काठमाडौं । आसन्न वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा प्रतिपक्षी दल नेकपा (एमाले) पाँच दलीय सत्ता गठबन्धनसँग एक्लै भिड्ने भएको छ । यद्यपि उसलाई बढार्न नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो)ले चुनावी रणनीति तय गरेका छन् ।
केही दिनअघि पाँच दलीय गठबन्धनको संयुक्त बैठकले देशका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । गठबन्धनको उक्त निर्णयबमोजिम वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा देशका झन्डै १६ जिल्लामा चुनावी तालमेल भएको छ ।
हालसम्म गठबन्धनले कति जिल्लामा चुनावी तालमेल गर्यो ?
१. ललितपुर
२. भक्तपुर
३. चितवन
४. कास्की
५. तनहुँ
६. सिन्धुपाल्चोक
७. बागलुङ
८. अर्घाखाँची
९. उदयपुर
१०. रोल्पा
११. धनकुटा
१२. तेह्रथुम
१३. कञ्चनपुर
१४. अछाम
१५. लमजुङ
१६. जाजरकोट
काठमाडौं उपत्यका अन्तर्गतका २ जिल्ला ललितपुर र भक्तपुरमा स्थानीय तह निर्वाचनमा पाँच दलले संयुक्त गठबन्धन गर्ने निर्णय गरेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा पनि पाँच दलहरूबीच सातवटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।
कांग्रेसको नेतृत्वमा सोमबार बसेको पाँच दलीय गठबन्धनको बैठकले जिल्लाका सातै स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेलबारे निर्णय गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले यस्तो गरेको निर्णय गरेको हो ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा सत्ता गठबन्धनमा रहेका चार दलले चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले केन्द्रले गरेको निर्णय जिल्लामा कार्यान्वयन गर्नुपर्ने भन्दै यस्तो निर्णय गरेका हुन् ।
यसरी नै अन्य जिल्लामा पनि गठबन्धनसँग आवद्ध दलहरूले स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गर्ने भएका छन् । यसका साथै गठबन्धन दलहरूले आपसी सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रूपमा निर्वाचनमा सहभागी हुन पनि निर्देशन दिएका छन् भने विवादास्पद अभिव्यक्ति अभिव्यक्त गर्न समेत रोक लगाएका छन् ।
त्यस्तै सत्तारूढ गठबन्धन दलले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने मोडालिटी पयार पारेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले निर्वाचन परिचालन तथा अनुगमन समिति बनाएको छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय समिति गठन गरेको हो ।
स्थानीय तह निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय सत्ता गठबन्धनका ५ दलले यसअघि नै गरिसकेका थिए । चैत १७ गते बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेको थियो । त्यसका लागि प्रदेश र जिल्ला र पालिकास्तरीय समिति बनाउने निर्णय भएको थियो । समितिलाई चैत २२ गते प्रतिवेदन बुझाउन भनिएको थियो ।
सात प्रदेश ७७ जिल्ला र ७५३ वटै पालिकामा गठित संयन्त्रले मंगलबार देशभरको प्रतिवेदन दिएको थियो । स्थानीय संयन्त्रले बुँदागत आधारमै सबै पार्टीको २०७४ को र हालको अवस्थाको विश्लेषण गरेको छ । परिचालन तथा अनुगमन समितिमा कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगनकुमार थापा, माओवादीबाट वर्षमान पुन, प्रमुख सचेतक देव गुरूङ, एकीकृत समाजवादीबाट वेदुराम भुसाल, उपमहासचिवमा विजय पौडेल, जनता समाज पार्टीबाट अशोक राई र मन्त्री रेणु यादव, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी छन् ।
समितिका संयोजक पौडेलले समितिको बैठकसमेत आह्वान गरे । गठबन्धन दलबीच गठबन्धन गरेरै जाने तयारी भएको छ ।
चुनावी गठबन्धनले नेता–कार्यकर्ता उत्साही
प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जसपा अध्यक्ष यादवलगायत अन्य दलका शीर्ष नेतृत्वले स्थानीय तहमा चुनावी तालमेल हुँदा नेता–कार्यकर्ता उत्साही हुने विभिन्न कार्यक्रममार्फत बताएका छन् ।
सरकारी तथा पार्टीका सार्वजनिक कार्यक्रममा बोल्दै गठबन्धन दलका शीर्ष नेतृत्वहरूले चुनावी गठबन्धनले आफ्नो पक्षमा माहोल गर्माएको बताएका हुन् । आसन्न वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन गठबन्धन दलका लागि उत्सव हुने उनीहरूको दाबी छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का शीर्ष नेता के भन्छन् ?
एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनसँग आफू एक्लै भिड्न तयार भएको बताउँदै आएका छन् । त्यस्तै अन्य शीर्ष नेताहरूले पनि पार्टीका विभिन्न सार्वजनिक कार्यक्रममा गठबन्धनसँग एमाले एक्लै भिड्ने बताउँदै आएका छन् ।
प्रेस चौतारी नेपाल धादिङले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले स्थानीय तह निर्वाचनमा एमाले एक्लै भिड्ने बताए । पार्टीले निर्वाचनमा एक्लै भिडे पनि बहुमत ल्याउने दाबी गरे । राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासको एजेन्डा बोकेर आफूहरू निर्वाचनमा होमिएको बताए ।
सिंगो देश निर्वाचनमा होमिएको र राजनीतिक दल पनि निर्वाचनका लागि सक्रिय भएकाले यो परिस्थितिमा देश र जनताको रक्षाका लागि सबैले सोच्नुपर्ने बादलले बताए । बादलले भने, ‘देशको राष्ट्रियता जोखिममा परेको छ, लोकतन्त्र धरापमा छ, देशको आर्थिक स्थिति डामाडोल छ, अर्थविद्को भनाइअनुसार देश असफल उन्मुख छ, यस प्रकारको परिस्थितिमा एमालेले देशको नेतृत्व दिनुपर्छ, परिस्थितिलाई सामान्य बनाउन एमालेको नेतृत्व आवश्यक छ ।’
गठबन्धन सरकारले देशलाई दुर्घटनातिर धकेलेको भन्दै उनले सदन अस्तव्यस्त भएको र न्याय व्यवस्था भताभुङ्ग बनेको बताए । यतिबेला देशले ठूलो चुनौतीको सामाना गरिरहेको बताउँदै एमाले जनादेशको माध्यमबाट यो देशको नेतृत्व आफ्नो हातमा लिन चाहेको बताए ।
देशको राजनीति दुईवटा धु्रवमा विभाजित भएको छ, एकातिर कांग्रेसको नेतृत्वमा अपवित्र गठबन्धन छ भने अर्कोतिर एमालेको नेतृत्वमा सबै देशभक्तहरू, लोकतान्त्रिक शक्तिहरू उभिएका छन् । आगामी निर्वाचनमा हाम्रा मूल एजेन्डाहरूलाई लिएर चुनावमा होमिन तयार छौँ,’ बादलले भने ।
एमालेको नेतृत्वमा मात्रै देश समृद्धि बन्ने भन्दै उनले मुलुकको भविष्यका निम्ति यो निर्वाचन एमालेले जित्न जरुरी रहेको बताए । ‘एमाले अहिले पनि पहिलो पार्टी भएकाले आगामी निर्वाचनमा पहिलो हुने मात्रै होइन, दुईतिहाइ बहुमतका साथ पहिलो हुने लक्ष्य लिएको छ ।’ त्यस्तै नेता बादलले स्थानीय तहको निर्वाचन भयरहित र निष्पक्ष हुनेमा आशंको आशंका गरे ।
बादलको भनाइलाई आधारमा मान्ने हो भने एमाले चुनावी मैदानमा एक्लै भिड्ने निश्चित देखिन्छ । तर, यता पाँच दलीय गठबन्धनले एमालेले अन्य शक्तिहरू राप्रपा, राप्रपा नेपाल लगायतका दलसँग तालमेल गरे पनि क्लिनस्वीप गर्ने रणनीति बनाएको छ ।
स्थानीय तह निर्वाचनको लागि दलहरूबीच सरगर्मी बढेको छ । दलका शीर्ष नेतृत्व र नेता–कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त छन् । स्थानीय तहको स्थायी सरकारमा आफ्नो प्रभुत्व जमाउन उनीहरूबीच रस्साकस्सी चलेको छ ।