• मंसिर १२ २०८१, बुधबार

सत्तासाझेदार दलहरूबीच चुनावी गठबन्धनप्रति अविश्वास, शीर्ष नेतृत्वको विवादास्पद अभिव्यक्ति, नेता-कार्यकर्ता सशंकित

चैत्र १९ २०७८, शनिबार

काठमाडौं । गत असार २८ मा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली सरकारबाट बाहिरिए । उनी बाहिरिएको भोलिपल्ट अर्थात् असार २९ मा नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्यो ।

यद्यपि पाँच दलमध्ये सरकारमा केही दल सहभागी नभए पनि कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सत्तामै छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सत्ताको नेतृत्व सम्हाले यता राष्ट्रका विभिन्न संवेदनशील मुद्दामा गठबन्धनभित्र विवाद भएपनि अन्ततः सरकार दीर्घजीवि भएको छ ।

गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन भए पश्चात् चुनावी तालमेल पनि गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवालाई दबाब दिएका थिए । तथापि कांग्रेसका अधिकांश नेता यो कुरा मान्ने पक्षमा थिएनन् । देउवाले अन्ततः कांग्रेसलाई चुनावी गठबन्धनमा लिएरै जाने भएका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले पाँच दलीय गठबन्धन तुहाउन अनेकन् हत्कन्ठा गरेपनि सम्भव नभएपछि उसले २०७४ सालको साख जोगाउन एक्लै भएपनि चुनावमा भिड्ने बताउँदै आएको छ । तर, यता सत्तासाझेदार दलहरू भने चुनावी गठबन्धन गर्ने पक्षमा उभिएका छन् । गठबन्धन प्रमुख दल कांग्रेसले चैत १५ मा स्थानीय आवश्यक्ताका आधारमा चुनावी गठबन्धन गर्ने औपचारिक निर्णय गरिसकेको छ ।

कांग्रेसको यो निर्णयसँगै पार्टीभित्र विवाद बल्झिएको छ । संस्थापनइतर पक्ष नेता डा.शेखर कोइराला समूहले गठबन्धन गर्न नहुने भन्दै यसअघि नै विरोध गरेपनि संस्थापन पक्षले पेलेरै निर्णय गरेको छ । चुनावी गठबन्धन गर्नुपर्ने कांग्रेस पार्टीको निर्णयले नेताहरूबीच आपसी अविश्वास पैदा गराएको हो । यसरी अविश्वास पैदा भएसँगै पार्टीका शीर्ष नेतृत्वहरूले विवादास्पद फरकफरक अभिव्यक्ति दिन थालेका छन् ।

उनीहरूको विवादास्पद अभिव्यक्तिले माओवादी केन्द्र सशंकित बनेको छ । पार्टीका शीर्ष नेताहरूले कांग्रेसका नेताहरूप्रति अविश्वास प्रकट गर्दै विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् । चुनावी गठबन्धनलाई कांग्रेसले हल्का रूपमा लिएको भन्दै प्रचण्डले एमालेसँग तालमेल गर्नुपर्ने अभिव्यक्ति दिएका हुन् ।

कांग्रेसले हल्का रूपमा लिएपछि एमालेसँग चुनावी गठबन्धन हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी गठबन्धनप्रति कांग्रेस संवेदनशील नभएको भन्दै एमालेसँग गठबन्धन गर्नुपर्ने बताएका छन् । कांग्रेसले चैत १५ मा सत्तासाझेदार दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

तथापि प्रचण्डले यो निर्णयप्रति विश्वस्त हुन नसकिने भन्दै विकल्प खोज्नुपर्ने बताएका हुन् । गत १७ गते बसेको सत्ता गठबन्धनको बैठकमा उनले कांग्रेससँग चुनावी गठबन्धनको विश्वासिलो आधार नभएको बताए । चुनावी गठबन्धन समान हैसियतको हुनुपर्ने विषयलाई समेत उठान गरेका थिए ।

