धमेन्द्र र हेमन्तप्रकाशमाथिको कारबाही फिर्ता लिन बारम्बार आग्रह गर्दा पनि फिर्ता नलिएको भन्दै असन्तुष्टि जनाएका थिए । उनीहरूले नेताद्वयको कारबाही तत्काल फिर्ता लिन विप्लवलाई दबाब दिए ।
पार्टीका प्रदेश, जिल्लाका जनवर्गीय संघ, संगठन र सहिद परिवारहरूले कारवाही फिर्ता लिन आग्रह गरेका थिए । उनीहरूले पार्टीलाई विभाजनबाट रोक्न कारबाही फिर्ता लिनुपर्ने अडान राख्दै आएका हुन् । धर्मेन्द्र र हेमन्तप्रकाशलाई कारवाही गरेलगत्तै सहिद परिवारले प्रेस विज्ञप्ति जारी गर्दै कारवाही फिर्ता लिन आग्रह गरेका थिए ।
जाजारकोटका सेक्रेटरी प्रेमबहादुर चलाउनेले पनि एक विज्ञप्ति जारी गर्दै कारवाही फिर्ता लिन आग्रह गरेका थिए । कारबाही अन्यायपूर्ण ढंगले गरिएको भन्दै प्रवासी नेपाली जनमञ्च समाज भारतले समेत कारवाही फिर्ता लिन आग्रह गरे ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष विनोद थापाले पनि एक विज्ञप्ती जारी गरी कारवाही फिर्ता लिन आग्रह गरेका थिए । विज्ञप्तिमार्फत पार्टी फुटबाट रोक्न महासचिव विप्लवले कारवाही फिर्ता लिएर संवादका माध्यमबाट समाधान खोज्नुपर्ने सुझाव दिएका थिए ।
नेकपा (बहुमत) कसरी गठन गरियो ?
विप्लवले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेपछि धमेन्द्र समूहले नयाँ पार्टी गठनका लागि चितवनमा विशेष राष्ट्रिय भेलाको आयोजना गर्यो । विशेष राष्ट्रिय भेलाले ईश्वरीप्रसाद दाहालको अध्यक्ष र चित्रबहादुर आले सचिवसहित ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
भेलाले नेकपा (बहुमत)का संयोजक हेमन्तप्रकाश ओलीले नेत्रविक्रम चन्दले पार्टीलाई दार्शनिक रूपले गलत भड्काव गरेको, संगठनमा विषेधात्मक अधिभूतवाद लागू गरेको, एकीकृत जनक्रान्तिलाई आफ्ना स्वार्थहरू पूरा गर्ने मनचिन्ते झोला बनाएको, निषेधात्मक अधिभूतवाद लादेको, संघर्षका दृष्टिले आत्मसुरक्षावादी बनेको, राजनीतिक रूपमा संसदीय संशोधनवादी, आर्थिक दृष्टिले जुझारु अर्थवादी देखिएका भन्दै उनलाई कारबाही गरी क्रान्तिकारी पार्टी निर्माण गरिएको बताए ।
चितवनमा भएको विशेष राष्ट्रिय भेलाले धर्मेन्द्रको संयोजकत्वमा ८१ सदस्यीय नेकपा (जनमत) पार्टी गठन गरेको छ । भेलाले राजनीतिक दस्तावेजसमेत पारित गरेको छ । नव गठित पार्टी नेकपा (बहुमत)ले वैज्ञानिक समाजवादको रणनीतिक लक्ष्य राखेको छ भने समाजवादी क्रान्तिको कार्यदिशा तयार पारेको छ ।
नेकपा (बहुमत)ले काठमाडौंमा पत्रकार सम्मेलन गर्ने
चितवन सम्पन्न विशेष राष्ट्रिय भेलाबाट गठित नेकपा (बहुमत) पार्टीले काठमाडौंमा पत्रकार सम्मेलन गर्ने भएको छ । नेत्रविक्रम चन्दलाई महासचिवबाट हटाएर धर्मेन्द्र बास्तोलालाई संयोजक चयन गरेको नेकपा (बहुमत)ले वैशाख २६ गते काठमाडौंको राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन गरी भेलाका निर्णयहरू सार्वजनिक गर्ने निर्णय गरेको छ ।