झापा । झापा गोल्डकप प्रतियोगितामा सङ्कटा क्लबलाई २–० अन्तरले हराउँदै घरेलु टोली झापा–११ फाइनलमा प्रवेश गरेको छ ।
झापाको जितका लागि विमल घर्तीमगरले दुई गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन् । अर्को गोल ५८औँ मिनेट विकास मेरग्लियाको क्रसमा विमलले दोस्रो गोल गरे ।
जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअघिको फाइनलमा भएका तीनवटै भेटमा आर्मीले जित हासिल गरिसकेको छ भने अब आर्मी र घरेलु टोली झापाको यो चौथो खेल हो ।
गोल्डकपको विजेताले रु १२ लाख ५५ हजार र उपविजेताले रु छ लाख पाँच हजार नगद प्राप्त गर्ने आयोजकका महासचिव गजेन्द्रबहादुर पौडेलले जनाएका छन् ।
आगामी सोमबार यस प्रतियोगिताको फाइनल खेल हुनेछ ।