• मंसिर १२ २०८१, बुधबार

तिनैभाई राजनीतिमा लागेको डंगोल परिवार

फाल्गुन २० २०७८, शुक्रबार

विविध भाषाभाषी र विभिन्न समुदाय मिलेर बनेको देश हो, नेपाल । भाषिक, साँस्कृतिक विविधताका कारण नै यो देश अरु भन्दा फरक देखिँदै आउनुको प्रमुख कारण हो । १२५ जाति र १२३ भाषा बोलिने नेपालको काठमाडौं खाल्डोमा रहेका नेवार समुदाय पनि त्यसभित्रै पर्दछन् ।

लामो समयदेखि एक धर्म, एक भाषा र एक संस्कृतिलाई बढावा दिंदै अरुलाई बेवास्ता मात्रै होइन दमन पनि गरिएका कारण नेपालमा रहेका धेरै भाषाहरु लोप हुँदै गएको तथ्यांक रहेको छ ।

राणाहरु र राजाहरुका पालामा उनीहरुले आफ्ना परिवार र वरपरकालाई मात्र पढाउने गर्दथे । तर नेपालमा प्रजातन्त्र स्थापना भएसँगै जनताका छोराछोरीले पनि पढ्न पाएका छन् । तर प्रजातन्त्र आएपछि पनि यी र यस्ताखाले विभेदका बाछिटाहरु जीवितै रहेका कारण बेलाबेला युद्ध र आन्दोलनहरु चल्दै आएका छन् । यसैमध्ये काठमाडौं उपत्यकामा रहेका नेवारहरुले पनि आफ्नो भाषामा पढ्न पाएनन् ।

केन्द्रीय राज्यको नजिक भएका कारण केही सेवा सुविधा त पाएका होलान् तर भाषिक हिसाबले त प्रजातन्त्र आएपछि नै उनीहरुले आफूलाई बदल्ने मौका पाए । एकलजातीय राज्यका पालामा उनीहरुले जबरजस्ती खस नेपाली भाषामा पढ्नु पर्ने अवस्था रह्यो ।

आफ्नो भाषामा पढ्न नपाउँदाको पीडा बोकेर हिंड्न बाध्य बनाइएकामध्ये नेवार समुदाय पनि एक हो । यसै समुदाय भित्र रहेर भाषाको विकास र राजनीतिक चेतना निर्माणमा लागेका एकजना अभियन्ता हुन् सुशान्त डंगोल ।

उनी काठमाडौं उपत्यकाको उत्तरी प्रवेशद्धार भनेर चिनिने टोखाका स्थायी बासिन्दा हुन् । लामो समयदेखि भाषिक आन्दोलन तथा राजनीतिक चेतना निर्माणमा लागेका उनको यो क्षेत्रका आफ्नै अनुभव रहेका छन् ।

भाषिक र सांस्कृतिक हिसाबले पिछडिएको महसुस गर्दै आएका आफ्नो समुदायको भाषिक अवस्थाका बारेमा उनी भन्छन्,‘भाषिक हिसाबले सानैदेखि विभेद खेप्नु पर्दथ्यो । हामी नेवार समुदाय भएकोले घरमा नेवारी भाषामा बोलिन्थ्यो भने विद्यालयमा भने खस नेपाली भाषामा पढाइ हुन्थ्यो । यसरी हामी जबरजस्तीरुपमा २ वटा भाषा बोल्नु पर्ने बाध्यतामा थियौं ।’

उनीहरु लामो समयदेखि भाषिक, साँस्कृतिक र वर्गीय हिसाबले राज्यको दमनमा पर्दै आएका कारण अब भने त्यसबाट आफ्नो समुदाय मुक्त हुनुपर्छ र आफ्नै भाषा नै पढ्न लेख्न पाउनु पर्छ उनको भनाई रहेको छ ।

उनी भन्छन्,‘अबको हाम्रो योजना सबै जो जति आफ्नो भाषामा बोलिरहेका छौं, सबैले आफ्नो भाषामा पढ्न पाउनु पर्दछ भन्ने हो ।

