• मंसिर ११ २०८१, मंगलवार

‘कोहिनुर’, ‘नोटबुक’ लगायत दुई सय चलचित्र सम्पादन गरेका बनिशको रंगीन जीवन…

चैत्र १७ २०७८, बिहीबार

काठमाडौँ । रंगीन दुनियाँको सबैभन्दा रंगीन क्षेत्र चलचित्र क्षेत्र हो । यो क्षेत्रमा पर्दामा देखिने कलाकारहरुको निकै चर्चा हुनेगर्दछ र सबैले उनीहरुलाई चिन्दछन् । तर पर्दामा देखाइने ती दृश्यको उचित सम्पादन गरी दर्शकका माझमा पस्कन लायक बनाउने कलाकारलाई नभे धेरैले चिनेका हुँदैनन् ।

त्यसैले उनीहरुलाई पर्दा पछाडीका कलाकार भनिन्छ । चलचित्र सम्पादनको क्षेत्रमा करिव ३० वर्ष काम गरेर सफल सम्पादक बन्न सफल भएकामध्ये एकजना चलचित्र सम्पादक हुन् बनिश शाह । चलचित्रहरुमध्ये कथानक चलचित्र सबैभन्दा सशक्त माध्यमको रुपमा रहेको हुन्छ ।

कथानक चलचित्रलाई श्रव्य र दृश्यहरुको काव्यको रुपमा नै लिने गरिन्छ । कथानक चलचित्रको निर्माणदेखि प्रदर्शनसम्म यसमा विभिन्न विधामा रहेका मानिसहरुको लगन तथा क्षमता रहेको हुन्छ । कथानक चलचित्र निर्माण गर्न निर्माता चाहिन्छ भने त्यसलाई समग्र तथा व्यवस्थित रुपमा संचालन गरेर चलाउन त्यसको निर्देशक चाहिन्छ ।

कथानक चलचित्रमा निर्माता तथा निर्देशकको चाहना र विषयवस्तुको आवश्यकता अनुसार विभिन्न पात्र तथा परिवेशको सिर्जना र छनौट गर्नुपर्ने हुन्छ । पात्रहरुको छनौट गरिसकेपछि चलचित्र छायाङ्कनको कार्य हुनजान्छ । क्यामरा चलाउने मानिसले चलचित्रमा निर्देशकले भने बमोजिम कलाकार तथा पात्रहरुले गरेको क्रियाकलाप क्यामरामा कैद गर्दै जान्छन् ।

छायाङ्कनको कार्य सकिएपछि चलचित्रको सबैभन्दा पहिलो दर्शक हुनजान्छ दृश्य सम्पादक । निर्देशकको निर्देशन बमोजिम भएका क्रियाकलापहरुलाई क्यामरा चलाउने मानिसले क्यामराको लेन्सबाट कैद गरिएका दृश्यहरुलाई दृश्य सम्पादकले सम्पादन गरेपछि मात्रै सर्वसाधारणको लागि कुनैपनि चलाचित्र प्रदर्शनमा ल्याइन्छ ।मिडियाकर्मी रत्न श्रेष्ठका साथ बनिश शाह

यसरी हेर्दा चलचित्रको दृश्य सम्पादकले तयार पारेको चलचित्र मात्रै प्रदर्शनमा ल्याइने रहेछ भनेर बुझ्न पनि सकिन्छ । निर्माण, निर्देशन, कलाकारितासँगै चलचित्र अर्थात् रंगीन दुनियाँमा दृश्य सम्पादकको पनि महत्वपूणर् भूमिका हुने कुरा यस्ता चक्रबाट पनि थाहा हुनजान्छ । फिल्म निर्माण भइसकेपछि कोरा दृश्यहरुलाई मिलाएर दर्शकहरुले हेर्न लायक बनाउने यस्ता दृश्य सम्पादकहरु नहुने भने फिल्म प्रदर्शनमै आउन सक्दैन ।

