काठमाडौं । अब छिटै विजुली बाल्न पाइन्छ भनेर आशा गरी बसेका जुम्ला छालसेरीका जनताले १२ वर्षसम्म पनि विजुली बाल्न पाएका छैनन् । कनकासुन्दरी ७ रोकायाबाडामा निर्माणधीन छालसेरी जलविद्युत आयोजना १२ वर्षसम्म पनि निर्माणाधीन अवस्थामा रहन पुगेपछि स्थानीय जनताले विजुलीको मुख देख्न नपाएका हुन् ।
लामो र पट्यारलाग्दो पर्खाइपछि पनि स्थानीय जनताले विजुली बाल्न नपाएपछि स्थानीय जनता खिन्न देखिएका छन् । १२ वर्षमा खोलो पनि फर्कन्छ भन्ने मान्यता राख्ने स्थानीय अहिले केही काममा ढिलाइ हुन गयो भने त्यसलाई ‘छालसेरीको विजुली’को उपमा दिने गरेका छन् ।
कनकासुन्दरी ७ र ८ वडाका ११ सय घरधुरी १२ वर्षदेखि विजुली बाल्ने आशमा विजुली घरतिर आँखा तर्दै बसिरहेका छन् । कर्णाली प्रदेशसभा सदस्य तथा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायको जन्म गाउँ भएर पनि यसले उज्यालो देख्न पाइरहेको छैन ।
स्थानीयले आयोजना निर्माण छिटो गर्न र गाउँमा बिजुली पु¥याउन रोकाय सांसद हुँदादेखि नै पटकपटक आग्रह गर्दै आएका छन् । रोकाया मन्त्री बनेपछि स्थानीयको विजुली बाल्ने आशा निकै प्रवल बनेर गएको थियो । तर अपेक्षाकृत यो कामले गति पाएन ।
मन्त्री रोकायले यो आयोजना सम्पन्न गर्नका लागि १ करोड ३० लाख रुपैयाँ सांसद कोष र निर्वाचन क्षेत्र कोषबाट छुट्टयाइसकिएको स्थानीय जनतालाई बताएका छन् । उनले उल्टै भन्ने गरेका छन्, ‘बिजुली बाल्न बजेटको अभाव छैन तर उपभोक्ता समितिले नै आयोजना बनाउन ढिलाइ गरिरहेको छ । उपभोक्ताको लापरबाहीका कारण गाउँ अहिले पनि अन्धकार छ ।’
यही योजनाको लागि तत्कालिन पाण्डगुफा गाउँ विकास समितिबाट पहिलोपटक १५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको थियो । त्यसपछि क्रमशः दोस्रो पटक १३ लाख रुपैयाँ, तेस्रो पटक सात लाख रुपैयाँ, गरिबी निवारण कोष जुम्लाबाट ४८ लाख रुपैयाँ, कनकासुन्दरी गाउँपालिकाबाट २० लाख रुपैयाँ, अध्यक्ष र उपाध्यक्ष कोषबाट १३ लाख रुपैयाँ, कनकासुन्दरी ८ ले पहिलोपटक १३ लाख रुपैयाँ, दोस्रोेपटक ७ लाख रुपैयाँ र वडा नम्बर ७ बाट पहिलो पटक ६ लाख रुपैयाँ, दोस्रो पटक पाँच लाख रुपैयाँ बजेट दिइसकेको छ ।