• मंसिर ९ २०८१, आईतवार

आगामी चुनावमा के चाहन्छ कांग्रेस, गठबन्धन दलहरुबीच तालमेल होला ?

चैत्र ७ २०७८, सोमबार

काठमाडौं । भित्रीरूपमा कांग्रेस गठबन्धनको पक्षमा छैन । तर, ओलीलाई पुनः प्रधानमन्त्री हुनबाट रोक्न देउवा पक्ष गठबन्धन भत्काउन चाहँदैन । देउवाले दाहाल र नेपाललाई ‘लतारेरै’ एमसीसी अनुमोदनमा सहमत गराए ।

निर्वाचनमा त्यसरी नै लैजान चाहन्छन् देउवा, दाहाल र नेपाललाई एमालेसँग नजिक हुन नदिने रणनीति देउवाको छ । फेरि वाम गठबन्धन भए २०७४ कै जस्तो परिणाम दोहोरिन सक्ने भएकाले देउवा उनीहरूलाई छोडिहाल्ने पक्षमा छैनन् ।

गठबन्धनकै आडमा निर्वाचन जितेर पुनः सत्ताको साँचो हात पार्ने चाहना देउवाको छ । उनले गठबन्धनका दललाई नचिढ्याउन नेताहरूलाई निर्देशन दिइरहेका छन् । देउवाले एक्लै ओलीलाई हराउन गाह्रो रहेको बताइरहेका छन् ।

देउवा एमाले र माओवादी मिल्न नदिन मात्रै गठबन्धन बचाउन चाहिरहेको बताउँछन् विश्लेषक साह । ‘देउवाले ओलीलाई रोक्नकै लागि मात्रै गठबन्धन चाहेका छन् ।

त्यसकारण उनी प्रचण्डलाई अलमल्याइरहेका छन्’, उनी भन्छन्, ‘ओली र प्रचण्डले गठबन्धन गरे भने २०७४ को जस्तै कांग्रेस हार्छ र म फेरि प्रधानमन्त्री हुन सक्दिन भन्ने देउवालाई छ ।’

देउवा गठबन्धन आफू अनुकूल मात्रै  राख्न चाहन्छन् । जसरी एमसीसी पास गराए, त्यसरी नै निर्वाचनमा जान चाहन्छन् ।

डा. कोइराला पक्षधरसहित युवा नेता तथा कार्यकर्ता गठबन्धनका पक्षमा छैनन् । विश्लेषक साह पनि कांग्रेसको एउटा धार भने गठबन्धनको पक्षमा नरहेको बताउँछन् ।

त्यो धारमा उपसभापति गुरुङ, महामन्त्री थापा, डा. रिजाललगायत युवा नेता छन् । डा. रिजालले गठबन्धन गर्न दुई अप्ठ्यारा रहेको उल्लेख गरेका छन् । पहिलो सधैं रूखमा मत दिनेले अरूतिर र पहिले कहिल्यै पनि मत नदिएकाले पहिलो पटक रूखमा मत दिँदैनन् ।

दोस्रो– महानगर बाहेक स्थानीय तहको टिकटको निर्णय स्थानीय तहमै हुने विधानको व्यवस्थाका कारणले पनि केन्द्रीय समितिले निर्णय गरेर गठबन्धन गर्न मिल्दैन ।

कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईं आफू गठबन्धनको पक्षमा नरहेको बताउँछिन् । ‘म व्यक्तिगत रूपमा गठबन्धनको पक्षमा छैन । यसले कांग्रेसलाई क्षति हुन्छ । त्यो उदाहरण चितवन र धनकुटामा नै छ’, नेतृ प्रसाईं भन्छिन् । केन्द्रीय कार्यसमिति बैठकले यस विषयमा निर्णय गर्ने उनको भनाइ छ ।

भन्छिन्, ‘स्थानीय तहको वडास्तरमा तालमेल गर्दा हुन्छ । माथि कुनै पनि हालतमा गर्नुहुँदैन ।’

देउवानिकट केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा औचित्य पूरा नभएसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउँछन् । गठबन्धन बन्नुको कारणबारे सबै स्पष्ट हुनुपर्ने नेता विश्वकर्माको भनाइ छ ।

‘गठबन्धन किन बन्यो ? त्यसको औचित्य पूरा भएको छैन । औचित्य पूरा नभएसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्छ’, उनी भन्छन् ।

एमालेलाई दोस्रो वा तेस्रो नबनाएसम्म गठबन्धनको औचित्व पूरा नहुने उनको भनाइ छ । ‘एमाले अझै पहिलो पार्टी बन्न सक्छ, हाम्रो उद्देश्य भनेको नै एमालेलाई दोस्रो वा तेस्रो पार्टी बनाउने हो’, उनी भन्छन्, ‘त्यसकारण त्यो उद्देश्य पूरा नभएसम्म गठबन्धन कायम राख्नुपर्छ भन्ने मेरो मत हो ।’

संघ, प्रदेश र स्थानीय तहमा गठबन्धन एक  भएर त्यो उद्देश्य पूरा गर्नुपर्ने उनको तर्क छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।