काठमाडौँ । पुरानो समयमा नेपाली समाजमा घटित दुःख र सुखका कथाहरुलाई शब्दमा उनेर लय र संगीत दिई गाउँगाउँ, बस्तीबस्ती घुमेर कर्खा सुनाउने प्रचलन गरेका हाम्रा संगीत सिर्जनाका खानी गन्धर्वहरु बिस्तारै हराउँदै गएको दृश्य हामी पाउछौं । पुरानो समयमा स्रोताहरुद्वारा अत्यधिक रुचाइएका गीतहरु ‘नखेल्नु जुवा र तास धनको नास जीवनको वनबास’देखि ‘आमाले सोध्लिन्, खै छोरा भन्लिन रज है खुल्यो भन्दिए’हुँदै केहि वर्ष पहिले सार्वजनिक भएको ‘कहाँ गयो गीत गाउने गाइने दाई, दुःख पीडा विरहमा चाहिने दाई’सम्मका गीतहरु गन्धर्व समुदायले गाउँदै आएका या त गन्धर्व समुदायमा आधारित गीतहरु हुन् ।
माथि उल्लेख गरिएका युगौंदेखि चल्दै आएका गीतका शब्द तथा बोलहरुले पहिलेको र हालको समयमा पनि तिनै गन्धर्वहरु र सो समयको अवस्थाको चित्रण गर्छन् ।हाम्रा गाइने दाईहरु आजभोली कर्खा उनेर गाउँगाउँ र बस्तीबस्ती चाहार्न छोडेर व्यस्त सडक र शहर बजारका गल्ली तथा चोकहरुमा फाट्टफुट्ट रुपमा मात्रै देखिन थालेका छन् । राजधानीबाट बाहिर जाँदा होस् या बाहिरबाट राजधानी प्रवेश गर्दा नै किन नहोस् उनै अल्पसंख्यक गाइने दाईहरु मुग्लिन, तनहुँ तथा धार्केतिर भेटिनु अनि राजधानीको विदेशी पर्यटकहरुको अत्यधिक भीडभाडयुक्त ठमेल वरपरका क्षेत्रहरुमा केहि गाइने दाईहरुले सारंगी रेटेर जीवन गुजारा गरेको देख्नुलाई नै आजभोली गाइने दाईहरु समाजमा उपस्थित छन् भनेर मान्नु पर्ने प्रमाणहरु हुन् ।
यसैबीच केही दिनअघि हाम्रो समूहको यात्राको क्रममा पहिलेको नेपाल तर हालको भारतमा पर्ने पर्यटकीय शहर दार्जिलिङ बजारको चौरस्तामा खस नेपाली भाषामा नेपाली लयमा गीत गाउँदै गरेका एक गन्धर्व दाई भेटिए । दार्जिलिङ कञ्चनजंघा हिमालको काखमा पर्छ । पुरानो नेपाल र अहिलेको भारतमा अवस्थित दार्जिलिङ शहरमा सारंगी रेट्दै गीत गाएर जम्मा भएको थोरै पैसाले जीवन गुजारा गरिरहेका गाइने दाई भने नेपालको झापा जिल्लाका बासिन्दा रहेछन् ।
पुर्खौली थलो भोजपुर भएका ४३ वर्षीय रमेश गन्धर्व आफ्ना बुवाको पछि लागेर झापाको कचनकवल गाउँपालिका वडा नम्बर २ मा बसाई सरेका रहेछन् । आफ्ना हजुरबुवाको साथमा लागेर बाल्यकालमै गाउन सिकेका रमेशले सार्वजनिक स्थलहरुमा गीत गाउँदै आफ्नो परिवार पालिरहेको बताए । यसवर्षको होलीको दिन दार्जिलिङको चौरस्तामा जम्मा भएर होली मनाइरहेका आन्तरिक नेपाली भाषी तथा विदेशी पर्यटकहरुलाई नेपाली गीत गाएर मनोरञ्जन दिएका रमेशले अहिले भारतको दार्जिलिङमा पर्यटनको सिजन भएकोले गीत गाएर पैसा कमाउन दार्जिलिङ आएको जानकारी दिए ।
