• मंसिर ११ २०८१, मंगलवार

यता संसद ‘डिरेल’ उता जयनगरमा ‘ड्राइरन रेल’ !

फाल्गुन २ २०७८, सोमबार

नेपालको संसद डिरेल हुने अवस्थामा कुर्था–जयनगर ड्राइरन रेल सेवा सुरु भएको छ । फागुन १ गतेदेखि नियमित रुपमा सुरु गरिएको यो सेवा नेपालका लागि निकै महत्वको कुरा हो । तर पनि समय सन्दर्भका हिसावले यो अर्को आश्चर्यमा पर्न गएको छ ।

नेपालमा हुने र गरिने कार्यहरु नेपालको आफ्नो स्वत्व र स्वामित्वमा हुन छाडेपछि यस्ता आश्चर्य निम्तने गर्दछन् । नेपालको संसदले एमसिसीको ‘साइत’ हेरिरहेको बेला कुर्था जयनगर रेलसेवाले ‘साइड’ हेर्न थालिसकेको छ । त्यसमा पनि विना उद्घाटन नै रेल चल्न थाल्नु र विना यात्री नै गन्तव्यमा रेल ओहर दोहर गरिरहनु आफैमा आश्चर्य हुन गएको छ ।

संसदमा सांसदहरु भूमिकाविहीन अवस्थामा हल्लाखल्ला र रडाको मच्चाउने तयारीमा रहँदा कुर्था–जयनगरमा विना यात्रुको रेलसेवा यो संयोगको कुरा होइन । अमेरिकाले चीनको हवाला दिएर संसदमा चलखेल गर्न खोज्दा भारतले पनि आफ्ना कुटिल अस्त्रहरु उज्याउन खोजेको त होइन भन्ने आशंकाको बलियो पृष्ठभूमि खडा हुन गएको छ ।

संसदमा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन, प्रधान न्यायाधीश महाअभियोग प्रस्ताव, संभावित सभामुख महाअभियोग प्रस्ताव, अन्य न्यायाधीशहरु माथिको महाअभियोग प्रस्ताव आदिको भेलबाढी नै त आउने होइन भन्ने आशंकाको अवस्था सिर्जना हुन गएको छ । यसले देशलाई अस्थिरतातर्फ धकेल्ने देखिएको छ ।

कोही एमसिसी सहयोग त कोही रेलसेवा लिएर नेपाल पसेको नेपालीलाई अनुभूत हुन थालेको छ । एक्काइसौं शताब्दीसम्म आइपुग्दा राजनीतिक रुपमा हुने वैदेशिक कुटनीतिक सम्बन्धहरले अब आर्थिक कुटनीतिक सम्बन्धमा आफ्नो स्वरुप परिवर्तन गरिसकेका छन् ।

विश्वमा अहिले महाशक्तिहरुको चलखेल हतियार र लडाइँमा होइन, कुटनीतिक सम्बन्ध र सेवा सहयोगमा हुने गरिरहेको छ । नेपाल सरकारले बोगीसहितका दुईवटा रेल खरिद गरेको झण्डै १७ महिनासम्म भारतकै कारण उक्त रेलसेवा सन्चालनमा आउन सकेन ।

तर अहिले विना यात्रु रेलसेवा सुरु हुन पुगेको छ । यसको पछाडि एउटा तर्क छ, त्यो हो, यदि अबका दिनमा पनि रेल कुदाइएन भने खिया लागेर खत्तम हुने छ । तर रेलमा लाग्ने खियाले यति डरलाग्दो कुटनीतिक अस्त्रको रुपमा काम गरेको सबैमा दिनको घाम जत्तिकै छर्लंग रहेको छ ।

नेपाल साच्चिकै सामरिक रणनीतिक महत्वको ठाउँमा छ, भौगोलिक अवस्थितिका हिसाबले मात्र । यो नेपालले अस्त्रशस्त्र विकास गरेर पनि होइन, उद्योगको विकास गरेर भएको पनि होइन । न त आर्थिक उन्नति र ‘राजनेता’ को ‘क्षमता’को कारणले नै । बरु उत्तरमा चीनजस्तो उदीयमान महाशक्ति र दक्षिणमा भारतजस्तो निरन्तर आर्थिक उन्नति गरिरहेको देशको कारणले हो ।

यही रणनीतिक तथा सामरिक महत्वका कारण नेपालका सन्दर्भमा तेस्रो बाह्य पक्ष र हालकोविश्व महाशक्ति अमेरिका नेपालमा प्रवेश गरिरहेको छ । यसका कारणले पनि नेपालका दुई छिमेकीलाई आशंकित र सतर्क बनाइरहेका छन् ।

यी देशहरुले नेपालको सार्वभौम सत्ताका रुपमा रहेका मुख्यतः भूमिमाथिको अतिक्रमण र सीमा रेखामा आफ्नो रक्षा हुने अनुभूत गर्न थालिसकेका छन् ।

नेपाली आकाशमा विना मानिसका जासुसी ड्रोनहरु उड्नु र नेपाली भूमिमा विना यात्रुका रेलहरु कुद्नु अबका दिनमा आश्चर्यका कुरा भएनन् ।