प्रधानमन्त्री बीपीले आफ्नो चीन भ्रमणका क्रममा कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्से तुङसँग भेट्ने इच्छा राखे पनि समय मिलिसकेको थिएन । प्रधानमन्त्री चाउ एन लाई भन्ने गर्थे, ‘खै, कुरा गरेको छ । चेयरमेन माओसँग कहिले हुन्छ ? समय मिलाएर खबर गर्छौं । भ्रमणकै क्रममा बीपीलाई एक दिन साङ्घाई नजिकैको हेन चाउ भन्ने पर्यटकीय क्षेत्रमा लगियो । बीपीले त्यो ठाउँको बयान गर्दै सुन्दर भनेका छन्, ‘टापु पनि छ । समुद्र पनि छ । बगैचा छ । असाध्यै राम्रो ठाउँ छ । त्यो दिन हामीलाई दृश्यावलोकन गराए र मेयरकहाँ खाना खाने कार्यक्रम थियो । खाना खाएर हामी सुत्न गयौं । (कोइराला, २०६७ : २५०-५१)
त्यसअगि बीपी, श्रीमती सुशीला र गृहमन्त्री उपाध्यायले त्यहाँ नौका विहार गरे । फर्किंदा राति भइसकेको थियो, त्यस्तै ११ बजेजति । बीपीले भनेका छन्, ‘त्यतिकैमा कारहरूको ठूलो ताँती देखियो । गृहमन्त्री उपाध्यायले भने, यहाँ त ठूलै मानिस आएको हुनुपर्छ । दिनभरिको घुमाइबाट थाकेका थिए सबै । होटल पुग्ने बित्तिकै कपडा फेरेर सुत्ने तरखरमा रहेको बेला ढोकामा ढकढक आवाज सुनियो । खोल्दा त माओ त्से तुङले भेट्न खोजेका छन् भन्ने खबर लिएर मानिस पो आएका छन् । (कोइराला, २०६७ : २५१ )
बीपीले भने, ‘म थाकेको छु । अलिकति ड्रिङ्क्स पनि गरेको छु । बोलाउने चिनियाँहरूले भने, केही फरक पर्दैन ।
बीपी त्यो दिनको घटनाबारे भन्छन्, ‘अब त भेट्नै पर्यो भनेर लुगा लगाएँ । ओभरकोट लगाउन खोजें । उनीहरूले भने, पर्दैन, यही होटलमा अर्को खण्डमा उनी बसेका छन् । मध्यरातमा माओसँग भेट भयो । त्यही बेला माओले सगरमाथालाई दुवै देशको साझा चुचुरो बनाउन प्रस्ताव गरे । माओले भने, ‘यसलाई मितेरी चुचुरो बनाऊँ’ (कोइराला, २०६७ २५२)
२०१७ वैशाख १८ गते काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बीपीले भनेका थिए, ‘चिनियाँ नाम चोमोलुङ्मा सगरमाथालाई हटाएर नेपाल-चीनमैत्री स्मारक राखौं भन्ने माओको प्रस्ताव थियो । हामीले मानेनौं । चीनले पेस गरेको नक्सामा सगरमाथा चीनको पाँच माइलभित्र परेको थियो । (देवकोटा, २०३६ ४०९) ।
बीपीले असहमति जनाउँदै भने, ‘यो त हाम्रो देशभित्र छ । कसरी साझा चुचुरो बनाउने ? माओले सोधे, ‘तिम्रो देशमा पर्छ कसरी भन्ने ? यसको नेपाली नाम त छैन । बीपीले तत्काल भने, नेपाली नाम छ । हामी सगरमाथा भन्छौं । चिनियाँहरूको नाम पनि त छैन, चोमोलुङ्मा त तिब्बती नाम हो । माओले तिब्बत भनेको चीन नै त हो नि भन्ने जवाफ दिए । दुई नेताबीच झन्डै डेढ घण्टा कुराकानी भयो ।
भ्रमणका अवसरमा दुई देशबीच सीमाङ्कनको टुङ्गो लगाउन दुवै देशका बराबर सदस्य रहने गरी संयुक्त टोली बनाउने सम्झौता भयो । चीनले सगरमाथा आफ्नो भूभागभित्र परेको नक्सा पेस गरेकै थियो । सीमाको टुङ्गो लाग्नुअगि सहमतिमा भनिएको थियो, ‘नेपाल चीन सीमाको दुवैतर्फ २० किलोमिटर इलाकासम्म सशस्त्र व्यक्ति अब उप्रान्त पठाइने छैन । सिर्फ प्रशासकीय व्यक्ति र गैरसैनिक प्रहरी मात्र राखिनेछ । (देवकोटा, २०३६ : ३६४)
