• मंसिर ११ २०८१, मंगलवार

सृष्टिकर्ता मानिएका ब्रह्माको पूजा किन गरिंदैन ?

चैत्र २९ २०७८, मंगलवार

हिन्दु धर्मका अनुसार तिनवटा मुख्य देउताहरु छन् । ती हुन्, ब्रह्मा विष्णु र महेश्वर । हिन्दु धर्म अनुसार संसारको सृष्टि ब्रह्माले गरेका हुन् । त्यस्तै पालनपोषण विष्णुले गरेका हुन् र संहार महेश्वरले गरिरहेका छन् भन्ने गरिएको छ ।

धर्मशास्त्रहरुमा पृथ्वी लगायत सम्पूर्ण ग्रह नक्षत्र र पृथ्वीमा रहेका जीव र बोटबिरुवा सबै ब्रह्माद्वारा श्रृष्टि गरिएका हुन् भनिएको छ । यी तीन देवताहरुमध्ये विष्णु र महेश्वरलाई पुजा गरिन्छ तर ब्रम्हालाई पूजा गरिदैंन किन ? जब कि संसारको सृष्टिकर्ता नै ब्रह्मा हुन् ।

यो बडो रोचक र उत्स्सुकताको विषय बनेको छ । अझ स्पष्ट भन्ने हो भने देवता र दैंत्यको युद्व हुँदा देउताहरूले सबैभन्दा बढी तपस्या ब्रह्माको गरेको पुराणहरुमा उल्लेख गरिएका छन् ।

सबैभन्दा बढी आशिर्वाद ब्रह्माबाट देउताहरुले पाएका छन् तर यस धर्तीमा चाहिँ ब्रह्मालाई पूजा किन गरिदैन त ? ब्रह्मा चारवटा शिर (टाउको) भएको देवताको रुपमा चिनिन्छन् । कुनै कुनै हिन्दु शास्त्रहरुमा ब्रह्मा पाँच शिर भएको र एउटा शिर महादेवले काटेको भन्ने उल्लेख भएको पनि पाइन्छ । महादेवका अगाडी आफ्नो पाँचवटा शिरको घमण्ड गरेको र महादेवले ब्रह्माको उक्त घमण्ड तोड्नका लागि उनको एउटा शिर काटिदिएको पनि भनिन्छ ।

ब्रह्माको आयु मानिसको जस्तै सय वर्ष मानिन्छ । तर वर्ष गणना चाहिँ भिन्नता छ । ब्रह्माको एकदिन बराबरको समयलाई कल्प भनिन्छ । ब्रह्माजीको एकदिन बराबर चार अरब बत्तीस करोड वर्ष हुन्छ । ब्रम्हाको तिस वटा कल्पको एक महिना हुन्छ ।

यस संसारको सम्पूर्ण वस्तु तथा जीवात्माहरुको स्तुष्टिकर्ता ब्रह्माको मूर्ती नबनाइएको र पूजा किन नगरिएको हो ? यसबारे चर्चा गरौँ ।

चार वेदहरु ब्रह्माद्वारा नै यो संसारमा प्रचारप्रसार भएको हो । ब्रह्माका चारवटा शीर र चार भुजा हातहरुमा एकहात र शीरमा एकएक भेद रहेको मान्यता छ । यस्ता विद्वान र महान भैकन पनि ब्रह्मालाई पूजा र आराधाना निकै कम अथवा नगन्य मात्रामा गरिन्छ । ब्रह्माको पुजा तथा मूर्ती बनाउनु मुख्यमुख्य कारण निम्न प्रकारका छन् ।

पहिलो कारण : पदम पुराणका अनुसार :

