• बैशाख ९ २०८२, मंगलवार

‘पिर’ लाई पराजीत गर्न के गर्ने ?

फाल्गुन ३० २०७८, सोमबार

‘पिर’ गीतको संग्रहमाथि विगत २ दिनदेखि घनिभूत बहस भयो । जनयुद्धमा सहभागी एक छापामारको हैसियतले जनयुद्धको कथा बोलेको संग्रहमाथि बहसमा भाग लिनु रहर भन्दा पनि नैतिक दायित्वको विषय थियो ।

हिजो जनयुद्धप्रतिको निस्वार्थ लगाव, समर्पण र आजीवन गहिरो सम्मानको कारण जनयुद्धको मूल उद्धेश्य पुरा गर्न ‘पिर’ले उठान गरेका विषयहरुको गम्भिर समिक्षा गर्दै, रुपान्तरण र एकिकृत भई नयाँ विन्दुबाट अर्को क्रान्ति अपरिहार्य छ भन्ने मेरो दृष्टिकोण आज पनि प्रष्ट छ ।

छापामार यौनकर्मीको भूमिकामा रहेको छोटोे र सांकेतिक बिम्वात्मक क्लिप बाहेक अन्य विषयमा असहमति प्रकट गर्ने कुनै ठाउँ छैन । गीतिसंग्रहले जनयुद्धको विगत र वर्तमान मात्र बोलेको छैन, परन्तु देशको आजको अवस्था बारे सजीव कथा पस्केको छ । विषय प्रस्ट हुँदाहुँदै पनि विभाजित माओवादी पंक्तिका कतिपय सहयोद्धाहरुबाट अन्य मूल मुद्धाहरुलाई ओझेलमा पार्नेगरी यौनकर्मी छापामारको भूमिकाको विषयमा मात्र केन्द्रित भएर विरोधमा उत्रिनु दुःखद हो ।

त्यतिमात्र होइन एकातिर हामीले जनयुद्ध लडेर गणतन्त्र लिएकै कारण बोल्न, गीत गाउन पायौं भनेर स्वामित्व लिन खोज्ने अर्कोतिर हाम्रो तमाम कमजोरी विरुद्ध किन बोलिस् ? किन गीत लेखिस् भनेर औंलो उठ्याउने ? यो पक्ष चाहिँ माओवादी आचरणसँग मेल खाने खालको रहेन । अझै माओवादीको खोल ओढेका जातिवादी अहंकार र कुण्ठाले ग्रसित, मानवीय चेतना नभएका कतिपय कुपात्रहरुले फरक प्रसंगलाई जातीयतासँग जोडेर गरेको निकृष्ट टिप्पणी घृणित र खारेजयोग्य छ । त्यस्ता समाजका कलंकहरुलाई माओवादी, क्रान्तिकारी कम्युनिष्ट हुँ भन्ने अधिकार बिल्कुल छैन ।

तमाम गल्ती र कमजोरीलाई ढाकछोप गरेर क्षणिक स्वार्थ हेर्ने संसदीय कित्तामा संलग्न एउटा माओवादी पंक्ति र कमजोरी उजागर, पहिचान, समिक्षा, रुपान्तरण सहित दिर्घकालिन समाधानको बाटोमा अघि बढ्न चाहने संसदीय कित्ता भन्दा बाहिर रहेको अर्को माओवादी पंक्ति, भिन्न स्वार्थ र उदेश्य अनुरुप उभिएकोले दृष्टिकोण असमान देखिनु स्वभाविक हो । यद्यपि हिजो र आजको सच्चाईलाई सहर्ष स्वीकार गर्दै जनयुद्धको गौरवपूर्ण इतिहासको रक्षा गर्नु नै सबैको साझा दायित्व हो ।

क्रान्तिकारी कलाकारहरुले उजागर गर्नुपर्ने जनयुद्धको समग्र कथा र व्यथा, माया र पिरतीको झ्याउरे गीत गाउने पुँजीवादी कलाकारले उजागर गरिदिएकोमा बिरोध हैन धन्यवाद दिनुपर्छ ।

हिजो क्रान्तिको गीत गाउने कलाकारहरु आज जीवन गुजाराको निमित्त दोहोरी साँझहरुमा झ्याउरे गीत गाउन बाध्य भएको, जनयुद्ध लडेका हजारौं योद्धाहरु जीवन गुजाराको लागि विदेशका गल्लीहरुमा श्रम बेच्न बाध्य भैरहेको, कैयौं सोझा कार्यकर्ता देशभित्रै गिट्टी कुटेर जीवन धानिरहेको, घाइते र अपांग योद्धाहरु शरीर भरी गोली र बमका छर्रा बोकेर मृत्युसँग लडिरहेको, शहिद र बेपत्ताका परिवार बेसहारा भई बिचल्लीमा तड्पिरहेको, सेना र प्रहरीबाट विद्रोह गरी जनयुद्धमा सहभागी कैयौं योद्धाहरु आज भगौडा सैनिकको मुद्दा झेल्दै जेलभित्र थुनिएको, जनवादी अन्तरजातीय विवाह गरेका दर्जनौं लालजोडीहरुको वैवाहिक जीवन परिवार र समाजले अस्वीकार गर्दा दुःखद रुपमा टुङ्गिएको लगायत तमाम यावत विषयहरु गम्भिर र अपमानजनक छैनन् र ? सम्बोधन गर्न आवश्यक छैन ?

