• मंसिर १२ २०८१, बुधबार

त्रिकोणात्मक टि-२० क्रिकेट श्रृंखलामा पिएनजीविरुद्ध नेपाल १५ रनले विजयी

चैत्र १४ २०७८, सोमबार

काठमाडौं । त्रिकोणात्मक टि-२० क्रिकेट श्रृंखलामा नेपालले विजयी सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध  १५ रनको जित निकालेको हो।

नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पिएनजी ४ बल बाँकी छँदै १ सय ६८ रनमा अलआउट भयो। उसका नोर्मान भानुवाले सर्वाधिक ५२ रनको योगदान गरे।

सेसे बाउले ३०, चार्ल्स अमिनीले २२, लेगा साएकाले २१ रनको योगदान गरेका थिए। नेपालका सन्दिप लामिछाने र करण केसीले समान ३/३, अविनाश बोहराले २, र सोमपाल कामीले एक विकेट खसाले।

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले घरेलु मैदानमा ९ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो। उसका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाएका थिए।

रोहित पौडेलले ३४, आरिफ शेखले ३१, कुशल भुर्तेलले २०, करण केसीले १४, कुशल मल्लले ११ रनको योगदान गर्दा सोमपाल कामी एक रनमा आउट भएका थिए। श्रृंखलामा नेपाल, पिएनजी र मलेसियाको सहभागिता रहेको छ ।