काठमाडौँ । सर्वाधिक चर्चित तथा लोकप्रिय लोक दोहोरी सर्जक विष्णु खत्रीले नयाँ गीत बजारमा ल्याएका छन् । ‘आमा म मरेको छैन’ बोल रहेको सो गीतका शब्द उनका आफ्नै हुन् भने संगीत र स्वर पनि उनकै रहेको छ । ७१औं प्रजातन्त्र दिवसको दिन शनिबार सार्वजनिक गरिएको खत्रीको सो लोकलयको गीतमा जनताको जीवन परिवर्तनको खातिर भएका विभिन्न आन्दोलन र क्रान्तिमा आफ्नो ज्यानको आहुति दिएका शहीदहरुले देशमा जीवित रहेका आफ्ना आमाबुवा, परिवार, आफन्त तथा साथीभाईहरुलाई दिएको सन्देश जस्तै गरि भाका प्रस्तुत गरिएको छ ।
आफ्नो अधिकार माग्ने जनताका गाउँबस्तीहरु जलाउने, चेलीबेटीहरुको अस्मिता लुट्ने गरेका शाषकहरुको विरुद्धमा लाग्दालाग्दै शाषकहरुद्वारा चारैतिर घेरिएर हातखुट्टा बाँधिई देशको लागि आफ्नो प्राणको आहुति दिएका ती महान शहीदहरु बोलेको जस्तो लाग्ने शब्दहरुलाई लोकभाकामा उतारेर गायक खत्रीले सुमुधुर आवाजमा गाएका छन् ।
दुरुस्तै शहीदले नै बोलेको जस्तो लाग्ने गीतमा आधारातमा झुपडीमा आगो लाग्दा, हातखुट्टा बाँधेर चारैतिरबाट घेरेर दाजुभाईहरुको आँखै अगाडि दिदीहरुको अस्मिता लुटिँदा र किसानका गोठमा भएका गाई बाख्रा भट्मास भुटिएझैं भुटिँदा एउटा सचेत युवाले टुलुटुलु हरेर बस्ने भूल गर्न नसक्ने भन्दै मुक्तितिर लागेको कुरा गीतमा व्यक्त गरिएको छ । गीत भन्छ, ‘आधारातमा झुपडीमा आगो लाइदा खेरि, हातखुट्टा बाँधेपछि चारैतिर घेरी । आँखै अगाडि ठुलीदिदीको अस्मिता लुटिँदा, गोठका गाई बाख्रा पनि भट्टझैं भुटिँदा । मुक्तितिर लागेको हुँ भूल गरेको हैन, सम्झी सम्झी नरोऊ आमा म मरेको छैन ।’
वास्तवमा शहीदलाई सम्झेर उनका आमा बुवा, श्रीमती, छोराछोरी मात्रै होइन साथीभाई र देशै रुने गर्छन् । गीतले शहीदलाई सम्झेर रुने सबैलाई शहीदले नै सम्झाउन खोजेको देखाएको छ । आम जनताको मुक्तिको लागि आफू शहीद भएको भन्दै आफू नमरेको भनेर सम्झी सम्झी नरुन सबैलाई शहीदले सम्झाएका छन् । कयौं मानिसहरु भौतिक रुपमा बाँचेर पनि ज्युँदै मरिरहेका हुन्छन् भने वीर शहीदहरु भौतिक रुपमा मरेर पनि जनता र देशको नजरमा बाँचिरहेका हुन्छन् । त्यसकारण घर परिवार र आमाबुवाले आफ्नो शहीद भएको छोरालाई सम्झदा बिहानपख पूर्वतिरबाट उदाउने घामलाई हेरेर चित्त बुझाउनु पर्ने भनिएको छ । गीत भन्छ, ‘बाँचेर नै ज्यूँदै मर्छन मान्छे कति कति, मरेर नि बाँचेका छन् वीरहरु जति । बिहानी पख उठेपछि पूर्वतिर हेरी, आफ्नो छोरा ठान्नु बाबा घाम झुल्किँदा खेरि ।’
