• मंसिर ८ २०८१, शनिबार

सम्पन्न राष्ट्रहरुले गरीब राष्ट्रहरुमाथि किन थिचोमिचो गर्छन् ?

फाल्गुन २९ २०७८, आईतवार

धनी देशहरू र गरीब देशहरू बीचको सम्बन्धको बारेमा हामीलाई लामो समयदेखि एक आकर्षक कथा भनिँदै आएको छ । धनी राष्ट्रहरूले गरिबी उन्मूलनका लागि र विकासको सिँढी माथि उकास्नको लागि भन्दै गरीब राष्ट्रहरूलाई आर्थिक सहयोग प्रदान गरिरहेका हुन्छन् ।

आर्थिक सहयोग आदान प्रदान गर्न सन् १९४५ मा संयुक्त राष्ट्रसंघ स्थापना भए पछि विश्वलाई धनी र गरीब राष्ट्रको रुपमा स्तर निर्धारण गरिएको थियो । यसका लागि संयुक्त राष्ट्रसंघले विभिन्न सूचांकको आधारमा स्तर निर्धारण गर्ने गरेको पाइन्छ । संसारलाई विकसित र अविकसित देशको रुपमा विभाजनको शुरुआत् सन् १९८५ बाट भएको देखिन्छ ।

विश्व बैंकले यूरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशको सूचांकको आधारमा केही राष्ट्रलाई विकसित र अन्य राष्ट्रहरुलाई अविकसित देशको रुपमा दर्ज गरेको थियो । जो हिजोको उपनिवेशवादको समयमा आफ्ना उपनिवेशहरूबाट स्रोतसाधनहरुको दोहन गरेर, दासता लागू गरेर र श्रमशोषण गरेर आफूलाई समृद्ध बनाएका थिए, उनीहरु नै विश्व बैंकका पनि प्रमुख आर्थिक सहयोग गर्ने देशको सूचिको उच्च स्थानमा छन् र उनीहरुकै सल्लाह र सुझावमा विश्वका राष्ट्रहरुलाई धनि र गरिवमा विभाजन गरियो । त्यस विभाजनबाट प्राकृतिक स्रोत साधनलाई बेवास्ता गर्दै नेपाल जस्ता देशहरु गरीब देशको सूचिमा सूचिकृत भए ।

डिम्बनाको कुरा के छ भने आफैले शोषण गरेर जम्मा भएको देखावटी अर्थतन्त्रलाई उनीहरुले सम्पन्नतासँग तुलना गरे तर जुन देशबाट प्राकृतिक स्रोतको दोहन भएको थियो उनीहरु गरीब राष्ट्रकै सूचिमा रहेका थिए ।

उपनिवेशताको समयमा क्षमता तथा सामथ्र्यले भ्यायसम्म संसारभर प्राकृतिक शोषण गरेपछि अहिले उनीहरुले सहायताको नाममा तीनै देशहरुमा सहयोग गरिरहेका छन् । शोषणबाट आर्जित रकमबाट आजकल, उनिहरूले सर्त सहितको प्रत्येक वर्ष लगभग १२५ ट्रलियन डलर भन्दा बढी सहायता उपलब्ध गराउँदै आएका छन् ।

उद्योग धन्धा, कलकारखाना, गरीबी निवारणको नाममा उपलब्ध गराउने ती सहायतालाई संसारका आर्थिक रुपमा सम्पन्न देशहरु तथा त्यसका सरकारहरूद्वारा यति व्यापक रूपमा प्रचार गरिएका छन् कि मानौं संसार उनीहरुले नै थामिरहेका छन् र हामीले यसलाई सामान्य रूपमा लिइरहेका छौं । यस्ता आर्थिक सहयोगहरु सुन्दा र स्वीकार गर्दा जस्तो देखिन्छ त्यस्तो सरल नहुन सक्छ र त्यसको ठूलो मूल्य चुकाउनु पर्छ भन्ने बुझ्न भने जरुरी छ ।

अमेरिकामा रहेको ग्लोबल फाइनान्सियल इन्टिग्रिटी ९न्ँक्ष्० र नर्वेजियन स्कूल अफ इकोनोमिक्स सेन्टर फर एप्लाइड रिसर्चले वैदेशिक सहयोगको सम्बन्धमा केही रोचक तथ्याङ्कहरू प्रकाशित गरेका छन् । सम्पन्न देशहरूले गरीब देशहरूलाई प्रत्येक वर्ष उपलब्ध गराउने वित्तीय स्रोतहरूलाई सङ्कलन गरेर, विदेशी लगानी र व्यापार प्रवाह मात्र होइन गैरवित्तीय स्रोत समेत परिचालन भएको रिपोर्ट प्रकाशित भएका थिए ।

