• मंसिर ११ २०८१, मंगलवार

नयाँ विचारले मात्रै अबको समस्या हल गर्नसक्छ

फाल्गुन २६ २०७८, बिहीबार

एकाधिकार पुँजीदेखि साम्राज्यवादी रूप धारणको ब्याख्या र सो समय सापेक्ष विचार र संघर्ष तथा हामीहरूको बुझाई मालेमावादले सोही समय अनुकूल बुझाएकै छ । आजको वित्तीय पुँजीको भूमण्डलीकरण र डीजीटलीकरण, भुमण्डलीकृत श्रम र संचार, भुमण्डलीकृत यातायात र विज्ञान तथा प्रविधि विकासको २१औं शताब्दीको विचार र संघर्षको स्वरूप सहितको संश्लेषण बिना हामी अगाडी बढन नसक्ने अवस्थामा छौं ।

संघर्षको दृष्टिकोण अर्थतन्त्रलाई केन्द्रविन्दु बनाएर लेखिएको छ भने हिजोको अर्थतन्त्रको विकास अनुरूप ब्याख्या र विचारको संश्लेषण मालेमाले जसरी गर्यो आज सोही हिसाबले ठीक ढंगले गर्न सक्यौं भने नेपाली क्रान्तिको मात्र नभै विश्व क्रान्तिको कार्यदिशा बन्ने छ । माओको मृत्युपछि र विशेषगरी सन् ज्ञढडण् को दशक आसपासबाट भएका क्रान्तिहरू असफल हुँदै गए नयाँ विचार अभावको परिणाम स्वरूपकै असफलताको निरन्तरता मान्न सकिन्छ ।

आज हामीले दर्शन, अर्थतन्त्र र समाजवाद कस्तो हुने विषयमा संश्लेषण गरेनौं या सकेनौं भने र ब्यवहारमा लागेनौं तथा बाटोमा हिंड्न र हिंडाउन सकेनौं भने कसरी बनाउछौं हामीले २१औं शताब्दीको वैज्ञानिक समाजवाद ? छोटोमा भन्दा आज हामी र समाजको विश्व दृष्टिकोण के हो ?

हामी र हाम्रो समाजको दृष्टिकोण आफू राम्रो तर अरू खराब, गर्न नसक्ने तर गरेकाको रिस गर्ने, उत्पादन नगर्ने तर ठगेर खाने, भएको पुँजी अनुत्पादक क्षेत्रमा लगानी गर्ने र भ्रष्टाचार गर्ने तर अरूलाई किनेर आफ्नो मान्छे बनाउने, इमान्दारहरू समाजबाट हराउँदै जाने तर बदमासहरू समाजिक संस्थाहरूमा निर्वाचित हुँदै जाने, अराजनीतिक गठबन्धन गर्दै जाने तर विचारले नजिक हुनेहरू दुष्मन बन्दै जाने, इमान्दारहरू र सामाजिकहरूले चुनाव हार्दै जाने तर भ्रष्ट र दलालहरूले जित्दै जाने, राम्रो कुरा आफूले पनि जान्न नखोज्ने तर अरूलाई उपदेश दिने, विचार र दर्शनको काम छैन भन्ने तर सामाजिक आबाराहरूका पछि समाजले विश्वास गर्ने लगायत यस्तै हजारौं द्धन्दात्मक र सत्य अवयवहरूको संकेन्द्रनसँग विजय हासिल गर्ने मुख्य कुरा विचार त हो तर खोजी गर्न नखोज्ने र सत्य खोजलाई पनि मान्न नपर्ने ।

यो खालको खराब दृष्टिकोणले निर्मित कर्मचारीहरुबाट कमिसन खाएर मात्र बजेट ब्यक्तिका हातमा जाने बचेको रकम जनप्रतिनिधिका हातमा जाने र आउँदो चुनावमा जनतालाई भेडाबाख्रा किनेझैं किन्नमा खर्चने साथै जनता पनि पार्टीप्रति बफादारीताको नक्कली बुझाईमा पशु भएको पत्तै नपाउने ।

जनताको जीवनस्तर सुधार्ने योजना छैन तर बिग्रिएका जनता केहीदिनका लागि बलिका बोका राजनैतिक दलका बन्ने अर्को चुनावसम्म खानलाई ढुकेर बस्ने भएपछि कसरी बन्छ समाज र कसरी उठ्छ जीवनस्तर माथि ? समाज समृदिद्धका कुरा गर्ने तर समाजमा खराब भन्दा खराब कामगर्ने भिखारी तथा दलाललाई जनप्रतिनिधि बनाउने काम हामी जनताले नै गरे पछि कसरी बन्छ नयाँ समाज ?

