• मंसिर १२ २०८१, बुधबार

पुरा हुँदै शेरबहादुरको माग, गाँजा उत्पादन, विक्री खुलाउँदै सरकार

फाल्गुन १२ २०७८, बिहीबार

काठमाडौं । गाँजा खानुलाई त्यति राम्रो मानिँदैन तर पनि मानिसहरु कतै न कतैबाट खोजेर खाइहाल्छन् । गाँजा भन्ने चीज कसैले खाने र स्वास्थ्य खराबी बनाउने मात्रै नभएर आज संसारभर यसबाट बन्ने विभिन्न प्रकारका नशालु चीजहरु र यसको अवैध कारोबारका कारण पनि यसका बारेमा चर्चा भइरहन्छ ।

तर केही समय यता आएर गाँजाका नराम्रा पक्षमात्रै नभइ यसबाट मानव स्वास्थ्यका लागि औषधिजन्य वस्तुहरु पनि बनाउन सकिने भएका कारण पनि गाँजाको चर्चा भइरहन्छ । नेपालमा गाँजा तान्ने संस्कार निकै लामो समयदेखि नै चल्दै आएको छ ।

आजसम्म गाँजा खाएको आरोपमा र गाँजाको अवैध कारोबार गरेको आरोपमा सयौं मानिसहरु नेपालका जेलहरुमा छन् । यसै सन्दर्भमा अब सरकारले यदि यसको उत्पादन, विक्री सुरु भयो भने अब सरकारले गाँजा खेतीलाई व्यवस्थित गर्नुपर्ने हुन्छ । त्यसरी व्यवसायिक रुपमा यसको खेती सुरु गरियो भने प्रहरी लगाएर गाउँगाउँमा गरिएका गाँजा खेती नष्ट गर्नुपर्ने छैन बरु संरक्षण र सुरक्षिता गर्ने नीति बनाउनु पर्नेहुन्छ । किन कि आजसम्म गाँजा खेती गर्नेलाई सरकारले प्रहरी परिचालन गरेर पक्राय गरी सजाय गर्दै आएको छ ।

हजारौं वर्षअघि महादेवका पालादेखि नै यसको प्रयोग गर्दै आइएको भन्ने भनाई रहेको छ । अहिले पनि जानकारहरु गाँजाको नशा रक्सी तथा अन्य नशालु पदार्थको भन्दा कम खराब हुनेखालको रहेको बताइरहेका छन् । खासगरी पहाडी तथा हिमाली भूभागमा बस्नेहरुले चिसोबाट बच्नका लागि यसको प्रयोग गर्ने गरेको बताइन्छ ।

अझैपनि विभिन्न मन्दिरहरुमा बस्ने बाबाहरु (शिवका भक्तहरु हुन्) संसार भर गाँजाबाट विभिन्न औषधिहरु बनाएर प्रयोग गरिहेका बेला नेपालमा पनि यसलाई खुला गर्नुपर्ने माग उठ्दै आएको आवस्थामा सरकारले गाजालाई औषधिमा प्रयोग गर्न दिनेगरी कानुन निर्माणको तयारी थालेको छ । गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको छ ।

मन्त्रालयले विधेयक तयार पारेर फागुन १० गते मंगलबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषदको सैद्धान्तिक सहमतिका लागि पठाएको मन्त्रालयको लागु औषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार विधेयकमा गाँजाको उत्पादन, संकलन, विक्रि वितरण र निकासी कसरी गर्ने भन्ने विषयमा समेटिएको छ ।

त्यो विधेयक कानुन निर्माण भएपछि तत्काल कार्यान्वयनमा ल्याउने तयारी गृहको छ । यो विधेयक कानुन भएर आएपछि लागु औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज खुल्नेछ । ‘लागु औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरुपमा लगाएको बन्देज यो विधेयक कानुन भएर आएपछि खुल्छ,’ उपसचिव उपाध्यायले भने ।

मन्त्रालयले केही दिन अघिमात्रै सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनामा ‘गाँजाको औषधीय प्रयोगका लागि कार्यविधि तय गर्ने उल्लेख थियो । यो विधेयक कानुन बनेर आएपछि त्यसैमा टेकेर कार्यविधि बनाउने तयारी मन्त्रालयको छ ।
काठमाडौँ विश्वविद्यालयले गाँजाको अनुसन्धान गर्न र थुप्रै संघ संस्था तथा फर्महरूले गाँजाको खेती गर्न गृह प्रशासनसँग अनुमति मागिरहेका छन् । यसअघि पूर्वमन्त्री शेरबहादुर तामाङले पनि गाँजामाथीको प्रतिबन्ध खुलाएर औषधिजन्य पदार्थमा प्रयोग गर्न पाउनु पर्ने र त्यसो भएमा गाँजाबाट नेपालीले धेरै आय आर्जन गर्न सक्ने बताउँदै आएका थिए । पहिलो चोटी गाँजाबाट कमाइ गर्न सकिने भन्दै कुरा चलाउने उनै तामाङ हुन् ।

संसारका अन्य देशहरुमा गाँजाको उत्पादन र व्यापारमा प्रतिबन्ध लगाइएका कारण नेपालमा उत्पादन भएको गाँजा विदेश निर्यात गर्न सकिने अवस्था नभएपनि नेपालमै औषधिजन्य पर्दाथ निर्माणमा भने सहयोग नै पुग्ने देखिन्छ । नेपालमा गाँजा मात्रै होइन अन्य वस्तुहरुको उत्पादनमा वृद्धि गरी स्वदेश तथा विदेशमा निर्यात गर्नसक्ने खालका वस्तु बनाउँदै जाँदा राम्रो नै हुन्छ ।