साथै उनीहरुले अघोषित ऋण, गुप्त सामरिक भण्डारण सम्झौता तथा स्थानान्तरणमा चालबाजी गरिरहेका छन् । उनीहरुले स्वघोषणा गरेर सम्पन्न हुँ भनेर गरीब देशहरूमा पैसाको प्रवाह विपरीत दिशामा बगाइरहेको आंकलन गर्न सकिन्छ ।

तथ्य कुरा के हो भने धनी देशहरूबाट गरीब देशहरूमा पैसाको प्रवाह स्वार्थ सहित हुने गरेको छ । सन् २०१२ को तथ्यांक अनुसार विकासशील देशहरूले सबै सहायता आफ्नो स्वार्थपूर्तिको लागि गर्ने गरेका छन् ।

सन् २०१२ को प्रतिवेदन हेर्दा विकसित देशले उपलब्ध गराएको ऋणको लगभग ४ ट्रिलियन डलर बढी ब्याज गरीब देशहरुले भूक्तानी गरेका छन् । न्यूयोर्क र लन्डनका ठूला बैंकहरूमा सीधा नगद जुन स्तरमा स्थानान्तरण भएको छ, उनीहरूले सोही अवधिमा प्राप्त गरेको सहायता भन्दा बढी हो ।

उनीहरुले पाउने अर्को ठूलो योगदान भनेको विकासोन्मुख देशहरूमा लगानी गरेर स्वदेश फर्कने आम्दानी हो । उदाहरणका लागि, नाइजेरियाको तेल भण्डारमा कब्जा तथा दक्षिण अफ्रिकाको सुन खानीहरूबाट एंग्लो अमेरिकीले गरेका उत्खनन्को प्रकृति हेर्दा उनीहरुको वैदेशिक सहयोग सबै नाफाहरूमा विचार गरिएको हुन्छ भन्ने बुझाइ हो ।

धेरैजसो रेकर्ड नगरिएको पूँजी बहिर्गमन अन्तरराष्ट्रिय व्यापार प्रणाली मार्फत् हुन्छ । मूलतः उनीहरुले गरिब तथा विकासोन्मुख देशहरूबाट पैसा सिधै कर हेभन्स र गोप्य अधिकार क्षेत्रहरूमा भित्र्याउनका लागि ट्रेड इनभ्वाइसहरूमा गलत मूल्यहरू रिपोर्ट गर्ने गर्छन् । त्यसैले उनीहरुले गर्ने सहायता भन्दा भित्र्याउने पुँजी बढी हुनेगर्छ ।

बहुराष्ट्रिय कम्पनीहरूले समेत इनभ्वाइस फेकिङ मार्फत् विकासोन्मुख देशहरूबाट पैसा चोर्ने गरेको विगतमा विभिन्न अध्ययनहरुले बाहिर ल्याइसकेको छ । उनीहरु गैरकानूनी रूपमा नाफा आफ्नै सहायक कम्पनीहरू बीच नै नक्कली ट्रेड इनभ्वाइस मूल्य कायम गरेर दुबै पक्षमा ओहोर दोहोर गर्ने गर्छन् उदाहरणका लागि, नाइजेरियाको सहायक कम्पनीको ब्रिटिश टापुहरूमा करको दर प्रभावकारी रूपमा शून्य रहेको र चोरीको रकम पत्ता लगाउन नसकिने ठाउँमा आफ्ना सहायक कम्पनीमा पैसा हस्तान्तरण गरेको कुरा जीएफआइले सन् २०१२ मा नै बाहिर ल्याएको थियो ।

यसरी विकासोन्मुख देशहरु विभिन्न क्षेत्रबाट पीडित रहेको यथार्थ बुझ्न सकिन्छ । यस आलेखमा गरिब र धनी देशहरू बीचको भिन्नता स्रोतसाधन भन्दा पनि शासन र पद्दतिसँग सम्बन्धित रहेको कुरा उजागर गरिएको छ । विकसित र अविकसित देशमा विभाजन गरिएपछि अविकसित देशहरुमा विकसित देशले विकासको नाममा राज्य दोहन गर्न सहज भएको छ ।

यस्तै अहिले अमेरिकी मिलिनियम च्यालेन्ज एकाउण्ट मार्फत् भित्रने सहयोगको राम्रो व्याख्या नहुँदा र सम्झौतालाई उपबुँदाहरुमा गरिएका व्यख्याहरुले आम जनतामा वितृष्णा फैलाए पनि सरकारले त्यसलाई सहर्ष स्वीकार्नुको विकल्प थिएन ।

देश आर्थिक रुपमा सफल तथा असफल भन्दापनि राज्यले प्रतिपादन गर्ने सार्वजनिक प्रशासनको महत्वलाई जोड दिनुको सट्टा आँखा बन्द गरी ससर्तरुपमा स्वीकार गर्ने वैदेशिक सहयोगको कारण संसारका राज्यहरु परिवन्दमा पारिँदै लगिएको पाउन सकिन्छ ।

