• मंसिर १२ २०८१, बुधबार

प्रचण्ड-नेपालको दबाबले घेराबन्दीमा देउवा, चुनावी तालमेलले कांग्रेसभित्र रडाको, संस्थापनइतर अझै असन्तुष्ट

चैत्र १५ २०७८, मंगलवार

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले सत्ता गठबन्धन र एमसीसी अनुमोदन गर्नुपूर्व नै आगामी चुनावसम्म गठबन्धनलाई निरन्तरता दिने बताउँदै आएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका लागि मात्रै नभएर चुनावको लागि पनि गठबन्धन भएको बताउँदै आएका हुन् ।

गत कात्तिक २५ मा डोल्पा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तीनै तह (स्थानीय, प्रदेश र संघ)को चुनावमा गठबन्धनका दलहरूसँगै तालमेल हुने बताए । त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष नेपाल गत पुस १० गते दाङ पुगे । उनले त्यहाँ पुगेर एकीकृत समाजवादी लुम्बिनी प्रदेशको बृहत् भेलालाई सम्बोधन गर्दै आगामी वर्षमा सम्पन्न हुने तीनै तहको चुनावमा गठबन्धन दलसँगै तालमेल हुने बताए ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि विगतदेखि नै कांग्रेस चुनावी गठबन्धनको पक्षमा रहेको बताउँदै आएका छन् । पाँच दलीय गठबन्धन गरेर एमाले अध्यक्ष ओलीको प्रतिगमनलाई परास्त गरेको भन्दै देउवाले आगामी तीनै तहको चुनावमा गठबन्धन गर्ने बताउँदै आएका छन् ।

देउवाले चुनावी तालमेल गर्ने बताउँदै आए पनि कांग्रेस संस्थापनइतर डा.शेखर कोइराला पक्षले यसो गर्न नहुने जिकिर गर्दै आएको छ । तीनै तहको चुनावका लागि कांग्रेस एक्लै अन्य पार्टीसँग भिड्न सक्ने भन्दै उक्त पक्षले देउवालाई चुनावी गठबन्धन नगर्न दबाब दिँदै आएका छन् । त्यसका लागि विगत चार दिनयता कांग्रेसको बैठक बस्दै आएको छ ।

उता प्रचण्ड-नेपालले देउवालाई चर्को दबाब दिँदै आएको स्रोत बताउँछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई/दुइ पटक संसद् भंग गरेपछि गठबन्धन गरेका पाँच दलमध्ये माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले चुनावी तालमेल गर्नैपर्ने देउवासमक्ष अडान राखेका हुन् । यी दलले चुनावी गठबन्धन नतोडियोस् भनी चर्को विरोध र आलोचनाबीच अमेरिकी आर्थिक परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसद्बाट अनुमोदन गरेका छन् ।

दुई पटक संसद् विघट, त्यसको पुनःस्थापना र संसद्बाट एमसीसी अनुमोदनका लागि साथ दिएको भन्दै सत्ता गठबन्धन दलका प्रमुख एवम् प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले चुनावसम्म गठबन्धन टिकाउने मनसाय राखे । देउवाको उक्त मनसाय बुझेर संस्थापनइतर पक्षले विरोध जनाउँदै आएको थियो ।

इतर पक्षले कांग्रेससँग अन्य दलको सत्ता गठबन्धनका लागि मात्रै गठबन्धन भएको र चुनावका लागि नभएको जिकिर गर्दै आएको थियो । त्यसपछि देउवा बाध्य भएर सत्ता साझेदार दलहरूसँग चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने मुद्दामा चार दिनयता पार्टीका शीर्ष नेताहरूलाई राखेर बैठक बसालेका थिए ।

बैठकले के निर्णय गर्यो ?

कांग्रेसको आज बसेको शीर्ष तहको बैठकमा स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय भएको छ । स्थानीय तहको चुनावमा आवश्यकता र अवस्थाका आधारमा गठबन्धन गर्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

गत १२ गतेदेखि आजसम्म चलेको केन्द्रीय कमिटीको बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा.महतले सर्वसम्वत रूपमा गठबन्धन गर्ने निर्णय भएको बताए । उनले स्थानीय तहको चुनावमा बहुसंख्यक स्थानीय तहमा विजयी हुने आधार तय भएको, घर घर जाउँ, नेपाली कांग्रेस जिताऔं अभियानले उत्साह थपेको भन्दै उनले सबैलाई जुट्न अपिल गर्ने निर्णय गरेको बताए ।

महतले नेपाली कांग्रेसको बहुसंख्यक स्थानीय तहमा विजयी हुने आधार बनेकाले गठबन्धन आवश्यकता अनुसार तालमेल गर्न सक्ने गरी केन्द्रीय कमिटी बैठकले नीतिगत निर्णय गरेको बताए । त्यस्तै, उनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि दुई वटा समिति गठन गरेको बताए ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा स्थानीय तहको चुनाव परिचालन समिति गठन गरेको र केन्द्रीय प्रचार–प्रसार समिति प्रवक्ता प्रकाशशरण महतको नेतृत्वमा गठन गरेको छ । विधानअनुसार कार्य सम्पादन समितिले गरेको निर्णय अनुमोदन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

संस्थापनइतर पक्ष असन्तुष्ट

केन्द्रीय कार्यसमिति बैठकले संसदीय समिति गठन गर्ने भने पनि विवादका कारण गठन हुन सकेन । कांग्रेसका शीर्ष नेताहरू रामशरण महत, अर्जुन नरसिंह केसी लगायतका नेता पछि हट्न तयार नभएपछि उक्त समिति गठन नभएको बताइएको छ ।
सभापति शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि मात्रै परामर्श गरेर सो समिति गठन गर्ने प्रवक्ता डा. महतले बताए ।