चीन भ्रमणबाट फर्किए लगत्तै बीपीले २०१६ चैत २२ गते प्रधानमन्त्री निवासमा पत्रकार सम्मेलन गरी नेपाल-चीन सीमाबारे अझै मतभेद कायम रहेको र चीनले आफ्नो सीमाभित्र सगरमाथा समेत पर्छ भनी दाबी गरेको जानकारी दिए । उनले भनेका थिए, ‘तर हामीले सगरमाथा हाम्रो हो भनेका छौं । संयुक्त सीमा समितिबाट यसको टुङ्गो लगाउनुपर्छ ।
प्रधानमन्त्रीको पत्रकार सम्मेलनपछि संसदमा सगरमाथा सम्बन्धी विवाद चुलियो । चीनले सगरमाथमा दाबी गरेको समाचार प्रकाशित भएसँगै नेपालमा ठूलो बहस सुरु भयो ।
यहीबीच भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले भारतीय संसदलाई सम्बोधन गर्दै नेपालमाथि कुनै प्रकारको आक्रमण हुनु भारतमाथिको आक्रमण हो भन्ने अभिव्यक्ति दिए । बीपीले नेहरूको भनाइप्रति कडा प्रतिवाद गर्दै भने, ‘नेपाल सार्वभौम मुलुक हो । नेहरूको अभिव्यक्तिप्रति हामीलाई आपत्ति छ ।’
महासभामा सङ्कल्प प्रस्ताव
२०१७ वैशाख ७ गते महासभा बैठकमा मातृकाप्रसाद कोइरालाले सगरमाथामा चीनले दाबी गरेको विषयमा सरकारको जवाफ माग्दै भने,‘सगरमाथा हाम्रो हो भन्ने देशमा भएको भावना र जनताको भावनाले स्पष्ट छ । यो दोहोऱ्याउनुपर्ने आवश्यकता छैन ।’
प्रधानमन्त्री बीपी-‘प्रधानमन्त्रीको हैसियतमा मैले दिएको निमन्त्रणामा अहिले चीनका प्रधानमन्त्री आउन लागेका छन्, त्यस अवस्थामा उत्तेजित हुनु ठीक छैन । केही केही कुरामा हामीबीच मतभेद पनि हुनसक्छ ।
सीमा स्वीकार गर्दागर्दै पनि कुनै कुनै ठाउँमा मतभेद भएकाले मात्र संयुक्त सीमा निर्धारण समिति जरुरी छ । समितिलाई तिन कुराको जिम्मा छ- एउटा त के भने नक्सा । उनीहरूको र हाम्रोमा कहाँ कहाँ बेमेल छ त्यसले हेर्छ ।
चीनमा प्रकाशित सन् १९५४ को भूगोलमा सगरमाथा उनीहरूको भन्ने जो लेखिएको छ भनियो त्यो त कुनै किसिमको प्रमाण होइन । एकतर्फी प्रमाण हुन सक्तैन । धारणाको विषयमा पनि यही कुरो हो र त्यो भनिसकेको पनि छु ।
भावनाको विषयमा यहाँ जो कुरा उठेको छ, सरकारले भावनाको कदर गरेको छ । म यो सभालाई विश्वास दिलाउन चाहन्छु, सरकारको जिम्मेवारी मेरो हातमा रहेसम्म नेपालको एक इन्च जमिन पनि कुनै विदेशीको हातमा जाने छैन ।
शुभशमशेर- ‘प्रधानमन्त्रीले सगरमाथा हाम्रो हो र नेपालको एक इन्च जमिन पनि कुनै विदेशीको हातमा पर्ने छैन भनेर यी जुन दुई कुरा दृष्टिमा राखेर जवाफ दिनुभयो र अर्को कुरा, जुन प्रमाण भावनाको कुरा गर्नु भएर हामीलाई आश्वासन दिनुभयो, त्यो कुरा गरेर यो सङ्कल्प म फिर्ता लिन चाहन्छु । सभासित यो सङ्कल्प फिर्ता लिने अनुमति माग्छु । त्यसपछि सङ्कल्प प्रस्ताव फिर्ता भयो । विषयलाई लिएर प्रतिनिधि सभामा पनि व्यापक छलफल भयो
सगरमाथा विवाद अन्त्य
