• मंसिर ११ २०८१, मंगलवार

एमसीसीसँग किन जोडियो प्रकाश सपुतको नयाँ गीत पिर ? के छ यसमा ?

फाल्गुन २९ २०७८, आईतवार

एक युगमा एकदिन एकचोटी आउँछ
उलट पुलट, उथल पुथल हेरफेर ल्याउँछ ।

युग चेतनाका बाहक कवि गोपालप्रसाद रिमालले सिर्जना गरेको यो कवितालाई  जनवादी संगीतकर्मी रामकृष्ण दुवालले संगीत प्रदान गर्नुभयो भने अग्रज गायकद्वय गोविन्द दुवाल र राजन राईले यसलाई गाउनु भयो । पछि यस गीत कवितालाई वरिष्ठ जनवादी गायक रामेश र रायनको आवाजमा पनि जनताले सुनेका छन् । राजनैतिक होस् वा अन्य कुनै परिवर्तनको कुरा गर्नु पर्दा नेपालीहरु मात्रै होइन लगभग दक्षिण एशियाकै मानिसहरु यो गीतलाई सम्झने गर्छन् । गीतले भनेजस्तै साँच्चै एक युगमा एक दिन एकचोटी नै आउँछ र त्यस दिनले उलेट पुलट उथल पुथल हेरफेर ल्याउँछ । त्यस्तो अवस्थामा लाटासोझा सोझा बोल्न थाल्छन् चल्छ ओठ दुःखको ।

नेपाली समाजमा दमित आवाजहरुको प्रतिनिधित्व गर्ने परिवर्तनकामी सो गीतले भने जस्तै नेपालको आधुनिक युगमा त्यो एकदिन पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा आएको थियो सायद । पछि त्यो दिन माओवादी जनयुद्धको सुरुवातको दिन २०५२ साल फागुन १ गते आएको थियो । आज नेपालले जे राजनैतिक व्यवस्था संचालन गरिरहेको छ सो व्यवस्था त्यही एक युगमा एकचोटी आएको माओवादी जनयुद्धको प्रतिफल हो ।

यद्यपी जनयुद्ध नेपालमा पूर्णरुपमा सफल भने हुन सकेन वा युद्ध हाक्ने सारथीहरुले युद्धलाई सफल बनाउन सकेनन् । तर नेपालमा अहिले समाजको जुन राजनैतिक तथा सामाजिक चेतनाको विकास भएको छ त्यो भने माओवादी जनयुद्धको नै योगदान हो भनेर सो युद्धका विरोधीहरुले समेत भन्ने गरेको देखिन्छ । सो जनयुद्धले नेपालमा रहेर जनतालाई युगौंदेखि शोषण गरिरहेको एकात्मक राजतन्त्र हटाएर संघीय गणतन्त्र स्थापना गर्यो । नेपाली समाजमा हेपिएका र दबाइएकाहरुको प्रतिनिधित्व गरेर जनयुद्धले समाजमा जुन मान्यता स्थापित गरेको छ, सो को पूर्ण मुल्याङ्कन गर्नेबेला अझै भएको छैन भनेर पनि कसैकसैले भन्ने गर्छन् भने यसको मुल्याङ्कन गर्ने समय भइसक्यो भनेर पनि कसैले भन्ने गरेका छन् ।

नेपाली समाजलाई विश्वभरि चिनाएको जनयुद्ध इतिहासको धेरै पछिसम्म पनि चर्चा तथा परिचर्चा भने होइजाने देखिन्छ । यसैबीच चर्चित लोकदोहोरी गायक प्रकाश सपुतले त्यही माओवादी जनयुद्ध सम्बन्धित एउटा गीत सार्वजनिक गरेका छन् । गीतको शिर्षक राखिएको ‘पिर’ । गायक प्रकाश सपुतको पिरमा जनयुद्धमा घाइते भएका र नेताहरुले असरल्ल छोडेर अलपत्र परेका एक जोडीको दुखान्त कथालाई देखाइएको छ । गीतको भिडियो समेत बनाएर सामाजिक संजाल युटुवमा राखिएको छ ।

जनयुद्धको समयमा जनवादी विवाह गरेका एकजोडी कुनै शहरमा युद्धमा घाइते भएका आफ्ना शरिर लिएर आफूहरुकी एउटी छोरीको साथमा जीवन गुजारा गर्ने प्रयास गर्दा यो देशमा गरेको परिश्रमले जीवन चल्ने छाँटकाँट नदेखेपछि श्रीमतीले श्रीमानलाई विदेश जान आग्रह गर्छिन् तर श्रीमानले आफू खाना नपाई मरेपनि यही देशमा मर्ने भनेर विदेश जान मान्दैनन् । श्रीमान विदेश जान नमानेपछि श्रीमती आफै विदेश जान्छिन् । कमाउन विदेश गएकी श्रीमतीलाई कसैले तीन महिनासम्म बन्धक बनाएर राखेको हुन्छ ।यता श्रीमानलाई सो कुराको पत्तो हुँदैन ।

