घोराही, ५ फागुन ।
गत माघ २५ देखि २९ सम्म आधारभूत विद्यालय बालमन्दिरमा घोराही १४ का विद्यालय अगुवाले तालिम गरे । ओमिक्रोनको कारण देखाई जिल्ला भरका सबै शिक्षण संस्था बन्द थिए । त्यहाँका विद्यालय प्रअ, व्यवस्थापन र लेखा भने विद्यालय कसरी राम्रो बनाउने भनेर खोज्न थाले ।
समयमा उचित निर्णय लिन नसक्ने प्रअले विद्यालय राम्रो बनाउन सक्दैन भनेर प्रशिक्षक उत्तम खनालले सिकाइरहुनु भएको थियो । उहाँले नेतृत्वमा हुनुपर्ने गुण र चाल्नु पर्ने कदमका सुत्रहरु सिकाउनु भयो । यसरी पदीय हैसियत अनुसारको जिम्मेवारी पहिलो पटक सुन्न पाएको सहभागिको प्रतिकृया थियो । उनीहरुका अनुसार सरकारले योग्यता हेरेर पद दियो तर के गर्ने सिकाएन ।
विहान खाजा नास्ता खान उपस्थित भएका विद्यालयका अगुवाहरु त्यहिँ खाना खान्थे र दिनभरी सिक्थे । उनीहरुलाई लेखाको बाबुराम अधिकारीले, शिक्षा सम्वन्धि तालिम केन्द्रका डिल्लीकान्त आचार्यले प्रशिक्षण दिनुभयो ।
समापनको दिनमा पनि निकै उत्साहित देखिनुहुन्थ्यो । सञ्चालकले औपचारिक कार्यक्रम शुरु हुने जनाउ दिन बित्तिकै दुईतिन जना सहभागी झट्टपट्ट उठ्नुभयो उहाँहरुले टेबुल मिलाए, पोखिएको पानी पुच्छने, ल्यापटप ठगान्ने, प्रोजेक्टर अफगर्ने काममा निकै जाँगर देखाउनु भयो । त्यो उत्साहले तालिम सफल भएको पुष्टि गर्दथ्यो ।
यसरी वडाले पाँचदिने ‘शिक्षा सुधारका लागि विद्यालयका प्रअ, व्यवस्थापन र लेखा तालिम’ शिर्षक दिएर चलाएको थियो ।
‘विद्यालयको लेखा प्रणाली र व्यवस्थापन हर्ने हो भने घोराही–१४ जानुस् भन्ने बनाउनुस’ प्रमुख अतिथिघोराही उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले भन्नुभयो, ‘विद्यालयमा परिवर्तन आउँछ भन्नेमा म विश्वस्त छु, सिकेको उपादेयता हुन्छ ।’
उहाँले अत्यन्त उल्लेखनीय, समासामयिक कार्यक्रमको परिकल्पना गरेको भन्दै वडालाई धन्यवाद दिनुभयो । उहाँ बेसी खुशी देखिनु हुन्थ्यो । वडा कार्यालयले शिक्षामा यसरी चासो दिएको र अलग्गै तालिमै सञ्चालन गरेको नौलो हो ।
अनेक सहकारी र संघ संस्थामा संलग्न सुभप्रभात माविका शिक्षक कृष्णप्रसाद शर्मा पनि अति खुशी देखिनुहुन्थ्यो । उहाँले अहिले सम्म ५० बढि प्रशिक्षक प्रशिक्षण तालिम लिनुभएको छ । तर, लामो समय शिक्षण पेशामा लागेपनि यस सम्बन्धि तालिम लिने अवसर कमै जुरे । अवसर आएपनि सहभागीता जनाउन कन्जुसाई गर्ने, अनेक काममा व्यस्त हुने रोग भने देखियो । कुन विद्यालयका अगुवा नियम र अनुशासनमा कति प्रतिबद्ध छन् भन्ने देखियो ।
कुनै विद्यालयका अगुवाले सट्टामा अर्को पठाए । कुनै विद्यालयका आठबजे उपस्थित हुनेमा १० बजे आए । बिचैमा फोन गर्ने, अरु काम गरेर आइहाल्ने जस्ता त्रुटिहरु सहभागीले देखाएका थिए ।
त्यसको अर्थ विद्यालयमा पनि समयमा जाँदैनन्, पुरा समय पढाउँदैनन्, ध्यानदिएर सिकाउँदैनन, पढाउने र सिकाउने जिम्मेवारी हो भन्ने महशुस गर्न सकेका छैनन् भन्ने देखियो । आफू सहभागी कार्यक्रममा व्यवहारले देखाएको लापवारहीले निकै महत्व राखेको छ ।