यो सबैको परिणाम निस्कने भनेकै आजको विघटित र प्रतिगमन नै हो जो प्राप्त गरिरहेका पनि छौं ।
मालेमाका पालामा जनता यति धेरै भ्रष्ट थिएनन् र त्यसैकारण उनीहरूले सही नीति र ब्यवहारमा पुग्न सके ।

हामीले मालेमामा यो माथिको चरित्रलाई निस्तेज गर्नेगरी दृष्टिकोण, अर्थतन्त्र र समाजको चेतनामा उथलपुथल कसरी ल्याउने यो जटील विषयको जवाफ नहुनु कै कारण सामाजिक अपराधीहरूले समाजको नेतृत्व गरिरहे । सामाजिक अपराधीहरू र जनप्रतिनिधि कहाँ नोकरशाह र दलालहरू हुँदै अर्थतन्त्र केन्द्रीकरण हुँदै गएपछि त्यो फजुलमा प्राप्त रकम जनतामा दुरुपयोग गरेर थप भ्रष्टाचारका लागि जनताबाट उनीहरूले लाइसेन्स प्राप्त गर्दछन् ।

सारमा जसले जे भने पनि २१औं शताब्दी नयाँ विचार संश्लेषणको शताब्दी हो । भुमण्डलीकृत वित्तीय पुँजीलाई जननियन्त्रित गर्ने तरिका के हुन सक्छ ? र समाजमा उत्कृष्ट चेतना भएका तथा योजनाकारहरू कसरी जनस्थापित गर्न सकिन्छ ? यो गम्भीर विषय हो यसको खोजी अर्को पटक अधिकतम प्रयास गरिनेछ । यस पटक भन्दा अर्को पटक थप खोजमूलक र अलि विस्तृत ब्याख्याको आवश्यकता देखिएको छ । मलाई लाग्छ यो खोज हामीहरूबाटै सम्भव छ र अरूको अपेक्षा मात्र गरेर अंधकारमा हराइरहने छुट पनि छैन ।

हाम्रै जीवनमा पुनः जनयुद्धले जुन विचार निर्माण गर्र्यो, त्यसका जगमा गणतन्त्र, संघीयता र नयाँ संविधानसम्म आयौं तर अब अगाडि बढ्नलाई आजको कार्यदिशा पश्चगामी भैसक्यो र अग्रगामी कार्यदिशा आगामी खोजको विषय रहने छ ।

पार्टीमा प्रचण्ड भन्दा अर्को नेतृत्व उत्तराधिकारीका रूपमा भेट्न सकिएन । त्यसको परिणाम विघटन नै हो । हाम्रा अगाडि इतिहास छ । यो कुनै मनोगत बुझाई होइन वस्तुगत नै हो । लेनिन र माओले पनि आफ्नो राजनैतिक जीवनकालमा कुसल जिम्मेवारी बहन गर्ने नेतृत्व पाएको इतिहास छैन । सो कुरा आफ्नै आन्तरिक राजनैतिक जीवनमा प्रचण्डलाई पनि देखियो ।

ठूलो अवसरवादी जत्थाको घेराबन्दी भित्र प्रचण्डको बन्दी जीवन बितिरहेको कुरा देख्न नसक्ने प्रचण्डको कार्यकर्ता नै होइन । यही इतिहासकै निरन्तरता नेपालमा पनि जसरी रूस र चीनमा कम्युनिष्ट पार्टीको विघटन भयो यो संसारकै सार्वभौम सिद्धान्त बनिसकेको रहेछ ।

आज अध्ययनकै दौरानमा बुझियो तर प्रतिक्रान्ति रोक्नका लागि नेपाली कम्युनिष्टहरूको कार्यदिशा छैन । सारमा समग्र आन्दोलनका हिसाबले विघटन उन्मुख देखिएकाले एक पटक नेपाली माटोबाट सम्भव देख्ने हो भने हामीहरूले निम्न ढंगले आफूलाई प्रस्तुत गर्न सकौंला त ?