सगरमाथामा चीनले दाबी गरेको विषयलाई लिएर बहस चलिरहँदा चीनका प्रधानमन्त्री चाउ एन लाई नेपाल भ्रमणमा आए । फर्किने अघिल्लो दिन २०१७ वैशाख १६ गते प्रधानमन्त्री चाउले ग्यालरी बैठक (संसद् भवन) मा पत्रकार सम्मेलन आयोजना गरे । त्यहाँ भारतीय पत्रकारहरूले नेपालसँगको सीमा समस्या समाधान भयो ? भनेर कडा प्रश्न गरे । भारतीय पत्रकारहरूलाई चाउले भने, ‘नेपालसँग हाम्रो त्यस्तो कुनै समस्या छैन । नेपाल एउटा सानो मुलुक हो । हामीसँग त्यत्रो विशाल क्षेत्रफल छ । केही सय वर्ग माइल नेपालले लियो भने पनि हामीलाई फरक पर्दैन । (कोइराला, २०६७ : २५७)
पत्रकार सम्मेलनमा चीनका प्रधानमन्त्रीले थपेका थिए, ‘हामीले आफ्नो नक्सा फिर्ता गरेर नेपालको नक्सा स्वीकार गरिसक्यौं । सगरमाथा नेपालको हो । दक्षिणबाट आरोहण गर्नेलाई नेपालले र उत्तरबाट गर्नेलाई चीनले अनुमति दिनेछ । (देवकोटा, २०३६ : ४०९)
मुस्ताङ घटना
मुस्ताङको नेपाल-चीन सीमा नजिक नेपाली भूमिमा चिनियाँ सेनाले चलाएको गोलीबाट २०१७ असार १५ गते सुबेदार बमप्रसादको घटनास्थलमै मृत्यु भयो । १७ जना नेपाली कर्मचारी सहित उनीहरूका साथमा रहेका घोडा र सामान पनि चिनियाँ सेनाले लिएर गए । त्यो घटनाप्रति गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्री बीपीले चीनका प्रधानमन्त्री चाउ एन लाईलाई कडा पत्र लेखे ।
चिनियाँ पक्षले दुई देशबीच भएको सम्झौता उल्लङ्घन गरी नेपाली कर्मचारीको हत्या गरेकोमा नेपाल सरकारले भत्सर्ना गर्यो । प्रधानमन्त्री बीपी आफैले समकक्षी चीनका प्रधानमन्त्रीलाई पत्र पठाएर नेपाललाई ५० हजार क्षतिपूर्ति माग गरे ।
तल्लो तहका सैनिक कर्मचारीको कमजोरीबाट घटना भएको स्विकार्दै चीनले नेपालसँग माफी मात्र मागेन, क्षतिपूर्ति बापत ५० हजार रुपैयाँ समेत पठायो । चीनलाई माफी मगाएर क्षतिपूर्ति तिराउनु बीपीको कूटनीतिक सफलता थियो ।
मुस्ताङ घटनालाई लिएर संसदका दुवै सदनमा ठूलो बहस भएको पाइन्छ । विपक्षीहरूले घटनाको जानकारी मागेपछि २०७१ असार २१ गते प्रतिनिधि सभा बैठकमा बीपीले मुस्ताङ घटनाबारे विस्तृत जानकारी गराए ।
असार १४ गते मुस्ताङका राजाले नेपालको सिमाना काटी १,००० चिनियाँ फौज नेपाली सीमातर्फ बढेको खबर गरे । श्री ५ को सरकारले तत्काल वस्तुस्थिति बुझ्न आदेश दिए बमोजिम एक सुबेदार, एक खरिदार ( भन्सार चौकीको), एक प्रहरी हवल्दार, छ जना प्रहरी र नौजना नागरिक सहित १८ जना वस्तुस्थिति बुझ्न सिमानातर्फ गएका थिए ।
असार १५ गते राति ८ बजे अकस्मात् चिनियाँ फौजका तर्फबाट गोली चली १८ जना लापत्ता भएको खबर सरकारले पायो । त्यही राति मुस्ताङबाट प्राप्त अर्को सन्देशमा सुबेदार बमप्रसादसँग गएका निशस्त्र नेपाली कर्मचारीहरू सिमानाबाट नेपालतर्फको ३०० गजभित्र नेपाली भूमिमा रहेका बेला चिनियाँ फौजले गोली चलायो ।
