अप्रिल २२ लाई अन्तर्राष्ट्रिय पृथ्वी दिवसका रुपमा मनाउने गरिन्छ । यद्यपि पृथ्वीको उदय भएको भनौँ सृष्टि शुरु भएको १ अर्ब ९५ करोड, ५८ लाख, ८५ हजार १ सय २३ वर्ष व्यतीत भइसकेको अनुमान गरिन्छ ।
कलियुगको आरम्भको समय भने ५ हजार १ सय २३ वर्ष व्यतीत भएको छ । यो वर्ष ई.सं २०२२/२०२३ हो भने नेपाल सम्वत् ११४२/ ४३ हो । यो वर्षको राजा शनि र मन्त्री वृहस्पति हुन् । पृथ्वीको हालको कलियुगको आयु ४ लाख ३२ हजार वर्षको हो, यसअघिको युग द्वापरको आयु ८ लाख ६४ हजार वर्षको थियो, त्यसअघिको त्रेतायुगको आयु १७ लाख २८ हजार वर्षको थियो र त्योभन्दा पनि अघिल्लो सत्ययुगको आयु ३४ लाख ५६ हजार वर्षको थियो ।
यस अर्थमा यो समय हालसम्म घडीको चक्रझैं २७ पटक घुमिसकेको छ र हालको कलियुग २८औँ पटकको हो । हालजस्तो विश्वको राजनैतिक सिमाना विभाजन पहिले थिएन, संसार एउटै थियो, हामीले देखेको यो पृथ्वीभन्दा अर्को पनि ग्रहमण्डल, सूर्य एवम् पृथ्वी छ भनेको छ पूर्वीय दर्शनले । नेपालकै सन्दर्भमा भन्नु पर्दा सत्ययुगमा यसको नाम सत्यपुरी, त्रेतामा तपोवन, द्वापरमा मुक्तिसोपान र हाल नेपाल रहेको शास्त्रीय मान्यता छ ।
युगपिच्छे महायुद्धहरु पनि भएका छन्, सत्ययुगमा भएको महायुद्ध भनेको हिरण्याक्षसँगको बराह अवतारको युद्ध, त्रेतामा राम रावणको युद्ध, द्वापरमा पाण्डव कौरवको महायुद्ध हो । यो युद्धमा कौरवपक्षलाई समर्थन जनाउने नेपालका किराती राजा यलम्बरलाई श्रीकृष्णले सुदर्शन चक्रले शिरच्छेदन गरेपछि शिरले आकाशबाट महायुद्ध हेरिसकेपछि काष्ठमण्डपमा आकाश भैरवको रुपमा रहेको भनाइ छ, जुन अहिले पनि त्यो सुतेको शिर देख्न सकिन्छ ।
यो युगमा पनि धेरै युद्धहरु भइरहेका छन् । प्रथम र दोस्रो युद्धको इतिहास सबैलाई थाहा छ । संयुक्त राष्ट्र संघको उदयपछि पनि धेरै ठाउँमा युद्धहरु भए, हालको रसिया युक्रेनको हानथापले हामी सबैको दैनिकीमा असर पारेको छ । पेट्रोलियम पदार्थकै लागि पनि संसारमा द्धन्द हुने अवस्था देखिन्छ, कोरोनाले गरेको संहार कुनै विश्व युद्धभन्दा कम भएन ।
राजा विक्रमादित्यका नामले प्रचलित विक्रम सम्वत्सँगै नववर्ष वैशाख ९ गते पृथ्वी दिवस परेको छ ।
अपि स्वणर्मयी लंका न मे लक्ष्मण रोचते, जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसि भनिएको छ शास्त्रमा । अर्थात् जन्मभूमि र जन्म दिने आमा एकै हुन् र त मातृऔँशी पृथ्वी दिवसकै एक हप्तामा परेको छ, वैशाख १७ मा । धर्ती, धरणी अनेकाँै छन् पृथ्वीको नाम । पृथ्वीले सूर्यबाट उज्यालो पाउने हो ।
