• बैशाख २२ २०८३, मंगलवार

हाम्रो मागअनुसार नै एमसिसी आएको हो : प्रवक्ता महत

फाल्गुन ९ २०७८, सोमबार

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मागअनुसार नै अमेरिकी सहायता परियोजना (एमसिसी) आएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मलेनमा प्रवक्ता महतले भने ‘हाम्रो मागअनुसार परियोजना आएको हो , हामीले निवेदन दिएको हो ।

त्यतिबेला माओवादीबाट बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो, नारायणकाजी परराष्ट्रमन्त्री । अहिले विरोध गर्नेहरू मन्त्री भएर अनुमोदन गर्ने अर्थात् २०१२ देखि २०१७ सम्म सबै दल र नेताहरूको प्रयासमा टुंगो लागेको हो ।’

गठबन्धन दलहरूमा एमसिसीबारे फरक मत रहे पनि सहमतिमै प्रतिनिधिसभामा टेबल भएको उनको भनाइ छ । एमसीसी स्वीकार गर्दा अमेरिकी सेना आउँछ भनेर नियोजित रुपमा प्रचारबाजी गरिएको पनि उनले बताए ।

‘यो कसरी राष्ट्रघाती र राष्ट्र विरोधी भयो ? सेना आउँछ भनेको छ, काम छैन अमेरिकाको ? किन आउँछ, यो अचम्म छ । यो नेपालको इतिहासमा यस्तो झुटो र नियोजित प्रचार कहिल्यै भएको थिएन,’ प्रवक्ता महतले भने ।

त्यस्तै प्रवक्ता महतले ‘चीनले भनेजस्तो’ कतैबाट एमसिसी परियोजनाका लागि दबाब नआएको बताए । उनले अगाडि भने, ‘हामीलाई कसैको दबाब आएको छैन। अमेरिकी सरकारबाट तपाईंहरूले नै मागेको परियोजना हो, हामीले त्यहीअनुसार सहयोग गर्न खोजेका हौं भन्ने भएको हो ।’

प्रवक्ता महतले  थपे, ‘त्यो अस्वाभाविक हैन। उहाँहरूले त्यति भन्नु दबाब हैन। दायित्व नै हो। हामीले यसलाई दबाबका रुपमा लिएका छैनौं। चीनले भनेको जस्तो हामीलाई कुनै दबाब छैन। हामी कसैको दबाबमा पर्दैनौ। यो हाम्रो सार्वभौम संसद्को विषय हो। यसलाई हामी आफै निर्णयमा पुर्याउन सक्छौं।’