एकचोटी ब्रह्माले सृष्टिको लागि कल्याण गर्न धर्तिमा एक पुन्य यज्ञ गर्नु पर्ने भयो । यज्ञको लागि स्थान छनौट गर्न विभिन्न स्थानहरुमा घुम्दै गए पनि पत्ता लगाउन सकेन । पछि ब्रह्माले आकाशबाट एक सुन्दर कमलको फूल पृथ्वीमा खसाले । त्यो फूल पृथ्वीको एक ठाउँमा खसेर एक सुन्दर निर्मल तलाउ उत्पन्न भयो । त्यहि ठाउँ ब्रह्माले आफ्नो पवित्र यज्ञको लागि छनौट गरे । यज्ञ गर्न सबै सामाग्री तयार गर्न लगाए । सम्पूणर् सामाग्री तयार भयो । शुभ साइत हेरेर यज्ञ आरम्भ गर्न लागे । यज्ञ आरम्भको समयसम्म पनि ब्रह्माको पत्नीको सावित्री आइ पुगेकी थिइनन्, जहाँ यज्ञको लागि उनको आवश्यकता थियो ।

तत्कालिन ब्रह्माले स्थानीय ग्वालाको छोरी गायत्री सित विवाह गरेर यज्ञमा ब्रह्मासँगै पूजामा संलग्न गराए । यज्ञ संचालन गरेको केही समयपछि त ब्रह्माको पत्नी सावित्री आइपुगिन् । ब्रम्हासँगै बसेर पूजामा संलग्न भैइरहेको ग्वालाको छोरी देखेर सावित्रीको मनमा चिसो पस्यो । रिसले सावित्रीले केही देख्न सकिनन् । यसपछि रिसले चुर भई श्राप दिन लागिन् ।

यस पृथ्वीमा कुनै पनि भागमा तिम्रो मूर्ती तथा पूजा नहोस् । यज्ञ थप्दै सावित्रीले भन्न लागिन्पू, जाको समयमा समेत तिम्रो याद नगरोस् । किन कि तिमी पूजाको लागि मेरो स्थानमा अरु कोही विवाह गरेर ल्याई पूजा सम्पन्न गर्न खोज्यौ त्यसैले तिम्रो पूजा केही पनि नचलोस् ।

यो वातावरण देखेर सम्पूर्ण उपस्थित देवगणहरु डराएर सबैले एकै स्वरमा क्षमा मागे । यो श्राप फिर्ता लिन आग्रह पनि गरे तर केही क्षणपछि सावित्रीको रिस अलि शान्त भएपछि यसो भनिन् । ‘जुन स्थानमा यो यज्ञ चलिरहेको छ । त्यस ठाउँमा मात्र ब्रह्माको मुर्ति होस् । अरु स्थानमा बनायो भन्ने बिनास होस्’ । हाल त्यो स्थान भनेको भारतको राजस्थानको पुस्कर भन्ने स्थानमा ब्रह्माको विशाल मन्दिर र मूर्ति रहेको छ । ब्रम्हालाई पूजा गर्न त्यसस्थानमा भक्तजनहरु जाने गर्दछन् ।

ब्रम्हाले पुस्करमा कार्तिक शुक्ल एकादशीदेखि पुर्णिमासम्म यज्ञ गरेको हुनाले यसको सम्झनामा हालसम्म पनि राजस्थानको पुस्कर भन्ने स्थानमा पोखरी नजिकै अनादि कालदेखि कार्तिक मेला लाग्दै आएको छ । सावित्रीदेखि आफ्नो रिस शान्त गर्न हिमालयमा ध्यानमा बस्न गइन् । पुराणका अनुसार ग्वालाको छोरी भनेको गायत्री देवी थिइन् । उनी वेदको पनि परांगत थिइन् । नन्दनी गाईको मुखबाट उत्पति भएको मानिन्छ ।

दोस्रो  कारण :

सृष्टिकर्ता ब्रह्मको सुन्दर मनमोहर रुप र आर्कषण थियो । यो देखेर स्वर्गका अप्सरा मोहनी आर्कषित भइन् । एकदिन ब्रह्मा समाधिमा लिन भइरहेको अवस्थामा उहाँको नजिकै आएर अप्सरा मोहनी बसिरहिन् । जब ब्रह्मा ध्यानबाट ब्युँझिए । त्यसपछि अप्सरा मोहनी देखेर छक्क पर्दै सोधे । मोहनी तिमी किन यहाँ बसिरहेकी ? कामवासनाले युक्त मोहनीले आफ्नो हाउभाउ गर्दै भनिन् । हजुरको रुप र यौवन देखेर स्वर्ग छाडेर तपाईंको समिपमा आएकी छु ।

