• मंसिर १२ २०८१, बुधबार

सन्दर्भ एमसीसीको, स्मरण महाकाली भारतलाई बुझाइएको !

फाल्गुन ८ २०७८, आईतवार

२०५२ सालमा भारतसित भएको महाकाली सन्धिका कारण तत्कालिन नेकपा एमाले विभाजन भएको थियो । सन्धिका पक्षधरमध्येका केपी ओली हालका नेकपा अध्यक्ष छन् । ओलीले त सन्धि पारित गर्न मूख्य भूमिका नै खेलेका थिए । त्यसका लागि उनले पार्टी विभाजन भए होस् भनेर कठोर कदमहरु चालेका थिए ।

सन्धि गर्न तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका थिए । उनले भारतीय समकक्षी पीभी नरसिंह रावसँग २९ माघ २०५२ मा हस्ताक्षर टुंग्याएका थिए । अमेरिकी एमसीसी पास गर्न पनि देउवा नै अहिले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री छन् । सन्धिको तत्कालिन नेकपा एमालेले पनि स्वागत गरेको थियो । ४ असोज २०५३ मा संसदको दुई तिहाईले सन्धि पारित गरेको थियो ।

सन्धिको अग्रिम हस्ताक्षरको माहोल तयार गर्ने डा. प्रकाशचन्द्र लोहनी त्यतिबेला परराष्ट्रमन्त्री थिए । सन्धिका लागि तत्कालिन भारतका विदेशमन्त्री प्रणव मुखर्जी दिन दिवसीय नेपाल भ्रमणका लागि आएका थिए । तीन दिन सन्धिका लागि गृहकार्य भएको थियो ।

१५ माघ २०५२ मा तीन दिनको छलफलपछि लोहनी र मुखर्जीको उपस्थितिमा सन्धिको प्रारम्भिक हस्ताक्षर भएको थियो । सन्धि त भयो तर त्यसको कार्यान्वयन भएन । यसकारण पनि यसबारे प्रश्न उठेको छ ।

महाकालीले कसरी फुटायो एमाले :

भारतसँग महाकाली सन्धि भइसकेको थियो । संविधान अनुसार त्यसलाई संसदको दुई तिहाईले पारित गर्नुपर्ने थियो । नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीमा खासै विमति देखिएन । तर, तत्कालीन नेकपा एमालेभित्र ठूलै रडाको मच्चियो ।

संसदबाट पारित गर्ने विषयमा तत्कालिन नेकपा एमालेभित्र चर्को विवाद भयो । एमालेभित्र सन्धिको पक्ष विपक्ष भएपछि तत्कालिन एमाले नेता केपी ओलीको संयोजकत्वमा सात सदस्यीय महाकाली सन्धि अध्ययन कमिटी गठन गरिएको थियो ।

ओली समितिले प्रतिवेदन बुझाएपछि शारदा बाँध, टनकपुर बाँध र पञ्चेश्वर परियोजना समेतको महाकाली नदीको हकहित र विकास सम्बन्धी सन्धिलाई हेर्ने दृष्टिकोणको सवालमा तत्कालिन एमालेभित्र दुईवटा फरक दृष्टिकोणहरु देखापरेका थिए ।

कमिटीमा झलनाथ खनाल, भरतमोहन अधिकारी, प्रेमसिंह धामी, हिरण्यलाल श्रेष्ठ, ऋषिराज लुम्साली र खगराज अधिकारी सदस्य थिए । प्रेमसिंह धामी दार्चुलाकै नेता थिए । उनको पछि जीप दुर्घटनामा रहस्यमय मृत्यु भयो ।

लुम्साली पनि कञ्चनपुरका भएकाले महाकालीबारे राम्रो जानकार थिए । उक्त कमिटीले सन्धि पास गर्न १३ बुँदे सुझाव दिएको थियो । प्रतिवेदन तयार पार्न गठन भएको समितिका सात सदस्यमध्ये चार सदस्यले सन्धि पास गर्न नहुने भनी धारणासमेत प्रस्तुत गरेका थिए ।

