काठमाडौँ । एउटा घटनालाई लिएर नेपालको चलचित्र क्षेत्र अहिले चर्चा र विवादमा आएको छ ।त्यसो त चलचित्र क्षेत्र सर्वसाधारणको बीचमा सधै चर्चामा भइरहनु पर्ने क्षेत्र हो । अहिले चलचित्र क्षेत्र चर्चामा त छ तर कुनै चलचित्रको कारणले होइन कि एक चलचित्र कलाकार र चलचित्र क्षेत्रकी गायिकाको सम्बन्धलाई लिएर चलचित्र क्षेत्र फेरि एकपटक संचार माध्यम र सर्वसाधारणका बीचमा चर्चामा आएको छ । अहिलेको समयका सर्वाधिक चर्चित र लोकप्रिय मध्येका एक मानिएका चलचित्र अभिनेता पल शाह र उदाउँदै गरेकि व्यस्त पार्श्वगायिक समिक्षा अधिकारीको सम्बन्धलाई लिएर चलचित्र क्षेत्र फेरि एकपटक जनताको बीचमा चर्चामा आएको छ ।
प्रसंग सुरु गरौँ पल शाहको सार्वजनिक अपिलबाट । मंगलबार आफनै जन्मदिनको अवसर पारेर सामाजिक संजाल मार्फत अभिनेता पल शाहले एक सार्वजनिक अपिल गरेका छन् । जसमा उनले नाम उल्लेख नगरेरै गायिक समिक्षा अधिकारी र आफ्नो सम्बन्धलाई लिएर केहि मानिसहरु आफू विरुद्ध लागेको आरोप लगाएका छन् । आफू विरुद्धका ‘अनलाइन माध्यमहरुमा प्रकाशित समाचार र अडियो रेकर्डहरु हेर्दा र सुन्दा आफू स्वयम् आश्चर्यचकित भएको’ उनले बताएका छन् ।
उता यसअघि गायिका समिक्षा अधिकारीको एक अडियो अन्तरवार्ता सोमबार सार्वजनिक भएको थियो भने त्यो भन्दा केहि दिन पहिले शनिबार उनीहरु दुवैजना एउटै अन्तरवार्तामा सँगै रहेका थिए । अधिकारीको टिसिने नेपाल नामको युटुव च्यानलमा सार्वजनिक भएको अडियो अन्तरवार्तामा अधिकारीले आफूलाई मायाजालमा पार्न अभिनेता पल शाहले करिव डेढवर्ष पहिले एउटा गीतको भिडियो निर्माण स्थलमा योजनावद्ध रुपमा बोलाएर फकाएर हेरेचाह गर्दै माया जालमा पारेको तर अहिले आएर अलपत्र छोडेको आरोप लगाएकी छिन् ।
आफू नाबालिक रहेकी र आफूलाई पल शाहले ललाई फकाई गरेर माया जालमा पारि डेढवर्ष पछि आएर छोड्न लागेको अधिकारीले सो अडियोमा आरोप लगाएकी छिन् । अन्तरवार्ताको क्रममा गायिका अधिकारीले अभिनेता शाहलाई तँ भनेर समेत सम्बोधन गरेकी छिन् । सो अन्तरवार्ताका क्रममा पलले आफूलाई मानसिक तथा मनोवैज्ञानिक हिंसा गरेको भन्दै आफूलाई सल्लाह दिनेहरुलाई समेत पलले किनेर सल्लाह नदिने बनाएको पनि आरोप लागेकी छिन् । पल र अरु केहि मिलेर आफूलाई कुटपिट समेत गरेको भन्दै उनलाई सजाए दिन प्रहरीसँग उजुरी समेत गरेको बताएकी छिन् ।
विगत केहि समयदेखि प्रेम सम्बन्धमा रहेका भनेर त कहिले उनीहरु आफैले प्रेममा नरहेको भनेर भन्दै आएका पल र समिक्षाको विवाद अहिले चारैतिर सुनिने गरि सतहमा आएको छ । अनलाइन तथा विभिन्न युटुव च्यानलहरुमा पल समिक्षाका विवादित विभिन्न सामग्री आइरहदा अभिनेता पल शाहले मंगलबार अपिल लेखेका हुन् ।
पत्रकार तथा दर्शक महानुभावहरुमा नमस्कार भनेर सम्बोधन गर्दै शाहले ‘विगत केहि समयता मसँग एकजना गायिकाकको नाम जोडेर केहि अनलाइन संचार माध्यमहरुमा ‘रियल हिरो कि प्ले ब्वाई’ भन्ने जस्ता शिर्षकमा, मेरो अन्य महिला साथीहरुको मन्जुरीबिना निजहरुको समेत तस्वीर राखी बनाइएको रिपोर्ट र अन्य विभिन्न भ्रामक शिर्षक राखी आपत्तिजनक शब्दहरु प्रयोग गरि तथ्यहिन लान्छना लगाई मेरो तथा निज गायिकाको समेत व्यवसायिक एवम् व्यक्तिगत जीवनमा धक्का पुग्ने गरि प्रकासित र प्रसारित भएका रिपोर्ट, अडियो तथा समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भई सो बारेमा मेरा दर्शक, शुभचिन्तकहरुलाई सत्य तथ्य उजागर गर्ने मनसायका साथ यो अपिल जारी गरेको छु ।’ भन्दै शाहले ती प्रसारित अडियोहरुमा बज्ने आवाज आफ्नो आवाजसँग मिलेको जस्तो भएपनि उक्त आवाज ‘आफ्नै हो भन्नेमा पूर्ण आशंका रहेको’ भन्दै ‘अहिलेको प्रविधिको कुटिल प्रयोगबाट’ जस्तो सुकै र जुनसुकै आवाजलाई भिन्न भिन्न ढंगबाट प्रसारण गर्न सकिने कुरा सामान्य भइसकेको उनले बताएका छन् ।