त्यसकारण फिल्ममा दृश्य सम्पादन कार्य एक महत्वपूणर् कार्यको रुपमा रहेको छ । फिल्मको पर्दा पछाडीबाट गरिने दृश्य सम्पादन जस्ता कार्य गरेर महत्वपूणर् भूमिका निभाउने प्राविधिकहरु हरेक फिल्ममा आवश्यक पर्न जाने हुन्छ । आज हामीले करिव ३० वर्षदेखि फिल्ममा दृश्य सम्पादकको रुपमा काम गर्दै अनुभवले खारिएका दृश्य सम्पादक बनिश शाहको अनुभव तथा २०४८ सालदेखि दृश्य सम्पादन गर्दै आएका शाहले कामको दौरानमा संगालेका विविध रमाइला पक्षहरुलाई प्रस्तुत गर्न लागेका छौं ।

राजधानी काठमाडौँमा जन्मिएका बनिश शाह २०४८ सालदेखि नेपाली चलचित्र जगतमा दृश्य सम्पादकको रुपमा काम गर्दै आएका छन् । ०४८ सालमा चलचित्रमा सहायक सम्पादक भएर चलचित्र क्षेत्रमा प्रवेश गरेका शाह नेपालमा अलिअलि काम गरेपछि पुरा काम सिक्न भारतको बम्बै गए । चलचित्रमा दृश्य सम्पादनको काम सिक्न २०५३ सालमा बम्बई गएका उनी तीनवर्ष सो काम सिकेर २०५५ सालमा काठमाडौँ फर्किए ।

पहिले सहायक सम्पादक भएर काम गरेका शाहले सम्पादन सिकेर फर्किएपछि सम्पादक भएर काम गर्न थाले । अहिलेसम्म लगातार रुपमा नेपाली सहित भोजपुरी, हिन्दी र पञ्जाबी गरेर २ सय बढी चलचित्रका दृश्यहरुलाई सम्पादन गरिसकेका उनी लगातार अहिले पनि काम गरिरहेका छन् ।

 बनिशले सम्पादन गरेका केही हिट फिल्महरु :

हाल दिवंगत भइसकेका चलचित्र क्षेत्रका चर्चित कलाकार रवि शाहका छोरा बनिश शाहले आफ्नो १६ वर्षको उमेरदेखि चलचित्र क्षेत्रमा सम्पादकको काम हात हालेका थिए भने उनले सेतो बाघ, नाता रगतको, बन्धकी, हामी तीनभाई, जनयुद्ध, म तिमी बिना मरिहाल्छु, नोटबुक, हाँसिदेऊ एकफेर, शाषण, म यस्तो गीत गाउँछु-२, कोहिनुर लगायतका चर्चित तथा सफल चलचित्रहरुका दृश्यहरुलाई सम्पादन गरिसकेका छन् । त्यति मात्रै होइन उनले केही वृत्तचित्र टेलिभिजन कार्यक्रम लगायतका प्रोजेक्टमा पनि काम गरिसकेका छन् । उनले गरेका प्रेम गीत-३ लगायतका केही चलचित्र प्रदर्शनमा आउन बाँकी छन् ।

उनले सँगै काम गरेका निर्देशकहरु :

चलचित्र क्षेत्रमा पुराना ‘बाघ डाइरेक्टर’ भनेर पनि चिनिने प्रकाश थापा, शम्भु प्रधान, किशोर रानामगर, शिव रेग्मी, निर शाह, यादव खरेल, महजोडीदेखि नयाँ डाइरेक्टरहरु हेमराज बिसी, दिनेश रावल, सुदर्शन थापा, सम्राट शाक्य, सुवणर् थापा लगायतका निर्देशकहरु सहित पुराना कलाकारहरु भुवन चन्द, बसुन्धरा भुषाल, रवि शाह, हरिहर शर्मा । बिएस राणा, निर शाह, झरना थापा, निरुता सिंह, रेखा थापाहुँदै अहिले चलेका कलाकारहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, स्वस्तिमा खड्गा, सुरक्षा पन्त, वर्षा रावत लगायतसँग काम गरेको उनको अनुभव रहेको छ ।

उनले पाएका सम्मान तथा पुरस्कार :