यद्यपि कांग्रेसले यसपटक बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार भएको भन्दै सत्तासाझेदार दलहरूसँग आवश्यकताका आधारमा मात्रै तालमेल गर्ने निर्णय गरेको छ । यो निर्णयप्रति प्रचण्ड सन्तुष्ट छैनन् । किनकि उनले आवश्यकताका आधारमा नभई अनिवार्य चुनावी गठबन्धन हुनुपर्ने बताउँदै आएका थिए ।

तर, कांग्रेसले प्रचण्डको अनुकूलविपरीत आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेसँगै उनी असन्तुष्ट बनेका हुन् । उनले बैठकमा भने, ‘चुनावी गठबन्धनको कुरालाई तपाईंहरूले एकदम हल्का रूपमा लिइरहनु भएको छ, यो कुराले म एकदमै प्रेसरमा छु । मेरा साथीहरू राति १२ बजेसम्म पनि नेकपा (एमाले)का नेताहरुसँग मिटिङ गरिरहनु भएको छ,’ ‘स्थानीय सरकारको गठबन्धन सही ढंगले गएन भने मैले नचाहँदा नचाहँदै पनि एमालेसँग गठबन्धन गर्नुपर्ने हुनसक्छ । तपाईंहरू नै अप्ठ्यारोमा पर्नुहुन्छ ।’

उनको यो अभिव्यक्ति पश्चात् कांग्रेस झस्किएको छ । उसले पछिल्लो समय पार्टीको निर्णयबेगर मनमौजी अभिव्यक्ति दिन नहुने बताउँदै आएको छ । तथापि कांग्रेस शीर्ष नेतृत्व तहका नेताहरू भने पार्टीको निणर्यलाई लत्याउँदै विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् ।

कांग्रेस महासचिव गगनकुमार थापाले पार्टीको आधिकारिक निर्णयविपरीत बोल्दै आएका छन् । थापाले अहिले पनि पार्टीका विभिन्न सार्वजनिक कार्यक्रममा आफ्नो समूह चुनावी गठबन्धनको पक्षमा नरहेको बताउँछन् ।

चुनावी गठबन्धन टुट्नेमा दुविधा छैन, टुटाउन खोज्नेले पार्टी परित्याग गरे हुन्छ : नेता प्रकाशमान सिंह

कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तासाझेदार दलहरुसँग चुनावी गठबन्धन टुट्नेमा दविधा नमान्न नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । हिजो (शुक्रबार) काठमाडौं क्षेत्र नं.–१ ले नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।

गत १५ गते कांग्रेसले सत्तासाझेदार दलहरूसँग चुनावी गठबन्धन गर्ने निर्णय गरिसकेको छ । यो निर्णयलाई मान्दिन, गठबन्धन टुटाउँछु भन्नेले पार्टी परित्याग गरे हुन्छ । कांग्रेसभित्र बसेर कांग्रेसलाई नै कमजोर बनाउनेहरू पार्टीमा बस्नुभन्दा बाहिरिँदा राम्रो हुने सिंहले बताए ।

सिंहले भने, ‘यसपटक चुनावमा कांग्रेसका नेता, कार्यकर्ता कसले के गरेको छ ? सबैको एक–एक हिसाब हुन्छ,’ गठबन्धन जनताले दिएको म्यान्डेट नभए पनि परिस्थितिले सिर्जना गरेको मुलुकको आवश्यकता हो ।’

‘संविधान जोगाउनका लागि गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने बाध्यात्मक अवस्था छ । चुनावसम्मै गठबन्धन कायमै रहन्छ’, उनले भने ।

नेता, कार्यकर्ता सशंकित

गठबन्धन दलका शीर्ष नेतृत्व तहका नेताहरूको विवादास्पद र चुनावी गठबन्धनप्रति फरकफरक अभिव्यक्ति सुनेर सशंकित हुन थालेका छन् । कांग्रेस, माओवादी केन्द्र, जसपाका केन्द्रीय सदस्यलगायत तल्लो स्तरका कार्यकर्ता पनि आफ्ना शीर्ष नेतृत्वको आनाकानी र अविश्वासमूखी अभिव्यक्तिले चुनावी गठबन्धन हुनेमा विश्वस्त हुन नसकेको स्रोत बताउँछ ।