आफूले विभिन्न चलचित्रहरुमा अभिनय गर्न क्रममा रेकर्ड गरिएका संवादहरुलाई वास्तविक जीवनसँग जोड्ने प्रयास गरेर आफ्ना केही व्यवसायिक प्रतिस्पर्धी पुरुषहरुले गायिका समिक्षा अधिकारीलाई आफ्ना विरुद्ध बोल्न र प्रमाण सिर्जना गर्न उकास्ने गरेको आफूलाई जानकारी भएको उनले बताएका छन् । गायिका अधिकारीले आफ्ना प्रतिस्पर्धी पुरुषहरुले ‘उकासे बमोजिम गर्दै आएकी भन्ने कुरा पछिल्ला रिपोर्टहरुले पुष्टि भएको’ उनले भनेका छन् । त्यसरी उनलाई ’आफू विरुद्ध उकास्ने गरेको’ प्रमाण आफूसँग सुरक्षित रहेको भन्दै शाहले ‘आधिकारिक निकायले माग गरेको खण्डमा ती प्रमाणहरु पेश गर्ने’ बताएका छन् ।
विगतमा विधिको शाषण र नागरिक स्वतन्त्रताको पक्षमा अनुकरणीय भूमिका खेलेको र गौरवमय इतिहास बोकेको नेपाली प्रेसमा रहेका केहि सञ्चार माध्यम एकाङ्की र गैह्रजिम्मेवार भएको पाउँदा आफूलाई दुःखि तुल्याएको भन्दै आफूसँग नाम जोडेर समाचार प्रकाशित गर्दा स्वतन्त्र प्रेसले आफूलाई सोध्ने वा आफ्ना भनाई राख्न दिने अवसर पनि नदिएको गुनासो उनले आफ्नो अपिलमा गरेका छन् ।
कुनै अविवाहित नारी, छोरी, चेलीबेटीको नाम र तस्वीर समेत सार्वजनिक गर्दै आफूसँग हुँदै नभएको प्रेम र विवाहका समाचार बनाएर चरित्र हत्या गर्ने कुनै पनि मिडियालाई छुट हुँदैन र हुनुहुँदैन उनले भनेका छन् । उनले लेखेका छन्, ‘एक अविवाहित गायिका, नायिका र उच्च शिक्षा पढ्दै गरेकी कसैकी छोरी चेलीबेटीको नाम र तस्विर समेत सार्वजनीक गर्दै मसँग हुँदै नभएको प्रेम र विवाहका समाचार बनाएर हाम्रो चरित्र हत्या गर्न कुनै मिडियालाई छुट हुँदैन, हुनुहुँदैन ।’
आम संचारमा प्रकाशित यस्ता किसिमका भ्रामक समाचारले आफू तथा अरु नारी कलाकारहरुको व्यक्तिगत जीवनमा पर्ने नकारात्मक असरको अनुमान समेत गर्न नसकिने उनले जनाएका छन् । आफूसँग नाम जोडेर प्रकासित उल्लेखित समाचारहरु वास्तविकता भन्दा धेरै टाढा रहेको भन्दै सो बाट भ्रमित नहुन उनले आफ्ना शुभचिन्तकहरुलाई अपिल गरेका छन् ।
पल र समिक्षा विवादका बीचमा शनिबार फागुन ७ गते सार्वजनिक भएको एक अन्तरवार्तामा उनीहरु दुबैजना एकसाथ एक युटुव च्यानललाई अन्तरवार्ता दिंदै आफूहरु बीचमा साथिसाथि बाहेक अरु कुनै त्यस्तो सम्बन्ध नरहेको बताएका थिए भने सोमबार साँझ समिक्षा अधिकारीले पललाई दोष लगाएको एक अडियो अन्तरवार्ता सार्वजनिक भएको थियो । मंगलबार पलले आफ्नो अपिल सार्वजनिक गरेका छन् ।
यहि फागुन १३ गते पल अभिनित चलचित्रमा यस्तो गीत गाउँछु २ प्रदर्शनमा आउँदैछ । सो चलचित्र प्रदर्शनको समयमा दर्शकहरुको ध्यान खिच्न उनीहरुले योजनावद्ध रुपमा यस्तो विवादको अभिनय गरेका हुन् कि भनेर समेत कयौं चलचित्र विश्लेषकहरुले आंकलन गरेका छन् । चलचित्रको प्रचारको लागि मात्रै होइन सामान्य रुपमा पनि मनोरञ्जन क्षेत्रका उदाउँदा कलाकारहरु यसरी विवादमा तानिनु भने पक्कै पनि राम्रो होइन । यी जे जस्तो भएपनि यिनीहरु दुईको यस्तो विवादबाट आउने समयमा यो क्षेत्रका अरु नयाँ तथा पुराना कलाकारहरुले भने सचेत र सजक हुनै पर्ने देखिन्छ ।