काठमाडौं । प्रमुख विपक्षमा रहेको संसद्को ठूलो दल एमालेले ३० वैशाखको स्थानीय तहको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने गरी निर्वाचन तयारी थालेको छ ।
सत्तारूढ दलहरू गठबन्धनको विषयमा लागिरहेका वेला एमालेले भने एक्लै प्रतिस्पर्धा गर्ने गरी पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकबाट चुनावी रणनीति बनाउन लागेको हो । तर, एमालेले आवश्यकताअनुसार स्थानीय तहमा तालमेलको ढोका खुला राख्ने भएको छ ।
कार्की बैंक्वेट, थापाथलीमा सोमबार बसेको पोलिटब्युरो बैठकमा अधिकांश पोलिटब्युरो सदस्यले चुनावी तालमेलबारे केन्द्रीय कमिटीबाट स्पष्ट योजना बनाएर जानुपर्ने आवश्यकता औँल्याएका थिए । उनीहरूले सत्तारूढ गठबन्धन मिलेरै आए पनि एक्लै प्रतिस्पर्धा गर्दा अघिल्लो स्थानीय निर्वाचनमा जस्तै सफलता प्राप्त हुने धारणा राखेका थिए ।
‘धेरै सदस्यबाट चुनावी तालमेलबारे ठोस नीतिसहित जानुपर्छ भन्ने सुझाव आएको छ, अहिले हल्लाखल्ला गरेर, नीतिगत निर्णय नै गरेर वाम तालमेल गर्ने वा लोकतान्त्रिक शक्तिस“ग तालमेल गर्ने भन्ने ठाउँमा पुग्दैनौँ ।
हामी आफ्नै शक्तिमा विश्वास गर्छौं र सबै स्थानीय तहमा एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने दिशामा केन्द्रित हुन्छौँ,’ बैठकपछि उपमहासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्बीसुब्बा गुरुङले भने, ‘यसका बाबजुद पनि स्थानीय तहमा जहाँ–जहाँ सम्भव छ, सम्भव भएका शक्तिहरूसँग तालमेल हुन सक्छ, तर अहिल्यै निर्णय गरिसकेका छैनौँ ।’
बैठकमा नेताहरू हिक्मत कार्की, ईश्वरी रिजाल, घनश्याम भुसाल, रघुजी पन्त, अमृत बोहरा, ठाकुर गैरे, महेश बस्नेत, खिमलाल भट्टराई, गौरी ओलीसहित २१ जनाले केन्द्रीय कमिटी बैठकका लागि प्रस्ताव गरिएका एजेन्डामा केन्द्रित रहेर सुझाव राखेका थिए ।
उनीहरूमध्ये भुसाल र पन्तले मात्र कम्युनिस्ट आन्दोलनको मियो पार्टीका रूपमा एमालेले स्थानीय तहको निर्वाचनमा वाम पार्टीहरूसँगै सम्भावित तालमेलको ढोका खुला राखेर अगाडि बढ्नुपर्ने फरक धारणा राखेका थिए ।
तर, बैठकमा बोल्ने अधिकांश नेताहरूले कम्युनिस्ट चरित्र नै नबोकेका माओवादी केन्द्र र नेकपा एससँगको सम्भावित चुनावी तालमेल हुन नसक्ने विचार राख्दै एमालेलाई ठूलो कम्युनिस्ट पार्टी बनाउने गरी तितरबितर भएका कार्यकर्ता प्रवेशलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए ।
पोलिटब्युरोको बैठकमा स्थायी समिति सदस्य घनश्याम भुसालले एमाले नै नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह भएको तथ्य पुष्टि भइसकेको र अरू साना वाम पार्टीले पनि यो तथ्यलाई स्विकार्ने अवस्था आएकाले स्थानीय चुनावमा वाम तालमेलको ढोका खुला राखेर जानुपर्ने धारणा राखेका थिए ।
त्यसरी अगाडि बढ्दा फुटेर गएको नेकपा एस र माओवादी केन्द्रले पनि एमालेको नेतृत्व स्विकार्ने उनको तर्क थियो ।
ओलीले भने तालमेलमा नअल्झिई बृहत् कम्युनिस्ट पार्टी निर्माणमा लाग्नुपर्ने बताएका थिए । ‘अहिले हामी वाम तालमेल भनेर समय खर्च गर्दैनौँ । यतिवेलाको प्राथमिकता कम्युनिस्टहरूको एकता होइन, कम्युनिस्ट पार्टीको विस्तार हो ।
एमाले बृहत् कम्युनिस्ट पार्टी निर्माणमा लाग्छ । एमाले कम्युनिस्ट पार्टी हो, अरू पुँजीवादी पार्टीका सहयोगी हुन् । उनीहरूले पुँजीवादी पार्टी कांग्रेसलाई काँधमा बोकेर सरकारमा पुर्याएको र उसैको सहयोगी भूमिकामा रहेको देखिएकै छ,’ ओलीको भनाइ थियो, ‘त्यसैले हामी अहिले वाम तालमेलका नाममा अलमलिने होइन, कम्युनिस्ट पार्टीको विस्तार गर्ने बृहत् कम्युनिस्ट पार्टी निर्माण गर्ने गतिलाई तीव्र बनाउने काममा लाग्नुपर्छ ।
भ्रममा परेर छरिएका कम्युनिस्ट कार्यकर्तालाई एमालेमा गोलबन्द गराउने काममा लाग्नुपर्छ, लागिरहेका पनि छौँ । अहिले अलमलियौँ भने तल पार्टी विस्तारको तीव्र गतिको अभियानमा रोकावट आउँछ ।’
०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले डेढ सयभन्दा बढी स्थानीय तहमा तालमेल गरेर एमालेसँग प्रतिस्पर्धा गरेका थिए ।
अहिले पार्टी फुटे पनि माओवादी केन्द्रको ठूलो हिस्सा नेकपाको निरन्तरताकै रूपमा पार्टीमा रहेको र पछिल्ला दिनमा माओवादीबाटै निरन्तर प्रवेश चलिरहेकाले गठबन्धनसँग पनि लड्न सकिने एमालेको विश्लेषण छ ।
नेकपा एसतिर गएका कार्यकर्ता पनि पार्टीमा फर्किरहेको नेताहरूको रिपोर्टिङ छ । अघिल्लो स्थानीय तहमा एमाले ठूलो शक्ति बनेको थियो । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।