एउटा पक्षले महाकाली राष्ट्रहित भन्यो, जसमा कार्यदलकै संयोजक केपी ओली थिए । अको पक्षले महाकालीलाई राष्ट्रघाती भन्यो जसको नेतृत्व बामदेव गौतमले लिएका थिए । कुनै हालतमा सन्धि पारित गर्नुपर्ने जोडबल केपी ओलीको थियो ।

उनी नै सन्धि अध्ययन कमिटीका संयोजक थिए । कमिटीका हिरण्यलाल श्रेष्ठलयायत चराजना सन्धि पास गर्न नहुने पक्षमा खरोरुपमा प्रस्तुत भएका थिए ।

‘सन्धिमा सहमति गर्दा हस्ताक्षर गर्न महासचिव र आफू भाङ् खाएर गएका थियौ ?’ भनेर सन्धिमा थप सुधारको अडानमा रहेका नेताहरूलाई ओलीले चुनौति दिएका थिए ।

छ दिनसम्म एमाले बैठक बस्यो । निष्कर्ष निकाल्न निकै हम्मे पर्यो । केन्द्रीय कमिटीमा निर्र्र्णय नै गर्नुपरेको थियो । पहिलोपटक खुला मतदान हुँदा सन्धिको पक्ष र विपक्षमा १७-१७ मत पर्यो ।

त्यही दिन दोस्रो पटक गोप्य मतदान हुँदा पक्ष र विपक्षमा १७र१६ भई बहुमतले अथवा एक मतको अन्तरले सन्धि अनुमोदन गर्ने निर्णय भयो । यही घटना एमाले विभाजनको कारण बन्यो ।

कहाँ चुके नेताहरु :

सन्धिबारे २०५३ सालमा ऋषिराज लुम्सालीले पुस्तक प्रकाशित गरेका थिए । उनले कालापानी क्षेत्रमा भारतीय सैनिक रहेको तथ्य समेत उल्लेख गरेका थिए । ‘महाकाली नदीबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिको लागि संघर्ष गरौं’ नामको पुस्तक त्यतिबेलाको परिस्थितिबारे ऐतिहासिक दस्तावेज पनि हो ।

त्यतिबेला नेकपा एमालेभित्र सन्धिमा केही बुँदा र विषय पुनरावलोकन गरी परिवर्तनसहित पारित गर्नुपर्ने पक्ष पनि देखिएका थिए । तर, तत्कालिन नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र केपी ओली बरु पार्टी फुटोस् सन्धि पारित गराएरै छाड्ने अडानमा देखिएका थिए ।

संसदको दुवै सदनमा सन्धिबारे मतदान हुने भयो । तत्कालिन नेकपा एमालेले पक्षमा मतदान गर्न व्हीप नै जारी गरेको थियो । तर, तत्कालिन एमाले अध्यक्ष मनमोहन अधिकारीसहित बामदेव गौतम, सहाना प्रधान, राधाकृष्ण मैनालीसहित ३१ जना सांसद मतदानमा अनुपस्थित भएका थिए ।

सन्धिको पक्षमा दुवै सदनको गरी २२० जना सांसद थिए । ३१ जना अनुपस्थित भए । अनुपस्थित हुनेमा नेकपा एमालेका नेताहरु मात्र नभई राप्रपा सांसद राजेश्वर देवकोटा पनि थिए ।

विपक्षमा मतदान गर्नेहरुमा नेमकिपा अध्यक्ष समेत रहेका तत्कालिन सांसद नारायणमान बिजुक्छे र नेमकिपाकै अर्का सांसद आशाकाजी बासुकला, तत्कालिन नेकपा एमालेका सांसदहरु भक्तबहादुर रोकाय, हिरण्यलाल श्रेष्ठ, पद्यमरत्न तुलाधर, मोहनचन्द्र अधिकारीका अलावा नेकपा मसालका सांसदहरु नवराज सुवेदी र परी थापा थिए ।