नेवारी समुदायमा घरमा आमालाई ‘मा’ भनेर बोलाइन्छ तर खस नेपाली भाषामा ‘आमा’ भनेर पढाइ हुन्छ, यसरी नेवारी भाषा लोप हुने अवस्था आयो, अब यसलाई समान बनाउनका लागि मातृभाषामै पढ्न पाउनु नै एकमात्र उपाए हो, भन्ने डंगोलको बुझाई छ ।

आफूले पढ्ने विद्यालयहरूमा पनि खस भाषा बोल्ने र लेख्नेलाई राम्रो मान्ने तर आफ्नो मातृभाषा बोल्नेलाई राम्रो नमान्ने खालको व्यवहारले पनि निकै पीडा दिएको सुसान्तको अनुभव रहेको छ ।

यतिमात्र होइन फरक जात भएका कारण पाउने पीडाहरु पनि थुप्रै छन् उनका । उनी थप्छन्,‘जात फरक भएकै कारणले पनि व्यवहारमा समेत विभेद गर्दथे ।’

सानैदेखि वामपन्थी राजनीतिबाट प्रभावित उनी आज पनि सकृय राजनीतिमै छन् । बाउबाजेले पढ्न नपाएपनि आफूहरुले पढ्न पाएकोले अब आफू र आफ्नो समुदायका लागि आफू लडिरहेको उनको भनाइ रहेको छ ।

डंगोल भन्छन्,‘यी र यस्तै कारणले सानैदेखि संगठित भएर अगाडी बढियो । हाम्रा पुर्खाले शिक्षा लिन पाएनन्, जसका कारण उनीहरुले विभेद र अन्याय छुट्याउन सकेनन् । अलिअलि पढेपनि ठूलो रुपमा न्यायको विरुद्ध लड्न सकेनन् । त्यसैले आज हामी जाग्नु परेको छ । राणा पालामा त हाम्रा पूर्खाहरुमाथि अत्याचार नै थियो । आफ्नो भाषामा पढ्न दिएन नै खस भाषामा पनि पढ्न दिएको थिएन ।’

राजा महेन्द्रका पालामा मात्रै आएर २०१७ साल पछिमात्र उनको गाउँमा विद्यालय स्थापना भएको इतिहास रहेको रहेछ ।
प्रजातन्त्र आएका कारण मात्रै आफूहरुले पढ्न पाएको मान्ने उनी आन्दोलनको कारणले नै र खासगरी बहुदल आएपछि मात्रै आफ्नो गाउँमा शिक्षाको विकास सुरु भएको र आफूलाई पढ्ने, लेख्ने र अधिकारको लागि बोल्न र लेख्न सहज भएको डंगोलको भनाई रहेका छ ।

यसरी अधिकारका लागि र शिक्षाको अभियान वा आन्दोलन चलाउन आफू भन्दा अगाडीका दाजू र काकाहरुले नै उनलाई शिक्षा सिकाउनु भएको हो रे । उनी भन्छन्,‘दाजुले प्रजातन्त्रका लागि भनेर अभियान चलाउने गर्नुहुन्थ्यो । त्यस्ता आदोलनहरूमा हामी पनि सहभागी भइन्थ्यो । यही क्रममा हामीमा राजनीतिक चेतना पनि जाग्दै गएको हो ।’

धेरै पार्टीका भाषण भिषण सुन्दै जाँदा उनलाई कम्युनिस्ट विचार मन परेको उनको भनाई रहेको छ । पढाई र राजनीतिकै क्रममा आफूलाई वामपन्थी विचारले प्रभावमा पारेको ठान्ने उनी भन्छन्,‘वामपन्थी विचारबाट अलिबढी प्रेरित भएँ म । यसैक्रममा विभिन्न कोणबाट योगदान गर्दै आइयो, अझैपनि योगदान गर्ने मन छ ।’

