• मंसिर ८ २०८१, शनिबार

पदिय दायित्व र जिम्मेवारी भुलेर कुटनैतिक मर्यादाविपरीत भाजपा मुख्यालयमा प्रधानमन्त्री देउवा, सर्वत्र विरोध

चैत्र १९ २०७८, शनिबार

काठमाडौं । ०७२ असोजमा संविधान जारी भएपछि भारतले लगाएको अघोषित नाकाबन्दी र लिम्पियाधुरा नक्सा प्रकरणपश्चात चिसिएको सम्बन्ध सुधार गर्न शुक्रबार भारतको राजधानी नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले तीनदिने भ्रमणको सुरुवात नै सत्तारूढ भारतीय जनता पार्टीको मुख्यालयबाट गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा दिल्ली उत्रिएलगत्तै भाजपाको कार्यालय गएका थिए ।

भारत भ्रमणमा गएका नेपालका प्रधानमन्त्री प्रतिनिधिमण्डलसहित पार्टी कार्यालयमै पुगेको यो पहिलो पटक हो । अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भाजपा कार्यालय पुगेका देउवाले कांग्रेस–भाजपा सम्बन्धलाई बढावा दिन चाहेको स्पष्ट सन्देश दिएका छन् ।

यसअघि देउवाले प्रधानमन्त्रीका रूपमा पाँचौं पटक शपथ लिएको महिना दिन बित्दै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका ‘विशेष दूत’का रूपमा पाँचदिने भ्रमणका लागि काठमाडौं पुगेका भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि सिधै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

व्यक्तिगत र पार्टीस्तरमा सम्बन्ध विस्तार गर्न आएका चौथाइवालेको भ्रमणका दौरान दुई पार्टीको संस्थागत सम्बन्धलाई अघि बढाउन देउवा–पत्नी आरजु राणाले हिन्दु संस्कृतिको सदुपयोग गरेकी थिइन् । चौथाइवाले भदौ ६ मा रक्षा बन्धनको बेलुकी बालुवाटार छिरेका थिए । उनी आउने थाहा पाएपछि राणा रक्षाबन्धन लिएर स्वागत गर्न बसिन् ।

राणाले दुई मुलुकका फरक पार्टीका नेताहरूबीचको सम्बन्धलाई एकाएक ‘भाइ–बहन’ (दिदी–भाइ) मा परिणत गरिदिइन् । त्यसलाई राणाको ‘राखी कूटनीति’ समेत भनियो । प्रधानमन्त्री–पत्नी राणाले व्यक्तिगत तहबाट सुरुआत गरेको कांग्रेस र भाजपाबीचको ‘राखी कूटनीति’ लाई देउवाले भारत भ्रमणका दौरान नयाँदिल्लीस्थित भाजपा मुख्यालयमा पुगेर संस्थागत गर्न खोजेका छन् ।

भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले प्रधानमन्त्री देउवा भाजपाको मुख्यालयमा जानुलाई ‘आउट अफ प्रोटोकल’ को संज्ञा दिए । उनले प्रधानमन्त्री देउवाको यो क्रियाकलापलाई आफूले राम्रो वा नराम्रो भन्ने टिप्पणी नगर्ने उल्लेख गर्दै ‘प्रोटोकलचाहिँ मिचेको’ प्रष्ट पारे । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले जारी गरेको देउवाको औपचारिक भ्रमणमा भाजपाको कार्यालय जानेबारे उल्लेख छैन ।

जसले गर्दा देउवा भाजपाको कार्यालयमा पार्टी सभापतिको हैसियतमा गएको हो वा प्रधानमन्त्रीको हैसियतमा गएको हो भन्ने चासो रहेको छ । पूर्वराजदूत आचार्यले देउवा सभापति र प्रधानमन्त्री दुवै भएका कारण त्यसलाई छुट्याएर हेर्न नमिल्ने बताए । यो समाचार कान्तिपुर दैनिकमा छ ।