काठमाडौं । बागमती प्रदेश कृषि तथा पशुपक्ष विकास मन्त्रालयले प्रदेशका ६ जिल्लामा बर्डफ्लु फैलिएको जनाएको छ ।
बर्डफ्लु देखिएका स्थानमा हालसम्म ५८ हजार २६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४३९ केजी दाना सुरक्षित तरिकाले नष्ट गरिएको मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिए । बर्डफ्लुका कारण हालसम्म करिब रु तीन करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको बताए । हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु देखिएको तथा सङ्क्रमण देखिएका अन्य स्थानमा पूर्णरूपमा निःसङ्क्रमणका कार्य गरिएको र अन्यत्र फैलन नदिन नमूना सङ्कलन र निगरानी भइरहेकोसमेत मन्त्रालयका सचिव पाण्डेले जानकारी दिए ।
सचिव पाण्डेले क्षति बेहोरेका कृषकलाई सङ्घीय र स्थानीय सरकारसँगको सहकार्यमा क्षतिपूर्ति दिने तयारी भइरहेको बताउदै सङ्घीय सरकारले तोकेको मापदण्ड र नीतिअनुसार क्षति बेहोरेका कृषकलाई राहतस्वरुप क्षतिपूर्ति दिने सरकारको योजना रहेको बताए ।