धेरै वर्ष पहिलेदेखि पश्चिम नेपालका बेरोजगार मानिसहरू कामको खोजीमा भारतका सिम्ला, काश्मीर, कुमाउ, गढवाल आदि क्षेत्रमा जाने चलन छ । भारतका ती क्षेत्रका पहाड तथा ग्रामीण भूभागलाई कालापहाड भन्छन् । कामको खोजीमा कालापहाड जाने विशेष गरी राप्ती, भेरी र कर्णालीदेखि पश्चिमका मानिसहरुलाई कालीपारे भन्ने गरिन्छ ।
आफ्नो गाउँठाउँमा भएको खेतिपातीले वर्ष दिनसम्म परिवारलाई रोजगार र व्यवसाय नहुने भएकाले मानिसहरु पाँच-दश जनाको समूह बनाएर कालापहाड जाने पुरानै पम्परा हो । अहिले पनि त्यो परम्परा कायमै छ । चरम गरिबी र बेरोजगारका कारण लुगाफाटो, नुनतेल र खाद्यान्न जस्ता अतिआवश्यक वस्तुहरू जुटाउनका लागि मान्छेहरू श्रम बेच्न कालापहाड जान्छन् ।
वर्षेबाली र हिउँदे बाली लगाउने समय गरी चार पाँच महिना घर र बाँकी सातआठ महिना कामको खोजीमा कालापहाड बस्ने व्यक्तिलाई कालीपारे भन्ने गरिन्छ । ती मान्छेको कालीपारे जीवन रहर नभई बाध्यताको उपज हो । गरिबी, बेरोजगारी र सीप नहुनुले ती कालीपारेहरू न्यून ज्यालामा शरिरीक काम गर्न बाध्य हुन्छन् ।
घर परिवारको पीडा, कामको खोजीमा पाउने हण्डर आदिको पीडाले राम्रो कमाई नभएपछि कतिपय कालीपारे घर फर्किंदैनन् र कति कालीपारे उतै ज्यान पनि गुमाउँछन् । यता नेपालमा उनीहरुको परिवार झन पीडामा जीउन बाध्य हुन्छन् । तर उनीहरुको पीडा र रोजगारीका लागि सरकारले चासोसम्म देखाउँदैन ।
कालापहाडको कष्टकर यात्रा, कामको पीडा, ज्यालामा ठगी, कमाएको पैसा चोरी हुने र ज्यानको जोखिम भएपनि कालीपारे जीवन जीउन बाध्य छन् । सीपको आवश्यकता नपर्ने काममा कालीपारेहरू अदक्ष मजदुरको रूपमा सस्तोमा श्रम बेच्छन् । कतिपय मान्छेहरू गाउँमा साहुबाट ऋण लिएर कालापार गएका हुन्छन् र घर फर्के पछि साँवा र ब्याज साहुलाई बुझाउँछन् । चरम गरिबीका कारण कतिपय स-परिवार नै कालापहाड जान्छन् ।
तिनै कोलीपारेहरूले भोट दिएर चुनिएका जनप्रतिनिधिले ती कालीपारेको बारेमा योजना बनाउन आवश्यकता ठान्दैनन् । बरु भ्यू टावरे विकासको पछि लागेका छन् । कुनैपनि वैज्ञानिक आविष्कार, विकास, धर्म र राजनीति मानव जीवनका लागि हुनुपर्छ । जनप्रतिनिधिले पहाडको अग्लो डाँडोमा करोडौं बजेट खर्चेर भ्यू टावर बनाउँछन् तर जनताका लागि सीप विकासको तालिम, रोजगारीको सृजना, उद्योग कलकारखानामा बजेट छुट्याउँदैनन् ।
अग्लो पहाडमा करोडौं खर्चेर बनाएको भ्यू टावरले ती गरिब कालीपारेको जीवनमा कस्तो प्रभाव पारेको छ त ? गरिब मान्छेको जीवनमा सकारात्मक प्रभाव तपार्ने संरचना र आविश्कारको खासै अर्थ रहँदैन । जनप्रतिविधिले भ्यू टावरबाट ती कालीपारेको पीडादायी जीवन देख्छन् होला कि नाई ? वर्ष दिनसम्म खाना नपुग्ने परिवार, खाली खुट्टा, च्यातिएका एवम् गरिब अर्धनग्न शरीर, विद्यालय जान नपाएका बच्चाहरू, एक गाग्री पानीको लागि दुई घण्टा टाढा जाने आमा, दिदी र बहिनीहरू, सिटामोल नपाएका जनता, सिंचाई नभएका बाँझा जग्गाहरू, मल र बिऊ नपाएका किसानहरु आदि समस्याहरू जनप्रतिनिधिको आँखामा पर्दैनन् ।
रोग, भोक, प्यास र बेरोजगारीले दुःख पाएका, कालापहाडको हिउँ वा तुसारो लाग्ने ठाउँमा कष्टकर जीवन जीउन बाध्य कालापारे त्यो भ्यू टावरबाट देखिंदैनन् । भत्केको स्कूलमुनी ढुंगामा बसेर च्यातिएको कापीमा अक्षर सिक्दै गरेका बच्चाहरु जुनप्रतिनिधिको आँखामा पर्दैनन् । जनप्रतिनिधिको आँखामा कालीपारे कहिल्यै परेनन् ।
राजनीति र विकास मानवीय समस्या समाधान गर्नका लागि हो भन्ने कुरा राजनीतिले कहिल्यै गम्भिर रुपमा लिएन । भ्यू टावरे विकासले कालीपारेको पीडा बुझ्दैन । यसले कालीपारे जीवन घटाउनुको साटो झन मान्छेलाई कालीपारे बन्न बाध्य पारेको छ । प्रजातन्त्र र गणतन्त्र देखाउने वस्तु नभएर मानिसका समस्या समाधान गर्ने हुनुपर्दछ तर त्यसो भएको देखिंदैन ।