महिनौंसम्म श्रीमतीबाट बिछोडिंदा श्रीमान एक वेश्यावृित्त गर्ने महिलाको सम्पर्कमा पुग्छन् । ती वेश्यावृत्तिमा लागेकी महिला उनकी जनयुद्ध कालकी सहकर्मी हुन्छिन् । उनीहरुको कोठामा पुगेपछि चिनजान हुन्छ । चिनजान भइसकेपछि केहि नगरेर एकापसमा लज्जित हुँदै उनीहरु आ-आफ्नो बाटो लाग्छन् । त्यसपछि श्रीमान घर आउँदा टेलिभिजनको समाचारमा विदेशमा आफ्नी श्रीमती तीन महिनादेखि बन्धक बनेर रहेको थाहा पाउँछन् । श्रीमतीको उद्धार गराउन उनी श्रीमती विदेश पठाउने कम्पनीको कार्यालयमा जान्छन् । कम्पनीको मालिकले उल्टै उनलाई नै हप्काएको देखिन्छ ।

त्यसपछि श्रीमतीको उद्धारको लागि उनी सरकारी कार्यालयमा जान्छन् । जहाँ उनका नेता जो उनीहरुको जनवादी विवाहको मुख्य अतिथि रहेका थिए उनी त्यहाँ मन्त्री रहेका हुन्छन् । आफ्नै कार्यकर्ताकी श्रीमती तथा जनमुक्ति सेनाकी पूर्वसदस्य विदेशमा बन्धक भएको खबर पाउँदा पनि ती नेता केहि वास्तै गर्दैनन् । कतिसम्म भने उनले आफ्नै कार्यकर्ताहरुलाई चिनेपनि नचिनेको जस्तो गर्छन् । श्रीमानले आफ्नी विदेशमा बन्धक भएकी श्रीमतीलाई उद्धार गरिपाउ भनेर उनले हालेको निवेदन ती मन्त्री भएका नेताले गाडीबाट बाहिर हुत्याइदिन्छन् र कडा सुरक्षा पहराका बीचबाट उनी गइहाल्छन् । श्रीमती विदेशमा बन्धक भएका श्रीमान निरास हुँदै घर पुग्छन् । एकमुठी माटो समातेर कतै जान लाग्छन् । सो गीतमा व्यक्त भएको मुलभूत कथा यस्तै हो ।

अब लागौं गीतको भिडियोमा देखाइएका परिदृश्य तथा एक एक विषयवस्तु तर्फ । भिडियोको सुरुमा कुनै समाचार माध्यममा समाचार बजिरहेको हुन्छ, समाचार यस्तो छ, ‘तत्कालिन माओवादीको नेतृत्वमा देशमा सशस्त्र युद्ध भयो, जसको बलमा मुलुकमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी लगायतका ऐतिहासिक परिवर्तन भए तर व्यवस्था बदलिए पनि परिवर्तनका लागि लड्ने योद्धा र आम नागरिकको अवस्थामा भने अपेक्षित परिवर्तन आउन सकेन । बरु व्यवस्था बदलिए सँगै देश बदल्न सरकार र संसदमा गएकाहरु आफै बदलिए । दशवर्षे युद्धको नेतृत्व गरेकाहरु विभिन्न स्वार्थ र विचारमा विभाजित भए । आज नेकपा माओवादी त्यो बेलाको माओवादी रहेन ।’ परिवर्तन नाम गरेको मासु पसलमा यो समाचार एउटा टेलिभिजनमा बजिरहेकाे हुन्छ ।

जनमुक्ति सेनाको पूर्वसदस्यको सो परिवर्तन मासु पसलमा आफ्नो घाइते शरीर लिएर खोच्याउँदै त्यस पसलका संचालक मासु काटिरहँदा सो समाचार एउटा टेलिभिजनमा बजिरहेको दृश्य भिडियोमा देखाइन्छ । साँझ पसल बन्द गर्ने बेला भएको हुन्छ भने सोही समयमा एउटा ट्याक्सी चालक आएर खुट्टा खोच्याउने युद्धका घाइतेकाे मासु पसल संचालकलाई सटर बन्द गर्न सहयोग गर्छन् । पसल बन्द गरिसकेपछि पसले र ट्याक्सी चालकबीचमा वार्तालाप हुन्छ ।

पसलेः (उसलाई मासु दिंदै) के छ त कमाई ?