सूर्य, चन्द्र, पृथ्वी एकै राशिमा पर्न जाँदा औँशी पर्छ, सूर्यको प्रकाश छेकिँदा सूर्यको किरण प्रत्यक्ष चन्द्रमामा पर्दा किरण ठोकिएर पृथ्वीमा आउँदा हरेक महिनामा पूर्णीमा पर्दछ, रात झलमल्ल हुन्छ, तिथि एक महिनामा १५, १५ गरी ३० हुन्छ जसरी ३० दिनको एक मास र ३६५ दिनको एक वर्ष हुन्छ । हरेक वर्ष संकेत गर्ने सम्बत्सर अहिलेको नल ५० औँ हो र यो ६० वटा हुन्छ, सकिएपछि फेरि घुम्छ । चन्द्रमाको किरण कृष्ण प्रतिपदादेखि घट्न थाल्छ, औँशी जसलाई ३० ले संकेत गरिन्छ त्यहाँ पुग्दा निस्पट्ट अँध्यारो हुन्छ सूर्यले ३० अंश भनौँ एक राशि पार गर्दा चन्द्रमाले ३६० अंश पार गर्छ ।
चन्द्रमाको ३६० अंश एक चान्द्रमास हुन्छ भने सूर्यको ३० अंश भन्नु एक दिन हो जसमा २४ घण्टा वा २४ घडी हुन्छ, ६० घडीमा एक अहोरात्र हुन्छ । सूर्य र चन्द्रमाको बीचमा १२ डिग्रीको अन्तर हुन्छ भनौँ सूर्य र चन्द्रको १८० डिग्री कोणीय अन्तर पूर्णीमा हो । सूर्य र चन्द्रको एकै राशि हुँदा शुन्य डिग्रीको अन्तरमा औँशी भई पृथ्वीमा अँध्यारो हुन्छ रातमा ।
पूर्वीय सिद्धान्तले चन्द्र र सूर्य दुबैलाई आधार मान्दै तिथि मिति तोकेको हुन्छ भने पाश्चात्य सिद्धान्तले केवल सूर्यलाई गणितीय आधार मानी क्यालेण्डरहरुको तय गरिएको हुन्छ, चन्द्रको आप्mनो रश्मि छैन, सूर्यबाट पाउने हो, यसको १६ कला हुन्छ । पृथ्वीको गर्भ गृहमा सबैथरि सामान छ, सत्य युगमा बासुकी नागको मदानी, सुमेरु पर्वतको ठेकी बनाई देव र असुरहरुले मोहीझैं मथेर पृथ्वीको गर्भगृहबाट आफूलाई आवश्यक सबै धातु लगायत सामान निकाले, अहिले पनि सम्पूणर् कच्चा पदार्थहरु यहिँ छन् ।
‘वीरस्य भोग्या पृथ्वी’ अर्थात् पृथ्वी भनेकी वीरले भोग गर्ने हुन् भनेझैं सक्नेले धेरै दोहेका छन् । पृथ्वीमा दुई तिहाई भाग पानी छ, जसरी सूक्ष्म ब्रह्माण्ड हाम्रो शरिरमा पनि त्यति नै भाग पानी छ । सक्नेले यसको दोहन मात्रै गरेनन् मिसाइलहरुको परीक्षण पनि समुद्र्रमै गरेका छन् ।
पृथ्वी साँघुरो भएकाले अन्तरिक्षको खोजी, चन्द्र धरातलमा पुगेको र मंगल ग्रह लगायत अन्यान्य धेरै ग्रहमा मानिसको बस्ती सम्भव छ कि भन्दै परिक्षण गर्दैछन् । यही पृथ्वीमा कसैलाई भूइँमान्छे हुनुमै गौरव छ, कसैले एक बटम दबाए भने यो संसार ३० पल्ट ध्वस्त गर्न सक्ने प्रविधिको विकास गरिसकेका छन् र त शक्तिशाली देशका महमहिमहरु घुमफीर गर्दा छुट्टै कालो व्याग लिएर हिँड्ने गरेका छन् भनिन्छ ।
यो संसारको निर्माण जम्मा ५ तत्वबाट बनेको छ, जसरी देहको निर्माण पनि यही पन्च तत्वबाटै बनेको हो, फरक के छ भने ब्रह्माण्ड विशाल छ र शरिर सूक्ष्ममात्र । शरिर ढल्दा मिल्ने यही पञ्चतत्वमा हो अर्थात् आफूनै मातृशक्तिमा फर्कने हो ।