मेरो तनमन हजुरको प्रेमोन्मत्रले सेवा भावले आएकी छु । मेरो प्रेम स्वीकार गर्नुहोस् । यसरी आफ्नो कामुक रुपरंग भावभंगीले आकर्षक गर्दै थिइन् । ठिक त्यसबेला सप्तऋषिहरु त्यहाँ आइपुगे । यी सब कुरा सप्तऋषिहरुले देखे, अनि सोधे र ब्रह्माजीले उत्तर दिए । ‘यी अप्सरा नाँच्दा नाँच्दै थाकिइन्, एकक्षण पितासित आराम गर्न बसेकी हुन् ।’ यसरी ब्रम्हाले आफ्नो बचाउको लागि गलत उत्तर दिए ।

ब्रह्माले झुठ बोलेको कुरा सप्तऋषिले आफ्नो योगबलद्वारा थाहा पाए । केही नबोली त्यहाँबाट सप्तऋषिहरु आफ्नो स्थानमा गए । अप्सरा मोहनी पनि ब्रम्हादेखि रिसाइन् र भनिन् ‘म हजुर कहाँ कामवासना र सच्चा प्रेमले आएकी छु तर हजुर मलाई छोरी बनाउनु भयो । मेरो भावनालाई लत्याउनु भयो । त्यसकारण म तपाईंलाई श्राप दिन्छु । मेरो सच्चा हृदयले तपाईंलाई पूजा गरेकी थिएँ । अब उप्रान्त तपाईंलाई कसैले पनि पूजा नगर्नु, नसम्झनु र कसैले पनि तपाईंको प्रतिमा नबनावस् ।’

त्यसैले आजसम्म पनि अप्सरा मोहनीको श्रापले गर्दा ब्रह्मालाई कसैले पनि पूजा नगरेका हुन् ।

तेस्रो कारण :

एक दिन ब्रह्मा र विष्णु कुराकानी गर्दै थिए । कुराको शिलशिलामा हामी दुईमध्येको ठूलो अथवा को सर्वश्रेष्ठ हो ? भन्ने विवाद चल्यो । दुवैले आ-आफ्नो तर्क राख्दै आफूलाई ठुलो बनाउने प्रयत्न गरे । ब्रम्हाले सम्पूर्ण सृष्टि गरेको हुनाले सृष्टिको रचयिताको कारणले आफू सर्वश्रेष्ठ भएको दावी गरे । विष्णुले सम्पूर्ण जीवजीवात्मालाई पालन गरेको हुनाले आफू सर्वश्रेष्ठ हुँ भने । यसरी आ-आफूले दाबी गरिरहेको समयमा त्यसठाउँमा एउटा विशाल विराट लिंग प्रकट भयो । त्यस लिंगको छेउ र टुप्पो नभेटिने गरि प्रकट भयो । त्यसको आकाशमा कहाँसम्म अथवा पातालमा कहाँसम्म भन्ने स्थिति नै थाहा थिएन ।

दुवै देवता अथवा ब्रह्मा र विष्णुले सल्लाह गरे । जसले यस विराट लिंगको छेउ वा टुप्पो भेटाउन सक्छ । त्यो नै सर्वश्रेष्ठ हुन्छ । यस कुरालाई मानेर दुवैजना विपरित दिशातर्फ गए । विष्णुले उक्त विराट लिंगको छेउ पत्ता लगाउन नसकेर फर्के । ब्रह्माले पनि पत्ता लगाउन सकेनन् तर ब्रह्माले एउटा झुठो प्रमाण पेश गरि आफूले छेउ पत्ता लगाएको र सोको साक्षी केतकी फूलले देखेको कुरा प्रमाण पेश गरे ।

