यसो विचार गरी हेर्दा माथिको शिर्षकमा उल्लेख गरिएको प्रसंग वा भनाईप्रति विश्वाश गर्न गाह्रो हुन्छ । श्रीराम भन्दा ‘राम’ नाम नै शक्तिशाली हुन्छ भनेर विश्वास गर्न सकिंदैन ।
तर कतिपय घटना श्रीरामको जीवनमा आइपरेका पनि छन् । जसमा श्रीरामको नाम नै शक्तिशाली प्रमाणित भएको पाइन्छ । भगवान रामकी अर्धाङ्गिनी सीताको रावणले अपहरण गरिरहेको देश लंकामा जान समुद्र तरेर जानु पर्दथ्यो ।
तर त्यहाँ त्यसबेला कतै कुनै किसिमको मार्ग पनि नभएको र सेतु पनि नभएकोले श्रीरामले त्यस समुद्रमा सेतु अर्थात् पुल बनाउने आदेश आफ्ना बाँदर सेनालाई दिए । तर बाँदर सेनाहरुले विचार गरे यस्तो अथाह समुद्रमा कसरी र के को पुल बनाउने ?
अन्तिममा त्यहाँको समुद्रको किनारमा रहेको ढुंगैढुंगाको थुप्रो जताततै देखेपछि ती बाँदर सेनाले तिनै ढुंगाको पुल बनाउने विचार गरे । तर ढुंगा त्यत्तिकै समुद्रमा राख्दा डुब्ने भएकोले प्रत्येक ढुंगामा ‘श्रीराम’ लेख्दै समुद्रमा राख्दा नडुब्ने देखे ।
र यसरी रामका बादरसेनाले ढुंगा राखेर पुल बनाइरहेको देखेर भगवान श्रीरामले पनि एउटा ढुंगा टिपेर समुद्रमा राखे । तर त्यो ढुंगा त डुब्यो ।
यो दृश्य हेरिहेका हनुमानले रामसित बिन्ती गरे । प्रभु यो हजुरले के गरिबक्सेको ? हामीले त हजुरको नाम लिएर राम नाम लेखेर हजुरकै शक्ति संचित राम नाम अंकित गरेर ढुंगा समुद्रमा राख्दा नडुबेको हो ।
हजुरले नै साथ छोडिदिएपछि अर्थात् त्यो ढुंगालाई हजुरले समुद्रमा खसालिदिएपछि डुब्ने नै भयो । रामभक्त हनुमानको यस्तो कुरा सुनेर भगवान श्रीरामले चित्त बुझाउनु भयो र हनुमानको चतुरताको प्रशंसा पनि गर्नु भयो ।
त्यस्तै अर्को एउटा प्रशंग पनि उल्लेख गर्न चाहन्छु । एक पटक भगवान श्रीरामको दरबारमा वरिष्ठ ऋषि आउनु भएछ । श्रीरामका द्धारपालेहरु र अन्य सेवकहरु सबैले ऋषिलाई हार्दिकतापूर्वक विनम्र भई अभिवादन गर्दै स्वागत गरे र श्रीरामको बैठकसम् पुर्याउन गए । जहाँ श्रीराम आफ्नो सिंहासनमा विराजमान हुनुहुन्थ्यो ।
हनुमान निहुरिएर श्रीरामको सेवामा तल्लीन थिए । त्यहाँ बैठकमा भएका सबैले वरिष्ठ ऋषिको अभिवादन गरे तर श्रीरामको सेवा गरिरहेका हनुमानले वरिष्ठ ऋषिलाई देखेनन् । श्रीरामले वरिष्ठ ऋषिको स्वागत गर्दै आसनग्रहण गर्न अनुरोध गर्दा वरिष्ठ ऋषिले श्रीरामसँग प्रश्न गरिहाले ‘हे राजन गुरुको अपमान गर्नेलाई कस्तो सजाय हुन्छ ? श्रीरामले पनि राजसी ठाँटबाँटले जवाफ दिनु भयो, ‘त्यस्तालाई त मृत्युदण्ड दिइनेछ ।’
तब वरिष्ठ ऋषिले भने,‘त्यसो हो भने हनुमानलाई मृत्युदण्ड दिनुपर्यो, किन भने म यहाँ आउँदा हनुमानले मलाई नदेखेझैं गरेर मेरो अपमान गरे ।’
श्रीरामको मुखबाट मृत्युदण्ड दिने वचन गइसकेको थियो । तब श्रीरामले पनि हनुमानलाई भोलि बेलुका सरयु नदिको किनारमा मृत्युदण्ड दिने घोषणा गरिदिए । भगवान श्रीरामले सुनाएको यस्तो कठोर दण्डसजायको बारेमा व्यापक रुपमा हल्लीखल्ली नै भयो ।
भोलिपल्ट सबै जनता त्यहाँ भेला हुन थाले । यता रामभक्त हनुमान अब मेरो मृत्यु हुने पक्का भयो भनि निरास भएर घरमा पुगे । हनुमानकी माता अन्जनाले पुत्र हनुमानलाई निन्याउरो भएको देखेर सोधिन्,‘के भयो हनुमान आज तिमीलाई, के भयो ?
किन यसरी निरास भएर निहुरिएर बसेका छौं ?’ माता अन्जनाले आफ्नो कसम दिएर सोधेपनि हनुमानले पनि नभनी सुखै पाएनन् र दिउँसो रामको दरबारमा भएको घटना सुनाए । तब माता अन्जनाले धन्दा नमान्नु मलाई अन्जनाले रामनामको मन्त्र दिनुभएको छ ।
तिमी त्यही मन्त्र जपिरहनु, तिम्रो रक्षा हुनेछ, अब चिन्ता नलिइकन सुत्नु र भोली सरयु नदिमा गएर यही रामनाम आँखा चिम्लेर जपिरहनु भनि सिकाइन् । भोलिपल्ट सरयु नदिको किनारमा हनुमान पुगे । त्यहाँ हजारौं संख्यामा जनताहरु भेला भएका थिए ।
श्रीराम पनि लावालस्कर सहित वरिष्ठ ऋषिलाई अघि लगाउँदै त्यहाँ आइपुगे र वरिष्ठ ऋषिको आज्ञा पाए । पछि श्रीरामले शक्तिशाली अमोघ वाण हानेर हनुमानको वध गर्न तयार भए । उता हनुमान आँखा चिम्लेर रामनाम जपिरहेका थिए ।
श्रीरामले जसै वान हाने वाण त हनुमानको शरीरमा नछोइ उल्टै हनुमानलाई तिनपटक परिक्रमा गरेर फर्कि आयो । यो देखेर श्रीराम र वरिष्ठ ऋषि लगायत त्यहाँ उपस्थित सबै आश्चर्य चकित भए ।
राम नामको जयजयकार गर्दै त्यहाँ उपस्थित सबै जनताले श्रीरामको अभिवादन गरे र रामभक्त हनुमानको पनि प्रशंसा गरे । यसरी श्रीराम भन्दा रामको नाम नै शक्तिशाली भएको प्रमाणित भएको छ ।