जलवायु परिवर्तनका कारण गरीब तथा सिमान्तकृत वर्ग निकै ठूलो जोखिममा पर्दै गैरहेको छ । जलवायु परिवर्तनले सबै मानिसलाई असर त पुर्याएकै छ । तर यसमा पनि सबैभन्दा बढी सिमान्तकृत तथा गरीबलाई नै यसले असर पुर्याइरहेको छ ।
जलवायु परिवर्तनका कारण नेपालमा प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । यो विश्वव्यापी औसत वृद्धिभन्दा निकै बढी हो । यसले हिउँ पग्लने, एक्कासी हिमताल बन्ने र फुट्ने जस्ता समस्या निम्त्याएको छ ।
गरीब, सीमान्तकृत एवम् जोखिममा परेका समूहका लागि जलवायु परिवर्तनले पारेको सबैभन्दा ठूलो असर भनेको जीविकोपार्जनमा हो । यसले यस्ता वर्गको जीविकोपार्जनमा कठिनाइ थप्दै लगेको छ ।
हाल दक्षिणपूर्वी एसियामा मात्र करिब २२ करोड १० लाख जनसंख्या गरिबीको रेखामुनी रहेको छ । यो जनसंख्या दक्षिण एशियाको सामुद्रिक तटीय क्षेत्र र होचा भूभागमा बसोबास गर्दै आएको छ ।
यो वर्गसँग आय आर्जनका स्रोतहरु निकै कम छन् । यो वर्ग दैनिक गुजाराबाट बाँचिरहेको छ । खेतीपातीका निम्ति अत्यन्त थोरै जमीन छ । दिनहुँ ज्याला र मजदुरीबाट यसको जीवन व्यतित भैरहेको छ ।
यसको ठूलो संख्या सामुद्रमा माछा मार्ने व्यवसायमा निर्भर हुँदै आएको छ । सामुद्रिक निर्भरताबाट जीविकोपार्जन गर्ने यो वर्ग जलवायु परिवर्तनसँगै संकटको भूमरीमा पर्दै आएको छ ।
जलवायु परिवर्तनसँगै यो वर्ग उच्च जोखिममा छ । अत्यन्त न्यून आयका कारण परिवर्तित परिस्थितिको चुनौतीको सामना गर्नसक्ने विकल्प यिनीहरुसँग छैन ।
साँझ बिहान छाक टार्ने समस्या प्रधान हुँदै आएकाले पनि यो वर्गसँग सुरक्षात्मक उपायका निम्ति हासिल गरिनु पर्ने शिक्षाको निकै कमी छ । फलतः दक्षता, सीप र पहुँच पनि यिनीहरुसँग छैन ।