• मंसिर ७ २०८१, शुक्रबार

परमाणु हतियार प्रयोग गर्ने रुसी धम्कि पछिका कारणहरु के-के हुन् ?

फाल्गुन १८ २०७८, बुधबार

युक्रेनमा रसियाले गरेको आधुनिक हतियार प्रयोगसँगै आणविक हतियार प्रयोग हुने डरले विश्वलाई नै त्रसित बनाएको छ । आणविक हतियारको प्रयोगले जापानको हिरोसिमा र नागासाकिमा पुर्याएको क्षतिको इतिहास हेर्दा आणविक हतियारका कारण संसारका मानव समुदाय त्रसित हुनु स्वभाविकै हो ।

कुनै देशले मनपरी रुपमा आणविक हतियार प्रयोग गर्लान् र संसारमा मानिसको अस्तित्व संकटमा पर्ला भनेर संयुक्त राष्ट्रसंघले सन् २०१७ सेप्टेम्बर २० मा आणविक हतियार निषेध महासन्धी  Treaty on the Prohibition of Nuclear Weapons (TPNW) हस्ताक्षरको लागि खोलेको थियो ।

जसमा नेपाल लगायत पाँच आणविक हतियार भएका राष्ट्रहरू सहित कुल १९१ राष्ट्रहरुले हस्ताक्षर गरिसकेका छन् । टीपीएनडब्लु महासन्धीमा ५० देशले प्रमाणिकरण गरेपछि आन्तर्राष्ट्रिय रुपमा मान्यता पाउने प्रावधान अनुसार सन् २०२१ जनवरी २२ देखि यस महासन्धीले मान्यता पाएको छ । तर, पनि आणविक हतियार प्रयाग नै हुँदैन भन्न सक्ने अवस्था छैन, किनकि रसियन राष्ट्रपतिले जतिसुकै बेला पनि आणविक हतियार प्रयोग हुने कुरा बताइसकेका छन् ।

अमेरिका, रसिया तथा चीन लगायतका राष्ट्रपतिहरुले आँफू जहाँ जाँदापनि आफूसँगै कालो व्रिफकेस बोकेर हिंड्ने र त्यसभित्र आणविक हतियार प्रयोग गर्नकालागि प्रयोग हुने यन्त्र हुने गरेको छ । त्यसैले उनीहरुले जहाँबाट पनि आणविक हतियार सुचारु गर्न सक्छन् । आणविक हतियार सुचारु गरेको केही समयमा विश्वको जुनसुकै स्थानमा मारहान्न सक्ने क्षमता राख्दछ ।

आणविक हतियारको प्रयोग, ओसापसार, उत्पादन तथा भण्डारणमा बन्देज भएपनि संयुक्त राष्ट्रसंघमा भिटो शक्ति प्रयोग गरेर गतहप्ता अमेरिकाको प्रस्ताव बिफल पारेझैं शक्ति राष्ट्रहरुले संयुक्त राष्ट्रसंघमा आफ्नो शक्ति प्रयोग गरिरहेका छन् । यसको उदाहरण विगतमा मानवअधिकार हनन् हुनेगरी संयुक्त राष्ट्र संघकै आडमा विभिन्न देशमा भएका हमलालाई लिन सकिन्छ । तर, टीपीएनडब्लु महासन्धीले आन्तरराष्ट्रिय रुपमा मान्यता पाइसकेको अवस्थामा तुरुन्तै आणविक हतियार प्रयोग हुन सक्ने अवस्था देखिँदैन ।

त्यसमा पनि विगतमा अमेरिका तथा रसियाले आणविक हतियार पहिले प्रयोग गर्दिन भन्ने प्रतिवद्धता जनाइ सकेको अवस्थामा यस प्रकारका बिनाशकारी हतियार प्रयोग नहुन सक्छन् ।
आणविक हतियार सम्बन्धी अध्ययन गर्ने संस्था  STOCKHOLM INTERNATIONAL
PEACE RESEARCH INSTITUTE
(सिप्री) बुक २०२१ तथा आणविक हतियार सम्बन्धी अध्येयता न्यूक्लियर सोसाइटी नेपालका अध्यक्ष प्रोफेसर डा.कमलकृष्ण श्रेष्ठका अनुसार अहिले भण्डारण गरिएको आणवीक हतियारले विश्वलाई ३० पटक ध्वस्त पार्न सक्छ ।