यी हुन् आवश्यक कार्यभारहरू :

पहिलो कुरा त मालेमावादलाई बुझ्ने र बदलिने कुरामा ठूलो दरार श्रृजना भएर आएको छ । वर्ग संघर्षको बाटो परित्याग गरी शान्तिपूर्ण बाटोबाट समाजवादमा पुग्ने सम्भावना कति सत्य र मालेमावादी छ ?
सम्भवत निर्वाचनमा पराजय भोग्दै जाने र दलालहरूसँग एलायन्स गरेर जाने तरिका नै एक्काइसौँ सताब्दीमा नेपाली क्रान्तिको बाटो बनाउन खोज्नु वैज्ञानिक नै छ त ? यति छिट्टै कम्युनिष्ट आदर्श जनताबाट अलग थलग किन भयो ? र जनताले माओवादीको साथ छोड्नुका पछाडि जनता दोषी भएर हो ? के जनताहरूलाई समानता मन परेको छैन त्यही हो त कारण ?

दोश्रो कुरा जनताहरूलाई दलालहरूले किनेरै कम्युनिष्टको हालत यो भएको हो त ? दलालहरूले त आज नेता नै किनेको कुरा कहाँ लुकेको छ र ? जनता नै खरिद्न सक्ने, नेतृत्वलाई प्रभाव पार्न सक्ने र देश नै किन्ने सामथ्र्यमा आज दलाल नोकरशाही संयन्त्र तयार छ । यो समयमा संसारलाई नै बदल्न सक्ने मालेमावाद किन हराउँदै र खरिद हुँदैछ । आज यी दुई कुराको जवाफ दिनसक्ने मात्र नेतृत्व हो ।
भुमण्डलीकृत वित्तीय पुँजीवादले आज समग्र पक्षलाई भुमण्डलीकृत गरेर आएको छ न कि पुँजीलाई मात्र ।

पुँजीवादले आज विचार र दृष्टिकोण, संचार र प्रविधि, विज्ञान र श्रम, यातायात र उत्पादन, वितरण र उपभोग, युद्ध र वार्ता आदि विषयलाई पुरै भुमण्डलीकृत गरे पछि हामी कम्युनिष्टहरू भने संकिर्ण घेराबाट आफ्नै नेतृत्वको कत्लेआम गरेर आत्मरति लिएर आनन्द अनुभूती गरेका छौं । यस्तो तरिका अवलम्वन गर्ने तर वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको आफूलाई हिमायती ठान्ने हामीहरू सबैले लाज मान्नै पर्छ । छोटो र सारसंक्षेपमा हामी यति मात्र भन्न र गर्न सक्नुपर्छ ।

नेतामा मात्रै समाज परिवर्तनको जागरणको कुरा होइन जनतामा पनि किन आएन ? नेतामा मात्र किन आयो यो खोजीका साथ जनतामा जाऔं । मालेमावादी कम्युनिष्ट आदर्श भनेको विदेशी दलालहरूसँग घुंडा टेकाई होइन बरु संघर्ष हो ।

सुविधा सम्पन्न नेतृत्व र पार्टीबाट समाजलाई परिवर्तन गर्न सकिंदैन बरु आफैलाई र आफ्नो जीवनशैली मात्र परिवर्तन भने हुनसक्छ । त्यसैले सामूहिक जीवनशैली र अर्थनीतिको विकास गरी समाजलाई आत्मनिर्भर बनाउने कार्यदिशा अपनाई जनजीवनलाई हराभरा बनाउने आशावादी संसारतिर अगाडी बढौं ।