• मंसिर ११ २०८१, मंगलवार

१३ वर्षसम्म पनि आँखा खोल्न नसकेको कालीगण्डकी करिडोर

फाल्गुन ७ २०७८, शनिबार

कालीगण्डकी करिडोर नेपालको राष्ट्रिय गौरवका आयोजना हो । यो आर्थिक वर्ष २०६६/०६७ मा सुरु गरिएको हो । निर्माण कार्य सुरु भएको अवधिका हिसाबले १५ वर्षभित्र यो करिडोर निर्माण पूरा भैसक्नुपर्ने हो । लक्ष्य प्राप्ति गर्ने निर्माणको यो अवधि २०८१ सालभित्र हो ।

समयका हिसाबले लक्ष्यप्राप्ति मात्र ३ वर्ष बाँकी छ । अहिले १२ वर्ष पूरा भैसकेको छ । यति बेलासम्म ८० प्रतिशत निर्माण कार्य सम्पन्न भैसक्नु पथ्र्यो । तर पनि यसको निर्माण कार्यको जम्मा ३२ प्रतिशत काम मात्र हुन सकेको छ ।

यसले देखाउँछ कि नेपालमा निर्माण भैरहेका राष्ट्रिय गौरवका आयोजनाहरु कछुवाको गतिमा रहेका छन् । कालिगण्डकी करिडोर निर्माण प्रक्रिया यसको पछिल्लो उदाहरण हो । आर्थिक वर्ष २०६६/०६७ मा यो आयोजनाको उद्घाटन गरिँदा आजको समयमा यो सकिनै लाग्ने अवस्थामा पुग्नुपर्ने थियो ।

तर करिडोर निर्माण कार्यको १२ वर्षसम्म पनि कूल निर्माण कार्यको ३१ दशमलव २५ प्रतिशत ट्रयाक मात्र निर्माण हुन गएको छ । हाल निर्मित ट्रयाकको विभिन्न खण्डमा स्तरोन्नतिका काम थालनी गरिए पनि यसले तोकिएको समयमा परिणाम दिन नसक्ने भएको छ ।

हाल स्तरोन्नति भैरहेको मालढुंगा–राम्दी–गैंडाकोट सडक खण्डको २ सय ४५ किलोमिटरमा ट्रयाक निर्माण कार्य पनि अघि बढिरहेको छ । सरकारी ढिलासुस्ती र चासोविहीनताका कारण यो तोकिएको समयमै निर्माण हुननसक्ने देखिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजनाको भौतिक प्रगति ३१ दशमलव २५ प्रतिशत मात्र रहेको सार्वजनिक गरेर आफ्नै मातहतमा भैरहेका निर्माण कार्यको उपयुक्त रुपमा अनुगमन, निरीक्षण तथा निर्देशन हुन नसकेको कुरा घुमाउरो रुपमा स्वीकार गरेको छ ।

निर्माण कार्यको १२ वर्षको अवधिमा देखिने गरी काम भएको गैंडाकोट–पिपलडाँडा खण्डलाई मात्र उदाहरणका रुपमा लिएर अध्ययन गर्ने हो भने पनि उक्त खण्डको १३ सय २१ किलोमिटरमध्ये हालसम्म जम्मा ६३ प्रतिशत मात्र कालोपत्रे सम्पन्न भएको छ । त्यसमा सम्पन्न गरिनु पर्ने पुलहरुमध्ये जम्मा १९ वटा पुलको निर्माण कार्य सकिएको छ ।

सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुलाई आफ्नो प्राथमिकतामा रहेको भन्न नभुले पनि व्यवहारमा भने निर्माण कार्यले गति नलिएको तथ्याङ्क आफै बोल्छ । दैनिक अनावश्यक काम र भेटघाटमा समय बिताउने नेता, मन्त्री र सरकारी कर्मचारीले राष्ट्रिय गौरवका आयोजना निर्माण भैरहेका साइटको अवलोकन समेत गर्दैनन् ।

मन्त्रालयमा रिपोर्ट लिने, छड्के निरीक्षण गर्ने र काममा गति दिन आवश्यक ताकेता गर्ने पनि गर्दैनन् । सञ्चारमाध्यमहरुमा काम नभइरहेको अवस्था सार्वजनिक भएपछि उल्टै सरकार विरुद्धमा मत बन्न थालेको पूर्वाग्रहका रुपमा लिन थाल्छन् । आलोचना सहन गर्न सक्ने र गल्ती, कमीकमजोरीबाट पाठ लिने संस्कार नेपालमा विकास हुन सकिरहेको छैन ।

हरेक आयोजनामा कमिसनको बाँडफाँट र भागबण्डा आदिका कारण नेता र सरकारलाई सधैं त्रास हुने गर्दछ । उनीहरुको ध्यान हरहमेसा अनियमितताका यस्ता कुरा सञ्चारमाध्यममा नआइदेऊन् भन्नेतिर केन्द्रित हुँदै जान्छ । त्यसैले पनि राष्ट्रिय गौरवका आयोजनाहरुले ‘हावा खाने’ गरिरहेका छन् ।

यो वर्ष देशैभरका विकास निर्माण कार्यमा गति आउन सकिरहेको छैन । अर्थमन्त्रालयले विनियोजित बजेट समयमै खर्च गर्न ताकेता गरिरहे पनि सम्बन्धित मन्त्रालयहरुले विकास निर्माणका काममा उचित ध्यान पुर्याउन सकिरहेको देखिदैन ।

कालीगण्डकी करिडोरजस्ता राष्ट्रिय गौरवका आयोजनाहरुलाई यो वर्षको विकास निर्माणको प्राथमिकतामा राखेको पनि देखिएको छैन ।