सिप्रीका अनुसार अमेरिका र रसियमा मात्र ९० प्रतिशत आणविक हतियार रहेको अनुमान छ । कूल आणविक हतियार क्षमताको आधारमा रसियमा ४७.७ प्रतिशत, अमेरिकामा ४२.३ प्रतिशत, चीनमा २.६७ प्रतिशत, फ्रान्स २.११ प्रतिशत, वेलायत १.७१ प्रतिशत, पाकिस्तान १.२६ प्रतिशत, भारत १.२२ प्रतिशत, इजरायल ०.६९ प्रतिशत त्यसै गरी उत्तर कोरियामा ०.३४ प्रतिशत आणविक हतियार रहेको विभिन्न अनुसन्धानले अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ । आणविक शक्ति सम्पन्न राष्ट्रहरुको बीचमा रहने युक्रेन जस्ता आकारमा साना देशहरु चपेटामा पर्ने र “साँढेको जुधाइ बाच्छाको मिचाइ” हुने निश्चित छ ।

विभिन्न अध्ययन अनुसार रसियामा विभिन्न प्रकारका लगभग १७६० आणविक हतियार प्रयोग गर्न नमिल्ने अवस्थामा पुग्दैछन् या भनौं उसकै भाषामा रिटायर्ड हुँदैछन्, त्यसैले पनि आणविक हतियार प्रयोग गर्ने संकेतलाई नकार्न भने सकिन्न । विगतमा भएका विभिन्न युद्धहरुको झल्को दिनेगरी युक्रेनमा भएको बमबारीलाई हलुका रुपमा लिन सकिन्न ।

रसियन राष्ट्रपतिले आणविक हतियार प्रयोग गर्ने संकेत गर्नु विश्व मानव समुदायको लागि दुर्भाग्य हुनसक्छ । आणविक हतियार प्रयोग गर्नसक्ने इसाराको कारण हिजोको समयमा अमेरिकाले इराक, लिबिया, हाइटी, अफगानिस्तान तथा अन्य देशमाथि गरेको सैन्य कारबाही भन्दा रसियाको युक्रेन माथिको सैन्य कारबाही फरकढंगले अध्ययन गर्न जरुरी छ ।

रसियाको यो सैन्य हमलाले संसारका शक्ति राष्ट्रहरुको धु्रविकरण हुँदै गएको अनुभव गर्न सकिन्छ । सन् २०२२ को फरबरी २३ मा ह्वाइट हाउसले “सारा विश्वको प्रार्थना युक्रेनका जनताको लागि छ, किनकि उनीहरूले रुसी सैन्य बलहरूद्वारा अप्रत्याशित र अनुचित आक्रमणको सामना गरिरहेका छन् । राष्ट्रपति पुटिनले एक पूर्वनियोजित युद्ध छनोट गरेका छन् जसले जीवनको विनाशकारी क्षति र मानवा पीडा ल्याएको छ, यसको जिम्मेवार रुस एक्लै छ” भनेको छ । युक्रेन घटनाको कारण शीतयुद्धको समयको झल्को दिनेगरी अहिले अमेरिका र रसिया आमने सामने भएका छन् ।

रसिया अन्तरराष्ट्रिय रुपमा आणविक हतियार शक्ति सम्पन्न देश भएपनि उसको तुलनामा कमजोर मानिएको युक्रेन माथि उत्तर, पूर्व र दक्षिणबाट आक्रमण गर्ने पुटिनको आदेशपछि रसियन सेना युक्रेन प्रवेश गरेर सैन्य कारबाही गरिसकेको अवस्था छ । जसले गर्दा हजारौं युक्रेनीहरु देश छाडेर हिँडेको भिडियोहरु मिडियामा छाइरहेका छन् । यसै बीच युक्रेनले आफ्ना नागरिकलाई युक्रेन नछाड्न र १८ देखि ६० वर्षका नागरिकलाई सेनामा भर्तिहुन गरेको आग्रह हेर्दा युक्रेनी जनतामाथि अत्याचार गरिरहेको भन्ने पश्चिमा देशको भनाइलाई पुष्टि गरेको आभाष हुन्छ ।

आज युक्रेनलाई रसियाले आफ्नो छत्रछाँयामा राख्न गरेको अथक प्रयास, जसको कारण सयौंको संख्यामा नागरिक र सैनिकको मृत्यु भइसकेको छ । युक्रेनमा अहिलेको अवस्थामा आउनुमा विगतका घटनाका श्रृङखलाबद्ध फेहरिस्तहरु केलाउनु पर्ने हुन्छ । सन् २०१४ मा रसिया समर्थक राष्ट्रपति भिक्टर यानुकोभिचलाई उनको शासन विरुद्ध महिनौं विरोध प्रदर्शन भए पछि अपदस्थ गरिएको थियो त्यसपछि रसिया युक्रेन माथि सशंकित हुँदै गएको देखिन्छ ।