ठिक त्यसैबेला विराट लिंगबाट शिव प्रकट भई झुठो प्रमाण पेश गर्ने ब्रह्माको पाँचौ शीर काटिदिए । शिवले रिसाएर केतकी फूललाई श्राप दिए । तिमी सुन्दर फूल भैकन पनि मलाई बाहेक कुनै पनि देवतालाई नचढाउनु भनेर श्राप दिए । यसरी शिवजीले केतुकी फूल र ब्रह्मालाई पूजा नगर्नु भनेको हुनाले ब्रह्मालाई कुनै स्थानमा पूजा गरेको पाइँदैन ।

चौथो कारण :

ब्रह्माले सृष्टि गर्ने क्रममा सृष्टि गर्दै गए । झन् झन् उत्साह बढ्दै गयो । एकदिन उनले सरस्वतीको सृष्टि गरे । झन उनलाई उत्साहित बनायो । आफैले सृष्टि गरेको सरस्वती देखेर मोहित भए । ती युवतीलाई अब आफ्नो पत्नीको रुपमा स्विकार्ने बिचार गरे । सरस्वती चारै दिशामा भाग्न लागिन् । ब्रह्मका चारै अनुहारले सरस्वतीलाई भेटाउँथे । अनि आकाशमा पनि भागिन् । ब्रह्माका पाँचौ शिरले सरस्वतीलाई पत्ता लगाई छाडे । अन्त्यमा सरस्वतीले श्राप दिइन् । ‘जसले सृष्टि गरे उसैले अनुचित कार्य गर्नु हुंदैन त्यसैले तपाईंलाई कसैले पनि पूजा नगर्नु, तपाईं पूजा गर्नयोग्य होईन ।’

पछि ब्रह्माले सृष्टिलाई मिलेर सञ्चालन गर्नु पर्ने भएको र वाणीको देवी अथवा माँको रुपमा ग्रहण गर्नु परेको कारण देखाएपछि सरस्वती ब्रम्हासँग पत्नी हुन राजी भइन् । त्यसपछि दुवै भएर धर्तीमा एकसय वर्षसम्म घुमफिर गरे । उनीबाटै स्वयम्भू मनु नै यस धर्तिको प्रथम मानव रचना भएको मानिन्छ । धर्मशास्त्रमा सम्पूर्ण मानवलाई उनका सन्तानको रुपमा लिने गरिएको छ ।

सरस्वती पुराण, मत्स्य पुराण र स्वयम्भू पुराणमा वणर्न गरिएको छ । यसरी ब्रह्मालाई पूजा नगर्नुका कारणबाट के कुरा स्पष्ट हुन्छ भने जतिसुकै ठूलो भगवान अथवा ईश्वर होउन् तिनले गल्ती गरेको छ भने गल्तीको भागीदार हुनैपर्छ । यस मानेमा हिन्दु धर्मको ठूलो विशेषता भनेकै यही हो ।

देवता जतिसुकै ठूलो भएतापनि उसको आचरण गलत छ भने उसले अवश्य सजाय भोग्नु नै पर्छ । हाल ब्रह्माको नेपाल राज्यभरि नै मूर्ती छैन तर बनेपा -४ उग्रचण्डी नालामा ब्रह्माको ठूलो मुर्ति स्थापना गरिंदैछ । यसको फल के कस्तो पाउला ? भविष्यले नै बताउने छ ।

सारा सृष्टि गर्ने सृष्टिकर्ता ब्रह्मालाई देवी सावित्री, अप्सरा मोहनी, भगवान शिव र माँ सरस्वती जस्ता हाम्रा आस्थाका ठूला देवी देवताको श्रापलई हामी क्षमा दिन सक्छौं ?

के हाम्रा कर्महरुले यी देवी देवताका भक्तजनहरुलाई जुन नैतिक शिक्षा दिएका थिए । ठूलै भगवान भए पनि उसको आचरण ठिक छैन भने पूजा नगर्नु भन्ने जुन थियो । यसैलाई उलंघन गरि ब्रह्माको सुन्दर मूर्ती बनाएर कुन नैतिक शिक्षा दिन खोजेका हौँ ? भगवान नै जानोस् ।