अरुको रिपोर्ट सुनेर आफ्नो कार्यालय व्यवस्थापनमा भएका कमजोरी केलाउने अवसर मिलेको अम्विकेश्वरी कलेजका प्रमुख चन्द्रप्रकाश खनालको भनाई थियो । उहाँका अनुसार अत्यन्तै सरहानीय काम भयो ।
आगामि वर्ष सफ्टवेयरमा कसरी लैजाने भन्ने सिक्दै तालिमको स्तरोन्ती गर्नुपर्छ । यसरी सबै विद्यालयका एकै ठाउँ जम्मा भई छलफल गर्ने कार्यक्रमलाई नियमितता दिनुपर्छ । आपसमा प्रतिस्पर्धी बनाउँछ र भएका कमजोरी सच्याउन मद्धत गर्छ ।
जनप्रतिनिधि भएर वडामा प्रवेश गरेकै वर्ष देखि विद्यालयका प्रअहरुको घुम्ति बैठक बसाल्ने चलन अध्यक्ष शक्तिराम डाँगीले शुरु गर्नुभयो । त्यस क्षेत्रको जिम्मेवारी सदस्य गुलाम रसुलले पाउनुभयो । लगत्तै हरेक विद्यालयमा पूर्ण सरसफाइ कार्यक्रम सञ्चालनमा ल्याइयो ।
सरसफाइ प्रशिक्षकले विद्यालय विद्यालयमा पुगेर शिक्षक विद्यार्थीलाई सरसफाइ अभिमुखिकरण गराए । यस्तो गतिविधि नियाल्नु भएका बालविकास माविका प्रअ श्रीधर पोखरेल अध्यक्ष डाँगीलाई शैक्षिक अभियान्ता भन्नुहुन्छ । उहाँका अनुसार वडा अध्यक्ष डाँगीले शिक्षा क्षेत्रमा बढि केन्द्रित गर्नुभएको छ ।
यतिबेला कक्षा तिन सम्मको कोर्ष फेरिएको शिक्षकहरुको भनाई छ । लिखित परिक्षा नहुने भएपछि कसरी चलाउने धेरै विद्यालयमा अन्यौल छ । निरन्तर मुल्यांकनको विधि धेरैलाई थाहै छैन । त्यसको तालिम पनि सञ्चालन गर्न पोखरेलले आग्रह गर्नुभयो । यसैगरी अंग्रेजी माध्यमको पढाई चलेपनि न हाँसको ताल न बकुल्लाको चाल भएको छ । यसलाई पनि सुधार्न सुझाव दिनुभयो ।
पाँच दिनको तालिमले आठ वर्षदेखि काम गरेका कमजोरी केलाउन पाएको बालविकास माविका लेखा शाखाका चाँदना हमालको भनाई थियो । उहाँका अनुसार सात आठ वर्ष काम गरेपनि धेरै कुरा छुटेको महशुस भएको छ । उहाँले सिकेका कुरा विद्यालयमा लागु गर्नुहुने छ । सबै श्रेष्ता नियमानुसार व्यवस्थित गर्नुहुने छ । विद्यालय सुधार गर्न ठूलो अभ्यास गरिएको आधारभूत बालमन्दिर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर बुढाको भनाई थियो ।
पाँचदिनसम्म एउटै भान्सा खाएका र दिनभरी एउटै कोठामा बिताएका सहभागीका प्रतिकृया तथा गतिविधिले प्रशिक्षकले धेरै बुझिसकेका थिए । विद्यालयका गतिविधि र अगुवाहरुको आनिबानीको धेरै जानकारी भइसकेको थियो । अनुशासन सिकाउने गुरुहरु छौँ, मैले यस्तो गर्नुपर्छ उत्तो गर्नुपर्छ भन्दैन । अझ हजुरहरु जति त जान्दै जान्दैन भनेर लेखाका प्रशिक्षक आचार्यले मन्तव्य शुरु गर्नुभयो । थप अनुशासित भएर आफै बदलिनु पर्यो । ।
यति भनिसकेपछि विद्यालयका अगुवाको व्यवहारबाट सन्तुष्ट हुनुहुन्न भन्ने बुझ्न गाहो भएन । चित्त बुझ्दो छैन भन्ने बुझन गाह्रो थिएन । आचार्यले चलिराछ, चल्छ भनेर हेल्चेक्राई नगर्न सुझाव दिनुभयो । चेक तथा अन्य कागजातमा नपढेर नबुझेर सहिन नगर्न आग्रह गर्नुभयो । ‘सहि (हस्ताक्षर) गर्नु अघि हात कपाउनुस्’ आचार्यले भन्नुभयो, ‘बिग्रिसकेपछि शरीर कँपाए पनि काम छैन ।’ उहाँले चेक काट्नेदेखि हिसाब राख्नेमा कमजोरी नगर्न भन्नुभयो । उहाँका भनाइले विद्यालयका अगुवाले धेरै सुधार्न बाँकी छ भन्ने देखाउँथ्यो ।