माओवादी जनयुद्धले समाज र नेपाली राजनीतिमा राम्रो प्रभाव पारेको बुझाई राख्ने उनी त्यसका उपलब्धिलाई राम्रोसित जनताका लागि उपयोग गर्नुपर्नेमा कमम्युनिस्ट आन्दोलन नै भताभुंग भएको देख्दा नरमाइलो मान्छन् । यस विषयमा उनी अगाडी थप्छन्,‘पछिल्लो समयमा माओवादी र एमाले एकता भएपछि अब देशमा शान्ति हुन्छ होला, विकास हुन्छ होला भन्ने लागेको थियो । माओवादी युद्धकै कारण देशमा गणतन्त्र पनि आयो तर अब देशमा विकासको लहर आउँछ होला भन्ने लागेको थियो तर सोचे जस्तो भएको छैन ।’

वामपन्थी खेमाको राजनीति गर्ने उनी नेपालको राजनीतिक इतिहासलाई राम्रोसित केलाउन सक्छन् । २०५४ सालमा एमाले विभाजन हुँदा नेकपा मालेमा आवद्ध भएका डंगोल पछि वामदेव गौतमसँगै एमालेमै आवद्ध भएका हुन् । तर हाल एमाले विभाजन भएपछि उनी नेकपा एकीकृत (समाजवादी)मा आवद्ध भएका छन् ।

एकीकृत समाजवादीमा आवद्ध हुँदा आफूलाई देशभक्ति भाव पलाएको महसुस हुन्छ रे । यही देशभक्ति भावकै कारण आफ्नो पार्टीले अमेरिकी एमसीसी पास गर्न नहुने भन्दै विरोध उत्रिएको बताए ।

नेपालको संविधान भन्दापनि माथि रहने गरी ल्याइएको एमसीसीलाई कि आर्थिक योजनामा ढालेर पास गर्नु पर्ने नत्र बिना संशोधन पास गर्न नहुने अडानमा रहेका उनी उनको पार्टीले पनि व्याख्यात्मक रुपमा ढालेर पास गरेकोमा खास सन्तुष्ट त छैनन् तर आफ्नो पार्टीले गरेको निर्णय अस्वीकार गर्न नसकेको उनको भाव रहेको छ ।

उनी भन्छन्,‘अमेरिकी एमसीसी जास्ताको तस्तै पास गर्न हुँदैन भन्ने पार्टी नीति अनुसार एमसीसी विरोधी आन्दोलनमा सहभागी भइयो तर भनेजस्तो भएन र एमसीसी पास भएको अवस्था छ । व्याख्यात्मक टिप्पणी सहित पास भएको हो तर लागू कसरी हुन्छ हेरौँ ।’

अर्को एक प्रसंगमा उनले केपी ओली प्रधानमन्त्री हुँदा पार्टीले सरकार चलाउनु पर्नेमा सरकारको पार्टी चलाउने अवस्था आएपछि पार्टी विभाजनको दिशामा गएको उनले ठहर गरे । किन यस्तो भएको हो त भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘सरकारमा पार्टीको नीति भन्दा व्यक्तिवाद हावी भएकोले प्रतिगमनको अवस्था आएको र प्रतिगमन विरुद्ध आन्दोलन गरिएको हो ।’

आफ्नो पार्टी सरकारमा रहँदा केपी ओलीले प्रतिगमनकारी काम गरेको उनको आरोप छ । ‘केपी ओलीको प्रतिगमनकारी कदम चालेका थिए, त्यसैकारणले उनलाई फाल्नको लागि आन्दोलन भएको हो । किन कि पार्टीको नारामा चुनाव जितेर व्यक्तिको नीति लागू गर्नु ओलीको भूल थियो । पार्टीको निर्देशन नमान्नु ओलीकै गल्ती थियो र ओलीको कदम प्रतिगामी थियो । यसैकारणले पार्टी ३ टुक्रा हुन गयो, उनी थप्छन् ।