ट्याक्सी चालक: ट्याक्सीमा राम्रै हुन्छ नि । (पसलेले दिएको मासु लिंदै) यही हो कि त ।

पसलेः ल यसो सितन है ।

यति वार्तालाप पछि मासु पसले खुट्टा खोच्याउँदै घर पुग्छन। घरको एकदम नजिक पुग्दा उनकी श्रीमती र उनीहरुले कोठाभाडामा लिएर बसेकी घरधनीको बीचमा भएको वार्तालाप नपथ्यमा सुनिन्छ ।

घरधनीः  खाना पाक्यो बैनी ?

पसलेकि श्रीमतीः  पाक्न लाग्यो दिदी

घरधनीः  भाई आउनु भा छैन ?

पसलेकी श्रीमतीः  आउने बेला भयो

घरधनीः  कोठाभाडा पुर्याइदिन भन्नु है, तीनचार महिना भइसक्यो

पसलेकी श्रीमतीः  हुन्छ म कुरा गर्छु

पसले आफ्नो कोठा भित्र पस्छ अनि श्रीमान श्रीमतीबीचमा वार्तालाप हुन्छ

श्रीमतीः  कतिको मासु बेच्यौ बुढा ?

पसलेः  के को मासु बेच्ने हो ? बर्ड फ्लुको हल्लाले मान्छेले कुखुराको मासु खाने छोडे, त्यही पाँच सात केजी गयो कि ।

श्रीमतीः  दिनभरिमा यति मासु बेचेर कहिले उँभो लाग्ने हो ?

पसलेः  त्यही भएर पसल बेचेर ट्याक्सी निकालम भन्ने सोचेको

श्रामतीः  ए फेरि नयाँ सोच आइसक्यो ? सात वर्षमा सातथरि सोच आइसक्यो उँभो लाग्ने केहि गरि होइन (भान्सामा काटिरहेको मुला खाँदै) अब ट्याउसी किनेर शहरका सेउसी बोकेर उँभो लागिएला ? खुरुक्क विदेश जान छोडेर ।

पसलेः  मैले कति पटक भनिसके, म विदेश जान्न भनेर ? भोकै मर्नपरे पनि यही देशमा मर्छु ।

श्रीमतीः  (जंगिदै) अनि छोरीलाई पनि भोकै मार्छौ ? (छेउमा सुतेकी छोरी देखाउँदै) हामीलाई छैन देशको माया ? (श्रीमान श्रीमती एक आपसमा मुख हेरारेर गरेपछि) (आफ्नो कोखमा लागेको घाउँ देखाउदै) यी देश र जनताको लागि भनेर गोली खाको होइन ? के पाइयो खोइ ?

पसलेः  गणतन्त्र

श्रीमतीः  (घाउ तोर्दै उता फर्किंदै) नापियो ! न मेरा बाउ आमाले तिमीलाई ज्वाइ स्विकारे, न मैले छोरीलाई पेटभरि दुध खुवाउन सके, न तिमीले छोरीलाई पेटभरी भात खुवाउन सक्यौ ।

पसलेः (विस्तारै सानो स्वरले) गणतन्त्र, गणतन्त्र भन्छ

श्रीमतीः (श्रीमानतिर चोर औंला देखाउँदै) खुरुक्क विदेश जाऊ नत्र म जान्छु

श्रीमानः (जंगिदै) गए हुन्छ त

श्रीमतीः (झन जंगिदै) जान्छु त भन्या छु नि आइमाई जान हुँदैन र ? (भान्सामा काम गर्दै) गा’छन् तै, गरेर पनि खाछन (ठुस्किएर बाहिर जाँदै) खुरुक्क पासपोर्ट बनाइदेऊ मलाई ।

दृश्यमा उनीहरूकी छोरी ओछ्यानमा ब्युझिन्छिन् । छोरीको निर्दोष बाल अनुहारले एकोहोरो हेरिरहन्छ । बाहिर गएकी श्रीमती घाइते शरीरले धारा चलाउन सक्दिनन् । उनलाई आलस तालस हुन्छ । श्रीमान झ्यालबाट हेर्छन । त्यसपछि संगीत बज्छ अर्थात् श्रीमानले गीत गाउन थाल्छन

बस्नेलाई पिर परेर हुनसम्म भछ
जानेलाई नजाऊ भन्न नसकिने रछ
तिम्रो मायाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाती चिरदियो
ऐया ऐया

गीत गाइरहँदा टेम्पोमा चढेर राहदानी विभागसम्म छोरीलाई लिएर श्रीमान श्रीमती गएको दृश्य देखाइन्छ । राहदानी बनाउएर देशबाट बेचिन लागेका युवाहरुकाे पट्यार लाग्दो पंक्ति, राहदानीको लागि तस्विर खिचाएको दृश्य, पंक्तिमै बसेर चिया खाएको दृश्य मात्रै होइन राहदानी बन्दाको खुशी समेत भिडियोमा देखाइन्छ । मासु पसल बेचेर आएको सबै पैसा र राहदानी मानिस विदेश पठाउने कम्पनीलाई बुझाउदाको दृश्य भिडियोमा देखिन्छ । भिडियोमा तीनजनाको परिवार बसेर खाजा पसलमा म:म खाँदा श्रीमतीले व्यक्त गरेको माया, विदेश जान भनेर श्रीमतीले डेरा छाड्नु भन्दा पहिले कोठामा सरसमान मिलाएको देखिन्छ । यही बीचमा श्रीमानले गीत गाउँछ ।

