काठमाडौं । मोबाइल वालेट प्रयोगमा लोकप्रियता बढेसँगै अब नेपाल राष्ट्र बैंकका ग्राहकले मोबाइल वालेटबाटै ऋण लिन पाउने व्यवस्था गर्ने लागिएको छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिमा मोबाइल वालेटबाट ऋण प्रवाह गर्ने व्यवस्थाका लागि आवश्यक अध्ययन गर्ने उल्लेख थियो । यसै नीति अन्तर्गत बैंकले सानो आकारको ऋण लिने सुविधा दिन लागेको हो । यसको अध्ययनपश्चात् ऋण प्रवाहसम्बन्धी निर्देशन जारी गर्ने राष्ट्र बैंकले बताएको छ ।
अहिलेसम्म वालेटबाट मोबाइल रिचार्ज, टेलिफोन, इन्टरनेट, खानेपानीलगायत युटिलिटी बिल भुक्तानी, अनलाइन कारोबारको बिल तिर्नेलगायत सुविधा उपलब्ध छन् ।
राष्ट्र बैंकले माघ अन्तिम साता बैंक तथा वित्तीय संस्थाले पनि विद्युतीय माध्यमबाटै ५ लाख रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था गरेको छ । विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गनिर्देशन–२०७८ अनुसार बैंक तथा वित्तीय संस्थाले तलबी खाता भएका ग्राहकलाई अधिकतम ५ लाख र अन्य ग्राहकलाई २ लाख रुपैयाँसम्मको कर्जा विद्युतीय माध्यमबाट दिन सक्छन् ।