घटनामा दुई जनालाई गोली लागेको, सुवेदार बमप्रसाद घोडाबाट खसेको, उनको घडी, दूरबिन, माल आदि चिनियाँ फौजले खोसी लगेको, निज सुबेदार बाहेक मेजर हवल्दार, बमबहादुर खरदार (खरदारको नाम बमबहादुर थियो) र अरू १५ नेपाली तथा उनीहरूको साथमा रहेका १७ वटा घोडा पनि चिनियाँ सैनिकले पक्रेर लगे । गोली लागेका अर्को नेपालीको नाम बुन्डु थियो ।
असार १६ गते मुस्ताङबाट सुबेदार बमप्रसाद र ढुन्डुलाई गोली नै लागेको खबर आयो । तर सुबेदार मरे-बाँचेको थाहा हुन सकेन । सीमा नजिक डाँडामा चिनियाँ फौज टर्च बाली घुमिरहेको सूचना सरकारले पयो । असार १५ गते पक्रिएका १८ जनामध्ये १२ जना अझै चिनियाँ फौजको कब्जामा थिए ।
असार १६ गते नै मुस्ताङबाट सरकारलाई खबर आइपुग्यो, जसमा चिनियाँ फौजले नेपाली भोटेलाई छोडेको र निजबाट सुबेदार बमप्रसाद मरेको तथा चिनियाँ फौजले पक्रेका नेपालीलाई अन्त कतै (सायद ब्रह्मपुत्र हेडक्वाटर्स) लगेको बुझियो । सोही खबरमा अझै ३०० चिनियाँ फौज नेपाली सीमाभित्रै एको बुझियो ।
असार १७ गते मुस्ताङबाट प्राप्त खबर अनुसार सुबेदार बमप्रसादका साथमा गएका जम्मा १८ नेपालीमध्ये सात जवान फिर्ता भए । अहिले पनि चिनियाँ पक्षको कब्जामा मृत सुबेदार बमप्रसाद बाहेक जम्मा १० जना छन् । जसमा एक जना गोली लागि घाइते छन् ।
मारिएका सुबेदारको लास गोली लागेको स्थानमै चिनियाँ फौजले पहरासाथ रोकी राखेको छ । नेपाली पक्षले लास लिने कोसिस गरेरहेको भए पनि उनीहरूले फिर्ता दिएका छैनन् ।
असार १९ गते मुस्ताङबाट प्राप्त फौज नेपाली सिमानामा छैनन् । असार १४ गतेको दिल्लीस्थित चिनियाँ खबर अनुसार चिनियाँ राजदूतले नेपाली राजदूतलाई भेटी चीन सरकारबाट प्राप्त भएको निम्नलिखित सन्देश तुरुन्त श्री ५ को सरकारमा पुर्याउन अनुरोध गरे ।
चीन सरकारले घटनाबारे नेपाल सरकारलाई पठाएको सन्देशमा केही तिब्बती विद्रोहीहरूले चीन-नेपाल सिमानाको चिनियाँ क्षेत्रमा गोलमाल मच्चाएकाले चीन सरकारले ती चिनियाँ क्षेत्रमा विद्रोहीहरूलाई दबाउन सशस्त्र चिनियाँ फौज पठाएको छ ।
चीन सरकार श्री ५ को सरकारलाई आश्वासन दिन्छ कि, उक्त तिब्बती विद्रोहीहरूलाई दबाउने कामको सिलसिलामा यदि यस्ता विद्रोहीहरू भागी नेपालको सरहदभित्र पसे भने कुनै हालतमा पनि चिनियाँ फौजहरू उक्त विद्रोहीहरूको पिछा गर्दै नेपालतर्फ चीनको सिमाना नाघ्ने छैनन् ।
तिब्बती विद्रोहीहरूलाई दबाउने काम सकिनासाथ सम्झौता अनुसार चिनियाँ फौजहरू नेपाल-चीन सिमानाबाट २० किलोमिटर बाहिरको चिनियाँ क्षेत्रमा नै राखिनेछन् ।
चीनको सन्देश प्राप्त हुनासाथ श्री ५ को सरकारबाट ‘चीन सरकारको उक्त एकतर्फी निणर्यले दुई देशबीच हालै भएको सिमाना सम्झौताको चौथो दफा उल्लङ्घन भएको जनाउ दियो ।
नेपाल सरकारका तर्फबाट आफ्नो पूर्वस्वीकृतिबिना सम्झौताको प्रतिकूल कुनै पनि कदम उठाइनुले सम्झौताको मर्यादा नराखिएको देखिन आएको छ’ भन्दै दिल्लीस्थित नेपाली राजदूतावासबाट चिनियाँ राजदूतलाई खबर पठाइयो ।
(जगत नेपालद्वारा लिखित ‘पहिलो संसद् बीपी-महेन्द्र टकराव’बाट । शिर्षक हामीले दिएका हौं)