• मंसिर १२ २०८१, बुधबार

पल-समिक्षा प्रकरणमा पक्ष र विपक्षमा प्रचार नगर्न आयोगको आग्रह

फाल्गुन २० २०७८, शुक्रबार

काठमाडौं । पल शाह र समिक्षा अधिकारी प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ ।

अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ ।

‘गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ,’ आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, सम्बन्धित व्यक्तिको अनुमति विना भिडियोहरु रेकर्ड नगर्न, रेकर्ड गरिएका भिडियोहरु सार्वजनिक नगर्न र अतिप्रचारका कारण प्रमाणहरु नष्ट हुनेतर्फ विचार पुर्याउनु पर्दछ ।’

गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्ने र अधिकार प्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुने सम्भावना भएको आयोगले जनाएको छ। यस सम्बन्धमा आयोगले अनुगमन तथा सूचना सङ्कलन गरिरहेको जनाएको छ ।