चौरस्ताको खुला मैदानको बीचमा भएको खस नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको पूणर्कदको शालिक वरिपरी होली मनाइरहेका मानिसहरुको भीडमा ‘ए कान्छा मलाई सुनको तारा झारी देऊ न, त्यो तारा मात्रै होइन जुन पनि झारी दिउंला’, ‘मोहनी लाग्ला है गाउलेको बोलीले’ बोलका गीत गाएर मनोरञ्जन दिएका रमेश गन्धर्वले आफूले सारंगी भिरेर गीत गाउँदै भारतका दार्जिलिङ, सिक्किम, कालिङ्पोङ, सहित भुटानसम्म पुगेको बताए ।
नेपालमा सारंगी बजाउँदै गीत गाएर पूर्वतिर झापा, बिर्तामोड, चारआली सहित विराटनगर, धरान, धनकुटा, गाईघाट, बेल्टार सहित मध्यतिर हेटौंडा, वीरगंज, नारायणघाट, काठमाडौँ, धुलिखेलसम्म पुगेको उनले बताए भने पश्चिमतिर मुग्लिन, दमौली, पोखरासम्म सारंगी रेट्दै पुगेको अनुभव रमेशले सुनाए ।
भोजपुरका पुरी गन्धर्वका नाती र झापाका कचनकवलका रामबहादुर गन्धर्वका छोरा रमेश गन्धर्वले श्रीमती र एकमात्र छोरालाई घरमा छोडेर गीत गाउँदै देश-परदेश घुम्दा कमाएको पैसा खर्चका लागि घरमा पनि पठाइदिन्छन् । हरेक वर्ष उनी पर्यकटीय सिजनमा दार्जिलिङ पुग्दा डेरा जमाएरै बस्दा रहेछन् भने दुइमहिना जतिमा झण्डै आधालाख जम्मा गरेर नेपाल फिर्दा रहेछन् ।
दैनिक रुपमा उनले सडकमा गाएका गीतहरु सुनेर स्वेच्छिक रुपमा दर्शक तथा स्रोताले उनलाई प्रदान गर्ने रकम नै उनको मुख्य आम्दानी रहेको हुन्छ । यसरी गीत गाएर दैनिक रुपमा उनले कमाउने भनेको पाँच सयदेखि १५ सयसम्म रहेछ । १५ देखि २० हजार नै महिनामा कमाई हुने गरेको बताउँदै गर्दा अरु नेपाली र विदेशीहरुलाई सिक्किम छिर्दा सिक्किमको राङपोमा पास देखाउनु पर्ने भएपनि राङपोमा पास बनाउन बसेका सिक्किम सरकारका कर्मचारीहरुले आफूलाई आफ्नो गीत सुनेर बिना पासै पनि माथितिर जान दिने गरेको बताए । ‘राङपोमा पास बनाउने पनि सबै हाम्रै नेपाली दाजुभाईहरु नै हुनुहुन्छ, सारंगी रेटेर गीत गाउँदै हिंड्दा मलाई त कसैले केहि भन्नुहुन्न’ उनले भने ।
नेपाल, भारत, सिक्किम, भुटान जहाँ भएपनि आफू गीत गाउँदै जाँदा संसार भरिका नेपालीहरुले उस्तै माया गरेको बताउँदै कमाई चाहिँ जहाँ गएपनि उस्तै हुने भएपनि भारतमा कमाएर नेपाल पस्दा भने भारतीय रुपैयाँलाई नेपाली बनाउँदा भने बट्टा बढी हुने भएकोले अलिकति केहि फरक भने पर्ने देखिने बताउँदै अर्को गीत सुनाउन उनी कस्सिए ।
दार्जिलिङबाट फर्केपछि ।