साथै युक्रेनले नेटोको सदस्य हुने चाहना गर्नु घातक परिणामा परिणत भएको छ । त्यसबेला रसियाले आफ्ना छिमेकी देश नेटो सदस्य हुन नसक्ने भनाइ बाहिरिएपछि युक्रेनले कहिल्यै नेटोमा सामेल नहुने लिखित ग्यारेन्टी दिएको थियो, तर रसियाले त्यसमा विश्वस्त हुन नसकेको देखिन्छ । त्यसबेला देखिनै युक्रेनको भनाइलाई संयुक्त राज्य अमेरिका र नेटोका सहयोगी राष्ट्रहरूले अस्वभाविक भन्दै आएका थिए ।

अहिले युक्रेन आफ्नो भौगोलिक अवस्थाको कारण र शक्तिशाली छिमेकी रसियाको कारण नेटो समूहसँग मित्रवत नभएले समस्यामा छ र एक्लै युद्धको सामना गरिरहेको छ । युक्रेनमा भएको सैन्य कारबाहीको प्रकृति हेर्दा रसियाको योजना के हो भन्ने थाहा पाउन सकिन्न । रसियालाई युक्रेन बाह्य शक्तिको कब्जामा रहेको आशंका भएको भए वार्ता तथा सम्वादबाट समस्याको समाधान निस्कन सक्थ्यो होला । यद्यपी निर्दोष जनताको ज्यान जाने थिएन भन्ने बुझाइ हो ।

रसियाले युक्रेनमाथि सैन्य कारबाही गर्नु र पुटिनले आणविक हतियार प्रयोग गर्ने धम्कि आज युक्रेनको स्वतन्त्रता मात्र होइन विश्वका मानवहरुको स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारमाथिको हस्तक्षेपको रुपमा लिन सकिन्छ । पश्चिमाहरुले रसियामाथि युक्रेनलाई दुईभागमा विभाजन गर्न खोजेको आरोप लगाइरहेका छन् । यसैबीच गत जनवरीमा बेलायतले रसियन राष्ट्रपतिलाई युक्रेनमा मस्को समर्थक कठपुतली सरकारको स्थापना गर्ने षड्यन्त्र गरेको आरोप लगायो ।

उक्त दावीलाई रसियाले बकवास हो भनी अस्वीकार गरेको थियो । अहिले पश्चिमा र रुस बीचको शक्ति प्रदर्शन गर्ने स्थानको रूपमा युक्रेनको अवस्था विकास भइरहेको अनुभव गर्न सकिन्छ र पश्चिमाको रसिया प्रतिको आशंका झन् बढ्दै गएको प्रष्ट देख्न सकिन्छ, जुन पश्चिमा मिडियाहरुले पुष्टि गर्न खोजिरहेका छन् । युरोप तथा पश्चिमाहरुका लागि यो आक्रमण सन् १९४० पछिकै घातक बन्दैछ, भने अन्य शक्तिहरुले एकठाँउमा उभिने र चलखेल गर्ने मौका पाएका छन् । शान्त र चतुर राष्ट्रपतिको रुपमा विश्वले हेर्ने रसियाप्रतिको नजर अहिले पेचिलो बन्दै गएको छ ।

संसार युद्धले हैन सम्वाद र मित्रताले जित्न सकिन्छ भन्ने विगतका उदाहरण हेरेर सम्वादको ढोका खोल्नुको रसियाको सामुन्ने कुनै विकल्प देखिँदैन । अहिलेको अवस्थामा आणविक हतियार प्रयोग  Mutually Assured Destruction सहमतिमा आफू आफूलाई ध्वस्त पार्ने MAD रोग त्याग्नुको विकल्प देखिँदैन ।

रसियाको अबको लक्ष्य भनेको नरसंहारको शिकार भएका युक्रेनी जनताहरूलाई बचाउनु र युक्रेनी सरकारलाई सहयोग गर्नुहुनुपर्छ भन्ने हो । युक्रेनको घटनाले नेपालमा समेत प्रभाव पर्दै गएको आँकलन गर्न सकिन्छ । अमेरिकी सहयोगका मिलिनियम च्यालेन्ज कर्पोरेसन सम्झौताका केही बुँदाले नेपाली जनमानसमा ल्याएको वितृष्णा र विरोधको प्रकृति हेर्दा प्रजातान्त्रिक स्वतन्त्र राष्ट्रहरूको स्वतन्त्र रुपमा बाँचन पाउने अधिकार लोप हुँदै गएको अनुभव गर्न सकिन्छ ।

त्यसैले साना देशहरुले संधै आणविक शक्ति देशहरुसँग त्रसित हुनुपर्ने अवस्था रहेको छ । विभिन्न समयमा संसारभर घटेका घटना हेर्दा सम्भव देखिँदैन तर पनि अपेक्षा गरौं आकारमा सानो र आर्थिक रुपमा कमजोर ठानिएका देश स्वान्त्ररुपमा बाँच्न सकुन् ।