हुँदा तिमी परपर छाती चरचर
फूल टिपेर दिन्थे तर यो मन खुशी छ र ?
तिम्रो मायाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाती चिरदियो
ऐया ऐया

गीत बज्दै गर्दा तीनजनाको परिवार छोरीकी आमा र श्रीमानकी श्रीमतीलाई विदेश पठाउन काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेको दृश्य देखिन्छ । महिला अर्थात् जनमुक्ति सेनाकी पूर्वसदस्य घाइते महिला सानी छोरी र आफ्ना श्रीमानलाई छोडेर विमानस्थल बाहिर वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको लाइनमा जान्छिन् । यसैबीच विदेश जाने पूर्वछापामार गीत गाउँछिन् अर्थात् महिला आवाजमा गीत बज्छ ।

अभावै अभावले हाम्रो घाँटी अठ्यायो
परस्थितिले मलाई विदेश पठायो
तिम्रो मायाले मलाई पिर दियो
कमलो मुटु कमलो छाती चिरदियो

सानी छोरीले विमानस्थलमा आमालाई पछ्याएको दृश्य भिडियोमा देखाइन्छ । दृश्यमा विमानस्थलबाट श्रीमान श्रीमती एकापसमा लालसलाम गरेर छुटिन्छन् ।

यहाँसम्म आइसक्दा सो भिडियोको पहिलो भाग सकिएको मान्न सकिन्छ । श्रीमती विदेश गइसकेपछि अब परिवारमा बाबु र सानी छोरी रहन्छन् । सो पसलेको कोठा र हातमा कम्युनिष्ट पुस्तकहरु राज्य र क्रान्ति अनि विश्व कम्युनिष्ट आन्दोलनको इतिहास जस्ता पुस्तकहरु देखिन्छन् । कुनै बेला उसले ती पुस्तक पढेको पनि दृश्य देखिन्छ । यही सिलसिलामा पसलेले छोरीलाई विद्यालय पठाउदाको दृश्य देखिन्छ । उता विदेश गएकी श्रीमती परिवारको सम्पर्कमा आएकी हुदिनन् । तीन महिनासम्म विदेश गएकी उनकी श्रीमती परिवारको सम्पर्कमा नआएको भिडियोले भन्छ । अब यहाँ कथाले अर्कै मोड लिन्छ । श्रीमती विदेश गएको अवस्थामा लोग्ने अर्थात् श्रीमान कुनै दलाल जस्तो लाग्ने नजिक नजिकको साथिसँग ऊ एउटा खाजा पसलमा रक्सि खाँदै गर्दा दृश्यमा देखिन्छ । रक्सी खाँदै गर्दा उनीहरुको वार्तालाप हुन्छ ।

दलाल साथी: भनेसी फोनसोन आ’छैन ?
पसलेः अहँ
दलाल साथीः कति भयो गएको ?
पसलेः (हातका तीनवटा औंला देखाउँदै) तीन महिना भो नि ।
दलाल साथीः एसो पिर बिसाउने हो त ? (एक प्याक रक्सि तान्दै) (महिला जनाउने इशारा गरेर कर गर्दै) जाम केहि हुन्न, केहि हुन्न ।

फेरि पुरुष आवाजमा गीत बज्छ ।

पिर बिसाउने ठाँवै छैन काँ चौतारी चिनम
मुन्छे बन्न मुस्किल भयो के बनेर हिनम

गीत बज्दै जाँदा दलाल साथी र मासु पसले दुईजना आफ्ना यौन ग्राहक खोजिरहेकी एक यौन व्यवसायी महिला उभिइरहेको काठमाडौँको नयाँ बसपार्क बाहिर विष्णुमती खोलामा भएको पुलजस्तो देखिने पुलमा पुग्छन् । दलाल साथी उनीहरुको भेट भएपछि कारोबारको व्यवस्था गरेर अन्तै जान्छ भने यौनकर्मी महिला र पसले यौनकर्मी महिलाको कोठामा पुग्छन् ।