चलचित्र प्राविधिकको रुपमा काम गरेर शाहले केही पुरस्कार तथा सम्मान पनि हात पारेका छन् । उनले २०६६ सालमा लुनकरणदास, गंगादेवी चौधरी साहित्य कला मन्दिरबाट नवप्रतिभा पुरस्कार हात पारेका छन् । यो पुरस्कार चलचित्र क्षेत्रका प्राविधिकलाई दिइएको पहिलो पुरस्कार हो । त्यसबाहेक उनले सम्पादन गरेका चलचित्रहरुले १०० दिन मनाउँदा, ५१ दिन मनाउँदा पाउने सम्मान तथा पुरस्कार उनले पाएका छन् । त्यस्तै उनले केही नेफ्टा अवार्ड समेत उनले हात पारेका छन् ।

उनले चलचित्र क्षेत्रमा सम्पादन कार्य सिकाएका सम्पादकहरु विपिन मल्ल, अर्जुन जिसी, मिलन श्रेष्ठ, भुपेन्द्र अधिकारी, तारा थापा ‘किम्ले’ लागयतहरु अहिले चलचित्र क्षेत्रमा सम्पादकको रुपमा काम गरेर सक्रिय रहेका छन् ।

प्रविधिले गर्दा दृश्य सम्पादन गर्न सजिलो भएको बताउने शाहले चलचित्र सम्पादन कार्य थाल्दा महिना दिनभरि चलचित्रको काम गरेर रिलमा रेकर्ड गरिन्थ्यो र पुरै चलचित्र वा सम्बन्धित फिल्मको सम्पूणर् दृश्य क्यामरामा खिचेर ल्याएपछि मात्रै सम्पादन गर्नु पर्थ्यो भने आजभोलि चलचित्र क्षेत्रमा आएको प्रविधिको परिवर्तनले गर्दा अनलाइनमै सम्पादन कार्य गर्न सकिन्छ ।

पहिले महिनौं लगाएर क्यामराको रिलमा रेकर्ड भएको दृश्यलाई सम्पादन गर्ने कार्य हुन्थ्यो भने आजभोलि दिनभरी सुटिङ्ग भएको दृश्यलाई बेलुका नै सम्पादन गर्न सकिन्छ अनि सम्पादन गर्दा थप्नु पर्ने वा छुटेको जस्तो लाग्ने दृश्यलाई भोलिपल्ट नै थप गर्न सकिने प्रविधि आएको हुनाले थप सजिलो भएको शाह बताउँछन् ।

उनको नजरमा निर्देशक र कलाकार :

शाहले काम गरेका सबैभन्दा पाका निर्देशक प्रकाश थापा हुन् । प्रकाश थापासँग कामको दौरान थापा कराउन थालेपछि यसो फर्केर ङ्गिच्च हाँसीदिंदा थापाले ‘हेर हेर यो त आफ्नो बाबु जस्तै पो हाँस्छ’ भनेर आफ्नो रिस साम्य पारेको अनुभव उनेसँग रहेको छ । त्यस्तै दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ उनको नजरमा कहिल्यै पनि अरुलाई नराम्रो नगर्ने र नाचिताउने मानिस थिए ।

नियमित व्यायाम गरिरहने र जाँड, रक्सी लगायतका कुराहरु नखाने मानिस श्रीकृष्ण दाई (दिवंगत नायक श्रीकृष्ण)लाई अत्यधिक कोकाकोला सेवनले गर्दा रोग लागेको हुनसक्ने उनले बताए । मान्छे पनि राम्रो, बानी व्यहोरा पनि राम्रो नै भएका उनलाई ‘भगवानले चाँडै काखमा लिए’ उनले भने ।

चलचित्र सम्पादक शाह कामकै सिलसिलामा करिव १ महिना सिंगापुर बसेको अनुभव संगालेका छन् भने चलचित्रमा भएका विभिन्न दृश्यहरुमध्ये प्रेम गीत-२ नामको चलचित्रमा रहेका बर्मादेखि मुर्मासम्मका दृश्य सम्पादन गरेको क्षणलाई रमाइलो क्षणको रुपमा लिन्छन् । उनी हालपनि यही क्षेत्रमै कृयाशील छन् ।
(कुराकानीमा आधारित ।)