शुरुका वर्षमा सबै विद्यालयका प्रअहरुको भेला डाकेर घुम्ति बैठकको शुरुवात गर्दा वडाले शिक्षामा हस्तक्षेप गरेको हो कि भन्ने शंका गरिन्थ्यो । सामुदायिक र बोडिङ् एउटै मेचमा सामूहिक निर्णय गर्न थालेपछि एकरुपताका साथ अभिभावकत्व ग्रहण गरेको बुझियोे । त्यो घुम्ति बैठकले पालैपालो सबै विद्यालयमा सबै विद्यालयका अगुवा पुर्यायो । एक आपसका अनुभव साटे । बैठकलाई आफ्नो विद्यालय सुधारेर अघि बढ्ने अवसरका रुपमा लिए । एउटै रजिष्टरमा गरिएको निर्णय लागु गर्दा सरकारले सौतेलो व्यवहार गरेको भन्ने पनि कतैबाट देखिएन ।
यस पटक वडाले एकलाख रुपैयाँ छुट्याएर तालिम दियो । ‘बल्ल संघीयता लागेको महशुस गरेँ’ प्रक्षिक शिक्षा तालिम केन्द्र तुलसीपुरका डिल्लीराज आचार्यले भन्नुभयो, ‘वडा सरकारले समेत बजेट छुट्याएर शिक्षामा चासो दियो ।’
उहाँका लागि जिल्ला शिक्षा, पालिका शिक्षा तथा तालिम केन्द्रहरु बाहेक अरुले तालिम दिएको प्रसंग नौलो थियो । अहिलेसम्मको स्थिति गर गर, अलि राम्रो गर भनेर उपदेश तथा आदेश दिन गरिन्थ्यो । यसरी गर भनेर तरिका सिकाइन्थ्यो । उहाँले भनेजस्तै विद्यालयहरुमा घुम्ति बैठक बस्ने र तालिम दिने छैन । नौलो र सृजनशील कार्यक्रम ल्याएर वडाले सबै सामु नयाँ उदाहरण दिएको उहाँको भनाइ छ ।
प्रणाली र प्रकृयाका हिसाबले शिक्षामा केही बुझ्या छैन तर केहि गर्नुपर्छ भन्ने बुझ्याछु भनेर वडा अध्यक्ष डाँगीले आफ्नो उद्देश्य बताउनु भयो । उहाँले केही विद्यालका अगुवा आफै आउने ठाउँमा वारेस पठाएर झारा टारेको बताउनु भयो ।
उहाँले तालिममा सहभागी हुन एकघण्टा ढिलो आउने, एक दिन बिराउनेले विद्यालयमा पनि त्यस्तै गर्छन् कि भन्ने शंका उब्जाएको बताउनु भयो । त्यसरी चलेको विद्यालय प्रशासन, पढाएको कलास र विद्यार्थीलाई सिकाएको अनुसासन काम लाग्दैन । आफै अनुशासनमा नहुने, आचरणमा नबस्ने र जिम्मेवारी पुरा नगर्ने अगुवाले अरुलाइ आदेश दिने हैसियत राख्दैन । उसको निर्देशन पालना गर्न बाध्यकारी कोही हुँदैन ।
निकै मिठो र घुमारो तरिकाले नसुध्रिए कार्वाही गर्ने चेतावनी दिनुभयो । त्यो पनि निकै गज्जबले हाँस्दै भन्नुभयो । जो जसले तालिमको नियम मानेनन उनीहरुको बारेमा सुक्ष्म निगरानी गर्ने । सुध्रिएको वा पहिला जस्तै बिग्रिएको भनेर पत्ता लगाउने र यो यो बिग्रियो भनेर सुझाव दिने ।
त्यसरी पनि विद्यालयमा परिवर्तन र सुधार नआए सार्वजनिक मञ्चबाटै घोषणा गर्ने । फलानो विद्यालयको प्रअ प्रिन्सिपल यसो यसो गर्नुहुन्छ त्यसैले त्यहाँको विद्यालय बिग्रिएको हो । यति सुनेपछि भने विद्यालयमा चासो राखेको छ भन्नेमा कसैको बिमति रहेन ।
तालिममा सहभागि संस्थालाई फ्रेममा र व्यक्तिलाई खुला प्रमाणपत्र प्रदान गरिएको थियो । एउटै भान्सामा खाए । सामुदायिक र बोडिङ् स्कुलले एउटै राज्यका एउटै अंग भएको परिचय दिए । यसरी घोराही–१४ ले शिक्षा क्षेत्रको परिवर्तनका लािग पहिलो र नमूना योग्य काम गरेर देखाइदिएको छ ।
चार वर्षसम्म विभिन्न विद्यालयमा गरिएका नियमित मासिक घुम्ति बैठक निरन्तर चलिरहेका छन् । त्यहाँ गरिने निर्णय विद्यालयमा लागु गरिएको उनीहरु बताउँछन् ।