कोठामा पुग्नु भन्दा पहिले यौनकर्मी महिला र ग्राहक दुबैले मुखौटो लगाएको हुनाले बाहिर रहँदासम्म उनीहरुले एक अर्काको अनुहार देखेका हुँदैनन् । जब कोठामा पुगेर दुबैले मुखौटो खोल्छन तब एक अर्कालाई चिनेर झल्याँस्स हुन्छन् । विषय र रहस्यको पर्दा खुल्छ । भिडियोमा यौनकर्मी बनेकी महिला र ग्राहक बनेर गएका पुरुष जनयुद्धको समयमा एउटै मोर्चामा काम गरेका जनमुक्ति सेनाका सदस्यहरु हुन्छन् । ग्राहक बनेर गएका ती पुरुषको र विदेश गएकी महिला बीचमा भूमिगत समयमा भएको जनवादी विवाह समारोहमा अहिले यौनकर्मी बनेकी महिला उतिबेला विवाह समारोहको संचालक भएको पुरानो याद उनीहरुको सम्झनामा ताजा भएर आउँछ ।

उनीहरु कुनै कर्म नगरेर एकापसमा लज्जित हुँदै लालसलाम गरेर छुटिन्छन् । जनवादी विवाह समारोहमै भिडन्त हुँदा आफूहरु घाइते भएको घटना समेत उनीहरु सम्झना पुग्छन् । भिडन्त हुँदा सदस्यहरुलाई रणमैदानमै छोडेर कमाण्डर भागेको दृश्य पनि भिडियोमा देखिन्छ । सो स्थानबाट ती पुरुष घर फर्किंदै गर्दा ती युद्ध मैदानबाट भागेका नेताको गाडीले सडकको हिलो उनको शरिरमा छ्याप्छ । नेतालाई ती पुरुषले चिन्छन् । नेता सुविधा सम्पन्न जीवन बिताएर विलासी गाडीमा हुइँकिएको हुन्छ । एकापसमा हेराहेर हुँदा नेताले पनि आफ्नो पूर्वसदस्यलाई चिनेपनि नचिनेको स्वाङ पार्छ । यस्तो दृश्यमा ती पुरुष गीत गाउछन् ।

एउटै घटना कोहिलाई फाइदा, कोहीलाई भयो हानी
कतै मर्यो आत्मसम्मान, कतै स्वाभिमानी

घर आइपुग्दा टेलिभिजनमा समाचार बजिरहेको हुन्छ । आफ्नी आमालाई टेलिभिजनको समाचारमा उनकी सानी छोरीले देखिरहेकी हुन्छिन् । उनकी विदेश गएकी आमाले एउटा भिडियो सन्देश सार्वजनिक गर्दै विदेश गएको दिनदेखि तीन महिनासम्म आफूलाई बन्धक बनाएर राखिएको भन्दै उद्धार गर्न अनुनय विनय गरिरहेकी हुन्छिन् ।

श्रीमान आफ्नी श्रीमतीको उद्धार गरिदिन भनेर उनलाई विदेश पठाउने कम्पनीको मालिक कहाँ पुग्छन तर कम्पनीको मालिकले उल्टै उनलाई हप्काउन खोज्दा कार्यालयमा अलिकति लफडा समेत हुन जान्छ । घरमा आएर छोरीसँग रुनुको विकल्प उनले केहि देख्दैनन् ।श्रीमान अब विदेशमा बन्धक भएकी आफ्नी श्रीमतीलाई उद्धार गराउन मन्त्रालयमा पुग्छन् । मन्त्रालयमा उनै नेता जो उनको विवाहमा प्रमुख अतिथि रहेका थिए र युद्ध मैदानबाट भागेका थिए, मन्त्री रहेका हुन्छन् । श्रीमतीलाई उद्धार गरिपाउँ भन्दै उनले मन्त्रि समक्ष निवेदन हाल्छन् । निवेदनको साथमा ती मन्त्रीसँग युद्धमा भएको बेला सँगै रहेको तस्विर पनि उनले पठाएका हुन्छन् । पुरुषले गरेको लालसलामको अभिवादनको पनि वास्ता नगर्ने ती मन्त्री उनले हालेको निवेदन हेरे जस्तो न नहेरेजस्तो गर्छन् । कडा सुरक्षा व्यवस्थाको बीचबाट मन्त्री गाडीको लावालस्करमा जान्छन् । श्रीमतीलाई उद्धार गर्न श्रीमानले हालेको निवेदन मन्त्रीले गाडीबाट बाहिर हुत्याइदिन्छन् । बुवाको साथमा गएकी उनकी छोरीले गाडीबाट बाहिर हुत्याइएको सो निवेदन भुइँबाट हातमा लिन्छिन् । पुरुषले गीत गाउँछन् ।

आफ्नै विचार वैरी भयो, काँ जाम कता भागम
ज्यानकै बाजी थापेको थे कल्लाई हिसाब मागम
तिम्रो मायाले मलाई पिर दियो ।

गीत गाउँदै छोरीसँग आफ्नो डेरामा आउँदा आफ्नो विगतमा विवाह गरेका, युद्ध लडेका, श्रीमतीसँगका विगत सम्झँदै उनीहरु डेरामा पुग्छन् । डेरामा पुग्दा पनि तिनै विगतका दिन सम्झँदै जनयुद्धका बेला खिचिएका तस्विरहरु हेर्न थाल्छन् ती पुरुष । ती पुरुष आफ्ना कोठामा रहेका सरसमान एउटा बाकसमा कोचेर कतै जाने सुरसार कस्छन् । यतिकैमा बाबुछोरीबीच वार्तालाप हुन्छ ।