कार्यकर्ताको ठूलो पंक्ति आज यसरी चौतर्फी पिरैपिरको घेराभित्र बन्दी भैरहँदा नेतृत्वको एउटा पंक्ति अभाव, दवाव, तनाव र पिरबाट टाढा रहेर व्यक्ति गत जीवनमा फर्केको, आर्थिक, भौतिक, प्राविधिक तमाम सुविधा सहित विलासीपूर्ण निजी जीवनमा रमाइरहेको सत्य होइन र ?

जनयुद्ध कालमा पार्टीले सामन्तहरुबाट कब्जा गरेका हजारौं बिगाहा जमिन निजिकरण गर्ने, पार्टीको मातहत रहेको चल र अचल सम्पत्ति लुकाएर रातारात करोड पति बन्ने, जनमुक्ति सेनाको शिविरमा करोडौं आर्थिक हिनामिना गर्ने, जनमुक्ति सेनाका योद्धाले स्वैच्छिक अवकाश लिंदा राज्यले दिएको चेक खोस्ने, जनसेनाको पैसाले खोलेको जनमैत्री हस्पिटल बेचेर खाने जस्ता गैह्रमाओवादी चरित्रले नै ‘पिर’ जन्माएको होइन र ?

पार्टी भित्र छलफल एवम् अनुमोदन नै नगरी जनयुद्धको सारा उपलव्धिलाई धुलिसात पार्ने विस्तृत शान्ति सम्झौता, सेना सममयोजन एवम् हतियार व्यवस्थापन जस्ता संवेदनशील र गम्भीर विषय प्रचण्ड र बाबुरामको एकलौटी निर्णयबाट अघि बढाउँदा पार्टी विभाजन हुने अवस्था सृजित भएको र झनै पिर थपिएको तितो सत्य कतैबाट ढाकछोप गर्न सम्भव छ र ? मुल नेतृत्व थकित, स्खलित र एव बिचलित हुँदै गएपछि क्रान्ति आधा बाटोमा अलपत्र परेकोले नै पिरैपिर जन्मिएको भन्न अब किन डराउने ?

अन्तमा माओवादी हिजो आफ्नै खुबीले शक्तिशाली भएको थियोे । किन कि क्रान्तिकारी विचार, कार्यदिशा र नेतृत्व थियो । जब मुख्य नेतृत्वमा राजनीतिक बिचलन आयो त्यही बिन्दुवाट ‘पिर’ जन्मन सुरु भएको हो । अब विभाजित माओवादी बिच हानाहान गरेर काङ्ग्रेस र एमाले लगायत जनयुद्ध विरोधी तप्कालाई भरपुर खुशी बनाउनु बाहेक पिरबाट छुटकारा पाउन असम्भव छ । प्रचण्ड, बावुराम, वैद्य, विप्लव एक्लाएक्लै उभिएर पिरलाई पराजित गर्न सक्ने अवस्था छदै छैन ।

पिरको सामना गर्न निर्मम समिक्षा, रुपान्तरण, एकता र नयाँ अभियान नै अन्तिम विकल्प हो । माओवादी पंक्ति सच्चिंदै एकढिक्का भएर शक्तिशाली बन्ने वा झनै बिग्रिएर सिद्धिने ? त्यो माओवादी पंक्तिकै हातमा छ । वाह्य आलोचनाले नगन्य प्रभाव पार्न सक्ला तर निर्णायक अर्थ राख्दैन ।

तसर्थ पिरले उजागर गरेका तमाम प्रश्नहरुलाई ढाकछोप गर्दै कुलेलम ठोकेर क्षणिक आयु लम्ब्याउने गल्ती नगरौं । पिरमा छुटेका अन्य कैयौं प्रश्नहरुलाई समेत समेटेर गम्भीर समिक्षा गरौं । निजी स्वार्थको घेराभन्दा माथि उठेर रुपान्तरण हुने हिम्मत गरौं र एकढिक्का बनौं र पिरलाई पराजित गरौं । रुपान्तरण सहित एकढिक्का भएर पिरलाई पराजित गर्ने हैसियत बनाउन सकियो भने एकतावद्ध माओवादी शक्तिलाई वर्षौंसम्म कुनै तत्वले हल्लाउन सक्दैन । अन्यथा……. ।