देशमा आन्दोलन र क्रान्तिहरु हुँदा र देश परिवर्तनको लागि बलिदान गर्नेहरु प्राय गरेर युवाहरु नै हुने गरेका हुन्छन् । बलिदानी दिने युवाहरु कोही त भर्खर बिहेवारी गरेका समेत हुन्छन् । त्यस्ता युवाहरुका जीवनसाथिको गर्भमा शहीदहरुको नासो समेत हुने गरेको हुन्छ । आफ्नो जन्मदै गरेको नासो अर्थात् सन्तान समेत देख्न नपाएर युवाहरु शहीद भएका हुन्छन् । परिवर्तनको खातिर देशमा बलिदान हुँदै गर्दा गर्भमा रहेको सन्तान छोरा थिए कि छोरी थिए ? तिनलाई पनि न्वारनमा डोरी बाँध्न नपाएको भन्दै फेरि पनि सामन्तले उस्तै गरि शोषण गर्यो भने ती सन्तानहरुलाई जीवनसाथिले कसरी पो पालन पोषण गर्ने हौली भन्ने शहीदले सोचेको कुरा कल्पना गर्दै सर्जक गीतका शब्दमा भन्छन्,‘गर्भभित्र भाको नासो छोरी थिइन् कि छोरो, देशले मेरो बली माग्यो बाध्न पाइन डोरो । कसोगरी गर्ने हौली तिनको पालन पोषण, फेरि पनि सामन्तले गरेभने शोषण ।’ मुक्तितिर लागेको तर आफूले कुनै भूल नगरेको भन्दै आफ्नी श्रीमतीलाई शहीद गीतमा भन्दछन, ‘मुक्तितिर लागेको हुँ भुल गरेको हैन, सम्झी सम्झी नरोऊ प्यारी म मरेको छैन ।’
हरेक वर्ष तीज आउँदा, दशैं तिहार आउँदा सबैका चेलीबेटीहरुले आफ्नो माइती र दाजुभाईलाई सम्झने गर्दछन् । यस्तो अवस्थामा यदी दाजुभाई भएनन् भने दिदी बहिनीको मन रुन सक्छ । देशका लागि लड्दा लड्दै शहीद भएको भाईले दिदीलाई दिने शन्देश दिंदै गीतका शब्दमा यस्तो भनिएको छ, ‘तीज र तिहार आउँदा मन रोला जातिविधि, भाई किन फर्केन खै भन्नुहोला दिदी। देशको लागि लड्दालड्दै शहीद भाछु आज, हजुरले नदेखे नि छु नि जनता माझ।’ गीतमा शब्दहरु भन्छन्, ‘सम्झी सम्झी नरोऊ दिदी, म मरेको छैन ।’
जब देशमा अन्याय र अत्याचारले सीमा नाघ्छ युवाहरुको तातो रगत उम्लिएर कि स्वतन्त्र हुन मन लाग्छ कि त मर्न नै मन लाग्छ । खाना पानी केही नखाएर भएपनि लड्दा लड्दै स्वाधिनताका लागि रणभूमिमा ढल्न परेपनि युवाहरु पछि पर्दैनन् । देशको लागि आफ्नो प्राणको समेत बलिदानी गर्न पछि नपर्ने ती युवाहरुको आषा र अपेक्षा भने एउटै हुने गर्छ, आफूले गरेको बलिदानी कहिल्यै खेर नजावस भन्ने । शहीदहरुको यस्तो भावनालाई समेट्दै खत्रीले गीतमा भनेका छन्, ‘अन्याय र अत्याचारले जब सीमा नाघ्यो, तातो रगत उम्लिएर मरु मरु लाग्यो । देशकै लागि ढलेको हुँ नपिएरै पानी, कहिल्यै खेर नजावस है मेरो बलिदानी ।’ शहीद भएको आफ्नो प्यारो साथिलाई सम्झिएर विरह गर्ने साथिहरुलाई सम्झाउँदै गीत भन्छ,‘सम्झी सम्झी नरोऊ संगी म मरेको छैन ।’
इतिहासमा विभिन्न वीर विराङ्गनाहरुको बलिदानीपूर्ण संघर्षले आजसम्म स्वाधीन रहेको हाम्रो महान् देश नेपालप्रति गौरव गर्दै, देश र जनताको लागि आफ्नो अमूल्य जीवन बलिदान गर्नु भएका तमाम शहीदहरुप्रति हार्दिक श्रद्धासुमन भन्दै सर्जक विष्णु खत्रीले ल्याएको सो गीतको लिरिकल भिडियो सहित विष्णु खत्री युटुव च्यालन मार्फत् सार्वजनिक गरिएको छ । देश र जनताको लागि आफ्नो जीवनको बलिदान गर्ने शहीदहरुको सम्झनाका समर्पण गर्दै खत्रीले सार्वजनिक गरेको उक्त गीत पक्कै पनि तपाईंलाई पनि मन पर्ला ।
सुनौं गीत, हेरौं भिडियो ⇓