छोरीः बाबा
बुवा: हँ
छोरीः हामी काँ जान लाको ?
बुवा: यो देशलाई तिम्रो आमाले र मैले धेरै माया गरिम छोरी, ज्यानकै बाजी थापेर माया गरिम । तर हामीले लिन जानेनम् कि देशले दिन जानेन कुन्नि यो देशको माया कहिल्यै महशुस गर्न पाइएन, त्यसैले यो देश छोडेर जाने छोरी । (यति भन्दै पुरुष दुईमुट्ठी जमिनको माटोआफ्नो रुमालमा बाँध्छन्) बिरानो देश न माया लाग्ला न आस ।
छोरीः बाबा
बुवाः हँ
छोरीः देश भनेको के हो ?
बुवाः हँ
छोरीः देश भनेको के हो ?
बुवा: (घोरियर टोलाउँदै, सासै अड्किए झैं गरेर) साँची के हो देश भनेको ?

यति वार्तालाप पछि बाबुछोरी काठमाडौँको नयाँ बसपार्क भित्र पुग्छन् । पुरुष गीत गाउँछन्

देश भन्नु त के नै छ र ? चार किल्लाको माटो
त्यो माटो नि उनकै भयो, जो छन टाँठो बाठो
तिम्रो मायाले मलाई …..

गीत गाउँदै बसपार्क भित्रबाट कतै जाँदै गर्दा बाबुछोरीको वार्तालाप हुन्छ ।

छोरीः बाबा
बुवाः हँ
छोरीः अब आमासँग कहिल्यै भेट हुन्न ?
बुवाः खै हुन पनि सक्छ, पृथ्वी गोलो छ भन्छन् ।

अब उनीहरुको भेट होला कि नहोला भन्ने जिज्ञासा पाठक दर्शक माझ छोड्दै भिडियो सकिन्छ । उनीहरुको भेट हुने नहुने कुराको उत्तरको लागि ‘पिर’ भाग-२ पिरै पिर हेर्नलाई प्रतीक्षा गराउँदै भिडियो सकियो । सामाजिक संजाल युटुवमा सार्वजनिक भएको दुईदिन पुरा नहुँदै सो भिडियो युटुवको ट्रेण्डिङ्ग नम्बर १ मा पुगेको छ । यी पंक्तिहरु लेखिंदा सम्म साे भिडियोलाई बीसलाख भन्दा बढीले हेरिसकेका छन् भने १८ हजार भन्दा बढीले भिडियो हेरेर प्रतिक्रिया दिएका छन् ।

माथि सुरुमा पनि भनियो एक युगमा एक दिन आउने, त्यो दिन २०५२ साल फागुन १ गते थियो । क्रान्ति पूर्ण रुपमा सफल नभएको हुनाले सो क्रान्तिले बोकेका कयौं सपनाहरु बीच बाटोमै रहेका छन् । भिडियोमा देखाइएका केहि दृश्यहरुप्रति माओवादी जनयुद्धबाट आएका योद्धा तथा माओवादी संस्कृतिकर्मीहरुले सामाजिक संजालहरुमा व्यापक रुपमा विरोध गरेका छन् । माओवादी संस्कृतिकर्मीहरुमध्ये जनयुद्धका चर्चित तथा सर्वाधिक लाेकप्रिय जनवादी गाएक मोहित श्रेष्ठ, लेखक तथा साहित्यकार खेम थपलियादेखि माओवादी जनयुद्वका प्रमुख नेता प्रचण्ड नेतृत्वको पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह लगायत माओवादी नेता तथा कार्यकर्ता तथा शुभचिन्तकहरुले सो भिडियोमा देखाइएका केहि दृश्यहरूबारे विरोध गरेका छन् र आपत्ति समेत जनाएका छन् ।

माथि उल्लेख गरिएको भिडियोको पूर्वजनमुक्ति सेनाकी महिला सदस्य यौन व्यवसायमा लागेको दृश्यमाथि टिप्पणी गर्दै उनीहरुले सो भिडियो सो दृश्यलाई विरोध गरेको सहजै ठम्याउन सकिन्छ । प्रकाश सपुतको भिडियोको सो दृश्यलाई माओवादी स्रस्टाहरुमध्ये कसैले बिम्वको विद्रुपिकरण भनेका छन् भने कसैले सो भिडियो युटुवबाट हटाएर प्रकाश सपुतले माफी माग्नुपर्ने पनि भनेका छन् । लेखक तथा साहित्यकार खेम थपलियाले त सो ‘पिर’ लाई एमसीसीको दुष्परिणाम समेत भनेका छन्। जनयुद्धका कर्तामध्येका एक महत्वपुर्ण नेता डा. बाबुराम भट्टराईले भने सो गीतको भिडियोको पुरै समर्थन गरेका छन् ।