यही कारणले ओलीलाई छोडेर माधव नेपालहरुले नेकपा (एकीकृत समाजवादी) पार्टी बनाउनु पर्ने अवस्था आएको डंगोलको भनाई रहेको छ । ‘हामीले नयाँ पार्टी बनाएपछि अन्य वामपन्थी दलहरुसित पनि एकता गर्दै जाने भन्ने छ । चुनावमा पनि गठबन्धन बनाएर चुनाव लड्ने अवस्था छ, डंगोलको बुझाई रहेको छ ।

अर्को प्रसंगमा उनले पारिवारीक प्रसंग पनि कोट्याए । राजनीति र समाजसेवामा लाग्नुमा उनलाई उनकै परिवारले प्रेरणा दिएको रे । उनीहरु ३ भाईमध्ये २ भाई एउटै पार्टीमा छन् उनी मात्रै नेकपा समाजवादीमा आवद्ध छन् । दलीय व्यवस्थामा जो स्वभाविकै हो ।

तर विचार फरक भएपनि पारिवारीक र सामाजिक कामकार्यमा भने सबै दाजूभाई एकै ठाउँमा रहेको उनको बुझाइ रहेको छ । दाजू माणिराज डंगोल एमालेमा कृयाशील छन् । मणि एमालेको जिल्लास्तरीय नेता तथा जनजाति आन्दोलनका अगुवा पनि हुन् । यता सुशान्त भने नेकपा (एकीकृत समाजवादी) पार्टीका काठमाडौं जिल्ला सदस्यको जिम्मेवारीमा रहेका छन् ।

सहकर्मीका साथमा सुशान्तका दाजू मणिराज डंगोल

सुशान्त डंगोलका कान्छा भाई प्रशान्त डंगोल भने भाषिक आन्दोलनमा कृयाशील छन् । उनी पनि नेकपा एमालेका कार्यकर्ता हुन् । साथै कान्छा भाई प्रशान्त साहित्यकार पनि हुन् ।

उनको ‘विद्रोही साँइला’ नामक उपन्यास प्रकाशन भएको छ । त्यस्तै उनका फुट्कर रुपमा थुप्रै साहित्यिक रचनाहरु पनि विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशन तथा प्रशारण भइसकेका छन् । उनको सो उपन्यास मार्क्सवादी दर्शनमा आधारित साँस्कृतिक महाकाव्य हो । प्रशान्त मातृभाषा अभियन्ता पनि भएकोले काठमाडौंस्थित आरआर क्याम्पसमा नेवारी भाषामा पढाई हुने व्यवस्था उनी र उनको समूहको सकृयतामा चालु भएको हो भने तामाङ भाषामा पनि पढाई सुरु गर्नका लागि पहल भइरहेको छ ।

एक राजनीतिक सभामा सुशान्तका भाई प्रसान्त डंगोल

सारा जनताले नै राजनीति गर्नुपर्ने अवस्था आएको बेला हामी पार्न त्यत्तिकै बस्ने त कुरै भएन भन्ने बुझाई सुसान्तको रहेको छ । उनी आगामी स्थानीय निर्वाचनमा पनि सकृयतापूर्वक लाग्ने बताउँछन् । ‘अब हामी स्थानीय जनताको घरमा गएर हाम्रो उद्देश्य जनतालाई भन्छौं । किन कि अब कार्यकर्ता मात्रै वा माथिको निर्देशन मान्ने मात्रै भएर काम चल्दैन । सकृय भएर नै लाग्नु पर्छ भन्ने लागिरहेको छ ।’ उनले भने ।

आम जनता र देशको हितमा निकै सकृयतापूर्वक लाग्नु पर्ने अवस्था आइसकेको र यसका लागि अबको राजनीतिलाई समाजमा रहेका विकृति हटाउने काममा लगाउनु पर्दछ भन्ने सुशान्तको बुझाई रहेको छ । हामीसँगको बसाईमा उनले बिकाउ राजनीति गर्ने दिन गइसकेको दावी गरे । उनी भन्छन्,‘अब सिद्धान्तनिष्ठ राजनीतिलाई अगाडी नबढाउने हो भने जनता र देशले नै दुःख पाउने छ ।’