यसलाई घुमाउने काल हो, जो अदृश्य छ र राजा रंक समान उसका वैषम्य गर्दैन त्यो, आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै बिन्ती गरुन् झुकेर पदमा त्यो किन्ती मान्दैन त्यो भनेका छन् स्रष्टाहरुले । पृथ्वीका मुख्य ४ दिशा पूर्व, पश्चिम, उत्तर, दक्षिण हुन्, अर्को उप दिशा ४ छन् आग्नेय, नैऋत्य, वायव्य र ईशान । त्यस्तै तल भनौँ, पाताल र माथि भनौँ, आकाश पृथ्वीका विदिशा हुन्, यस अर्थमा दश दिशा छन् जम्मा ।
पृथ्वीमा सूर्य मकर राशिदेखि कर्कट राशिसम्म बस्दा उत्तरायण र कर्कट राशिदेखि धन राशिसम्म रहँदा दक्षिणायन हुन्छ, हामी उत्तरी गोलाद्र्धमा रहेकाले दक्षिणायन सूर्य हुँदा जाडो र उत्तरायण सूर्य हुँदा गर्मी महसूस गर्छौं, सूर्यको किरण सिधा पर्दा पृथ्वीमा गर्मी र बाङ्गो पर्दा जाडो हुनेगर्छ । पञ्चतत्व छ यहाँ, अर्थात् माटो, पानी, वायु, तेज र शब्द । माटो र पानी धर्तीमा छ, वायु र तेज अन्त्रिक्षमा र शव्द आकाशको गुण हो, यो पनि वायुमण्डल भनाँै अन्तरिक्षमै छ ।
यी सबै एक अर्काका परिपूरक हुन्, एक बिना अर्कोको अस्तित्व छैन । पुथ्वीलाई हिरण्यगर्भ भनिन्छ र यसको उदय सर्वप्रथम विष्णुको नाभिस्थलबाट भएको पौराणिक मान्यता छ । सृष्टि जलमा हुन्छ, सञ्चालन माटोमा हुन्छ, विसर्जन अग्निमा हुन्छ, संसारमा ५ मुख्य तत्व छन् । सृष्टि, स्थिति, संहार, तिरोभाव र अनुग्रह ! यी ५ तत्व नै ब्रम्हाण्ड सम्बन्धी कार्य हुन् । संसारको सृष्टिलाई सर्ग भनिन्छ, यो काम ब्रह्माको हो, सृष्टिलाई संरक्षण गर्नु स्थिति हो, यो काम विष्णुको हो, सृष्टिपछि विनास हुन्छ जसलाई संहार भनिन्छ, यो काम रुद्रको हो ।
जीवको प्राण पखेरु उड्नु तिरोभाव हो, यी सबैबाट छुट्कारा मिल्नु अर्थात् संसारबाट छुट्टी मिल्नु भनेको अनुग्रह हो, यसलाई मोक्ष भनिन्छ, पृथ्वीको पञ्चमहाभूत सञ्चालन शिवका ५ मुखबाट हुन्छन् । जलमा सृष्टि, माटोमा संरक्षण, अग्निमा अन्त्य, तिरोभाव वायुमा र अनुग्रह आकाशमा हुन्छ ।
‘अग्निले सबैलाई संहार गर्छ, वायु भनौँ अक्सिजनले प्राण संचालन हुन्छ, यी ४ तत्वलाई शब्द ब्रह्म आकाश रुपले अनुगृहित गराइरहेको हुन्छ । यी कार्यका लागि शिवजीका ५ मुख भएका हुन्’ आफैँ उत्पन्न श्रीशिव जसलाई पशुपति भनिन्छ, संसारमा कहिँ छैन यहाँ मात्र छ । हामीले अरुलाई अर्ती उपदेश दिन सकेको पनि यसैकारणले हो ।
विस्तारै डार्बिनको विकासवादी सिद्धान्त, जीव कोषको अध्ययन, ग्यालिलियो, न्यूटनको विज्ञान, सौर्य मण्डलको खोजी र सिद्धान्त, बीज गणित, अंक गणितको अध्ययन, रसायन शास्त्र, जीव विज्ञान, भौतिक र गणित शास्त्रपछि आएका हुन् र मानव सभ्यता थप परिष्कृत हुन थालेको होे ।