सो गीतको भिडियोको समर्थन र विरोध भइरहेपनि सो भिडियो केवल एक सामान्य गीतको भिडियो मात्रै नभएर एक युगमा नेपाली युवाहरुले देशकाप्रति, क्रान्ति र परिवर्तनकाप्रति गरेको त्याग तपस्या तथा कुर्वानीको एक प्रदर्शन रहेको कुरामा कसैको बिमती भने रहेको छैन । विरोध गर्नेहरुले पनि त्यही एउटा परिदृश्यको मात्रै विरोध गरेका छन् भने पिरमा उठान गरिएका अरु विषयवस्तुलाई समर्थन गरेर सान्दर्भिक भनेका छन् । शब्द सिर्जना, संगीत सिर्जना मात्रै होइन गीत गायन, भिडियोको कथा निर्देशन, निर्देशन, निर्माणका साथै अभिनय समेत प्रकाश आफैले गरेका छन् । प्रकाशको साथमा गीतमा महिलाको स्वर सम्झना भण्डारीको रहेको छ भने अभिनय तर्फ सुरक्षा पन्त, केशु पुनमगर ‘केशरी’, लोकेन्द्र लेखक, पुष्प अवस्थी, विशाल घिमिरेको साथमा बालकलाकारको रुपमा प्रविष्टी विश्वकर्मा रहेकी छिन् ।

सो गीतको भिडियोमा अभिव्यक्त दृश्यहरुमध्ये जनयुद्धका घाइते जोडीहरु नेताहरुले बेवास्ता गर्दा गरिखानु न मरिजानु भएको मूल दृश्यले सुरुमै मानिसहरुको मन छुन्छ। जमिनबाट साँचिकै देशको लागि, परिवर्तनको लागि निस्वार्थ रुपमा लडेका योद्धाहरुलाई नेताहरुले असरल्ल छोडेर आफू सुविधा सम्पन्न ठाउँमा पुग्दा कसरी भुलेका छन् भनेर देखाइएको छ। स्वार्थी नेताहरुले आफू उच्च पदमा पुग्दा आफूलाई सो पदमा पुर्याउने कार्यकर्ताहरुलाई अहिले कसरी वेवास्ता गरेका छन भनेर भिडियोमा देखाइएको छ।

पिडित कार्यकर्ता तथा योद्धाहरु जस्ताेसुकै अवस्थामा पनि आफ्नो आदर्शबाट विचलित नभएर ‘राज्य र क्रान्ति’ तथा ‘विश्व कम्युनिष्ट आन्दोलनको इतिहास‘ नामका पुस्तकहरु पढिरहेको देखाइएको छ। देशप्रतिको जुन माया जनमुक्ति सेनाको पुर्व सदस्यमा रहेको देखाइएको छ, त्यसले आफ्नो स्वार्थको लागि राष्ट्रघाती कामहरु समेत गर्न पछि नपर्ने, आफ्नो पदको लागि विचार र सिद्धान्त बेचेर खाने नेताहरुलाई थोरै भएपनि छोएको हुन सक्छ।

भिडियोमा एक देशभक्त कार्यकर्ताले तीन महिनासम्म आफ्नो एउटा कोठाको भाडा तिर्न नसकेको दृश्यले राज्यको सम्पतीमा करोडौंको लुटपाट गर्ने र अरबौंको महलमा बसेर वर्ग परिवर्तन गर्ने ती बेइमान स्वार्थी र ढोंगी नेताहरुलाई भने गिज्याइरहेको छ। नेपालका युवाहरु भीडका भीड लागेर राहदानी बनाउने लाइनमा बसिरहेको दृश्यले त यी राष्ट्रघाती नेताहरुलाई छुदै छुदैन। आफ्नो भएको सानो व्यवसायको सिरीखुरी बेचेर श्रीमतीलाई विदेश पठाउदा एक घाइते योद्धाको भक्कानिने मनले सरापेर नै होला सायद ती स्वार्थी र ढोंगी नेताहरुको अव विस्तारै उधो गति पनि भएको देखिंदै छ।