विकसित देशहरुले उपलब्ध गराउने आर्थिक सहयोग प्रायः भूगोलको कारण, पिउने पानी, ऊर्जाको लागि बढी जोड दिने गरेको पाइन्छ । सामान्यतया उनीहरुको प्रवेश कमजोर पूर्वाधार भएका देश तथा व्यापक गरिबी, उच्च अपराध दर, न्यून शिक्षा स्तर, परिवार नियोजनका सेवाहरूमा अपर्याप्त पहुँच, धेरै अनौपचारिक बस्तीहरू, सबै सरकारी स्तरहरूमा भ्रष्टाचार, र राजनीतिक अस्थिरतामा केन्द्रित हुने गरेको छ । अहिले नेपाल जस्ता न्यून आय भएका र विकासको स्तर कम भएका देशहरु विकसित देशको कठपुतली भएको अनुभव गर्न सकिन्छ ।

विकसित देशहरू औद्योगिक युगबाट भन्दा उपनिवेशवादको युगबाट बढी विकसित भएका थिए । उनीहरुले विश्वलाई जित्नको लागि युरोपको प्रतिद्वन्द्वी भारतको ब्रिटिश उपनिवेशको समयमा भारत जस्ता देशहरूको सम्पत्ति लुटे । लगभग ४०० वर्ष अफ्रिका, मध्यपूर्व, एशिया समेतका देशहरूलाई उपनिवेश बनाए ।

विकास र सहयोगको नाममा पस्ने यी देशहरुले नरसंहार गराएका घटनाहरु पहिलो विश्व युद्धदेखि नै उदाहरणको रुपमा लिन सकिन्छ । उपनिवेश लाद्नका लागि अस्ट्रेलियाली आदिवासीहरूको नरसंहार समेत गतिलो उदाहरण बन्न सक्छ । त्यसबेला अमेरिकी सेनाको साथमा रहेका केही गरिब देशहरू समेत विकसित देशको नाममा दर्ज भैसकेका छन् ।

उनीहरुको औद्योगीकरण र विकासको नाममा अन्य देशहरूको सम्पत्ति लुट्ने गरेको विगतका परिणामहरुले कसरी विकसित देशको रुपमा रहेका छन् भन्ने यथार्थ हामीमाझ छर्लङ्गै छ । तर, अहिले उनीहरु नै विकास र सहायताको नाममा विकासोन्मुख देशहरूमा आर्थिक सहयोग गरिरहेका छन् ।

विश्वलाई दुई भाग अर्थात् विकसित र अविकसित देशमा विभाजन गरेपछि गरिब देशहरुलाई लुट्ने नयाँ नीतिहरू बाहिर आएका छन् । उनीहरुले गरीब देशहरूमा रिभर्समा सहायता कसरी गरिरहेका छन् भन्ने यही विभाजनलाई लिन सकिन्छ ।

त्यसैले विकसित देशका सरकारहरू र अन्य निकायहरूद्वारा दिइने यस्ता आर्थिक सहयोगको कारण गरीब देशहरुले सधैं उनीहरुको हितमा मात्र काम गनुपर्ने बाध्य बनाएको छ । जहिलेसम्म आन्तरिक स्रोत र साधनलाई विकासको कडिको रुपमा लिइँदैन तबसम्म वैदेशिक सहायताको कारण विकासोन्मुख होस् अर्थात् विकासशील जे भनेपनि उनीहरुको सार्वभौमिकता माथि सधैं खतरा रहिरन्छ ।

संसारलाई ‘फुटाउन र राज गर’ भन्ने पश्चिमाहरुको मुलमन्त्रलाई अन्त्य गर्न पनि नेपाल जस्ता विकासोन्मुख देशले वैदेशिक सहयोग स्वीकार गर्दा उनीहरुको होइन आफ्ना सर्त अनुसार मात्र लिनुपर्दछ’ भन्ने हो । तर, स्वार्थ लुकाउन धनी देशहरूले, गरीब देशहरू विकास गर्दैनन् र भ्रष्टाचार मात्र गर्छन् भन्ने भ्रम संसारलाई फैलाइरहेका छन् ।

संसारको ध्यान अर्कोतिर मोडेर उनीहरु आफ्नो स्वार्थका लागि भित्रभित्रै राजनीतिमा प्रवेश गरी ठूला नैतिक भ्रष्टाचार गराउन उक्साएको कुराहरु बाहिर आउँदैनन् । उनीहरुले गरीब राष्ट्रका नेताहरुलाई नैतिक पतनमा फसाएर गरीब राष्ट्रहरुमाथि सधैं थिचोमिचो गरिरहन्छन् । हामी जबसम्म आन्तरिक रुपमा सम्पन्न हुँदैनौं तबसम्म शक्तिराष्ट्रहरुले कमजोर राष्ट्रमाथि हेयको भाव राखिरहन्छन् ।