भिडियोमा बिमानस्थलमा आफ्नी विदेश जान लागेकी आमालाई एक बालिकाले पछ्याएको दृश्यले जुनै मानिसको पनि आँखामा आँशु ल्याइदिन सक्छ। छोरीलाई विद्यालयमा पठाउदा अर्को कुनै पात्रले आफ्नी छोरीलाई पठाउने तरिका र घाइते योद्धाले आफ्नो छोरीलाई पठाउने तरिकाको दृश्यले त झन क्रान्तिकारी योद्धा हुनु भनेको अभावको जिन्दगी झेल्नु रहेछ भन्ने मानिसलाई बनाउछ। आफ्नै नेता मन्त्री भएको स्थानमा विदेशमा बन्धक भएकी श्रीमतीको उद्धारको लागि निवेदन हाल्दा सो मन्त्री भएको लडाईको समयको कायर नेताले उल्टै सो निवेदन गाडीबाट बाहिर हुत्याइदिंदा सो नेतालाई फाँसीमा लटकाएर अर्को कुनै देशभक्त र जनपक्षीय नेतालाई सो कुर्सीमा बसाल्न पाएहुन्थ्यो भन्ने भाव भिडियो हेर्ने दर्शकको मनमा आउने गर्छ।

चारैतिरबाट अपहेलना, तिरस्कृत हुँदा समेत यो देशको माया मुटुमा राखेर एकमुठी माटो रुमालमा बाँधेर कतै बिरानो मुलुकका जाँदै गरेको योद्धालाई देख्दा कसको मन नभक्कानिएला ? भिडियोमा छोरीले देश भनेको के हो ? भनेर एक अबोध र निर्दोष बालिकाले प्रश्न गर्दा खास देश भनेको के हो त भनेर उत्तर दिन नसकेको बुवाको अनुहार हेरेर हामीले उल्टै यहाँका स्वार्थी र धोकेबाज नेताहरुलाई सोध्नुपर्ने हुन्छ, के हो देश भनेको ? के देश भनेको यै हो ? जहाँ राष्ट्रघातीहरु सत्तामा र देशभक्तहरु भोकै बस्नुपर्ने हुन्छ। के देश भनेको यै हो ? जहाँका युवाहरु विदेशमा र बुढाहरु मात्र स्वदेशमा रहेका हुन्छन ? के देश भनेको कसैलाई स्वर्ग र कसैलाई नर्क हुन्छ ?

गीतको सिर्जनामा पुरै ध्यान दिएको जस्तो देखिए पनि त्यसको भिडियो निर्माण, तथा पात्र र परिवेश सिर्जना गर्नमा भने प्रकाश सपुतको कमजोरी नै देखिन्छ। देशमा चेतना बाँड्दै हिड्ने, परिवर्तनको उज्यालो छर्दै हिड्ने कुनै महिला बरु बालुवा बोकेर जीवन धान्न सक्लिन, गिट्टी कुटेर, भारी बोकेर,हाड खियाएर परिवार पाल्न आँट गर्लिन तर देशमा कानुनद्वारा बर्जित समेत रहेको बेश्यावृतीमा भने लाग्न सक्दिनन्।

चेतनाले लैस भएर देशको लागि प्राणको समेत बलि दिन तयार भएकी हाम्री दिदी बहीनीहरु सुसंस्कृत समाज निर्माण गर्न पो जनयुद्धमा लागेकी थिइन् भने कुनै नेताले बाटो बिराएर धोका दिएर प्रतिक्रियावादमा पतन हुदैमा जीवन धान्न समाजले समेत नराम्रो किसिमले हेर्ने देहव्यापार जस्तो कर्म गर्न जान्छिन भन्ने कुरा कसैले पत्याउने कुरा भने होइन।

यो दृश्य निर्माण र प्रदर्शनमा प्रकाश सपुतले कि त नजर अन्दाज गरे कि त उनी पूर्वाग्रही भावनाबाट प्ररित भए। सिर्जना तथा कला क्षेत्रमा लाग्ने पात्र र प्रतिभाहरुले के कुराको हेक्का राख्नु पर्छ भने, उनीहरुले कमसे कम बिषयबस्तुलाई तटस्थ भएर प्रस्तुत गर्नुपर्छ। झन् राजनैतिक बिषयबस्तुमा सिर्जना गर्न लागेको हो भने त अरु संवेदनशील हुनुपर्छ।

खाने र लाउने कुराको अभाव हुदैमा कुनै पनि दिदीबहिनीहरु कुकर्ममा लाग्दैनन्। यदी त्यसो हुन्थ्यो भने नेपाली समाजका ७० प्रतिसत घरका आमा, भाउजु, दिदी बहिनीहरु अभावबाट ग्रस्त जीवन बाँचिरहेकी छिन। के ती सबै आमा, भाउजु, दिदी बहिनीहरुले पिरमा देखाइएको दृश्यको जस्तो काम गरेका छन त ? पक्कै पनि छैनन्। एउटा अर्को जब्बर प्रश्न पनि त आउछ, नेपालमा तुलनात्मक रुपमा कथित दलित महिलाहरुले बढी रुपमा अभाव झेल्नु परेको छ। स्वयं प्रकाश एक कथित दलित परिवारको सदस्य भएर हेर्दा र भोग्दा पनि त्यो अनुभव भएको हुनुपर्ने हो।