• मंसिर १२ २०८१, बुधबार

देश किन बनेन, बनाउन के गर्नुपर्छ ?

फाल्गुन १ २०७८, आईतवार

कैयौं युग बिते, कैयौं शासन व्यवस्था परिवर्तन भए । तर, जनताले परिवर्तनको अनुभूति गर्न पाएनन् । देश बन्ला र जनतामा समृद्धि आउला, सुखी र खुसी जीवन बिताउँला भन्ने आशै आशामा जीवनका कैयौं प्रहर बिते ।

हेर्दाहेर्दै इहलिला पनि समाप्त होला जस्तो भैसक्यो । तर, नेपालीको भाग्य र भविष्य अझै अनिश्चित नै रहेको छ। देश किन बनेन ? कहिले बन्ला ? कसले बनाउला ? बनाउन के गर्नुपर्छ ? भन्ने जिज्ञासाहरू हरेक नागरिकको मन मस्तिष्कमा मडारिरहेका छन् । यसको समयमै उपयुक्त सम्बोधन जरूरी छ ।

नेपाल सम्भावना नै सम्भावनाले भरिपूर्ण देश हो । यहाँ विकासका सम्भावनाहरू हुँदाहुँदै पनि यो मुलुक गरिबी र पछयौटेपनमै पिल्सिरहेको छ, शक्तिराष्ट्रसामु वार्षिक ७.२ खर्ब राशीको अनुपातमा ऋणको भिख मागिरहनुपरेको छ, श्रमिक उत्पादन र आपूर्ति गर्ने कारखाना बन्नुपरेको छ, विकासका लागि आवश्यक पुँजी र प्रतिभा पलायन भएको छ, गरिबीको चक्रब्युहमा फँसिरहेको छ ।

आयातित वस्तु र रेमिट्यान्समा निर्भर अर्थतन्त्र छ । वर्षेनी सालाखाला १० खर्ब राशिको खाद्यान्न, यान्त्रिक उपकरण आदि उपभोग्य वस्तुहरु आयात हुन्छ । रेमिटान्सले यस वर्ष कुल गार्हस्थ उत्पादनमा २३.२३ प्रतिशत योगदान गरेको छ । यी वस्तुगत तथ्यहरुले राष्ट्रलाई पराधीन बनाएको छ, त्यसको अन्त्य जरुरी छ ।

देशको राजनीति पश्चगमनतर्फ उन्मुख छ । हाम्रो समसामयिक राजनीति मूल्य मान्यताहीन र व्यक्तिगत स्वार्थकेन्द्रित राजनीतितर्फ लक्षित छ । राजनीतिलाई बिकृतिले गाँजेको छ । अहिले समाजमा असमानता, असहिष्णुता, विखण्डन, दण्डहीनता, हिंसा, बलात्कारजस्ता विकृतिहरूले घर गरिरहेका छन् ।

यसको अर्थ राज्यसत्ता राष्ट्रिय दायित्व निर्वाहप्रति विमुख र विचलित भएको देखिन्छ । सरकार संवैधानिक प्रावधान, लोकसम्मति, विधि, सिष्टम र मर्यादाअनुरुप चल्न सकेको छैन । यसले हाम्रो राज्यमा कानूनको पूर्णरूपले परिपालना नभएको र राज्यका संयन्त्रहरुले काम गर्न नसकेको अवस्था चित्रित गरेको छ ।

तसर्थ, राजनीतिक दल र सरकारमा पदासिन नेतृत्वपङ्तिले राष्ट्रप्रतिको दायित्व निर्वाहलाई हाम्रो जीवनपद्धतिकै एक अंशको रुपमा लिनुपर्छ । नागरिकलाई आफु र आफ्नो परिवार, दल वा संगठन र सो भन्दामाथि राष्ट्र हुन्छ भन्ने अनुभूति गराउनु राज्यको पहिलो दायित्व हो ।

नेपालको संविधान, २०७२ को धारा ४८ मा नागरिकले निर्वाह गर्नुपर्ने कर्तव्यहरु उल्लेखित छन् । जसअन्तर्गत प्रत्येक नागरिकले राष्ट्रप्रति निष्ठावान हुँदै राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानुनको पालना गर्नु, सामाजिक विकासमा सहभागिता जनाउनु, सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु आदि रहेका छन् ।

यी निर्धारित दायित्वहरुको पालनाले नागरिकमा देशप्रति आस्था, प्रेम, भक्तिभाव र स्वाभिमान जगाउँछ । अनि, व्यक्ति शभ्य र सुसंस्कृत भै समाजसमेत परिष्कृत हुन्छ । तसर्थ, राष्ट्रिय स्वाभिमानका लागि नागरिकमा बर्दीबिनाका सिपाही हौँ भन्ने भावना जगाउनुपर्छ ।

नेपालका बौद्धिक वृत्तमा चर्चा छ, ‘यो देश सरकारले होइन माफिया, तस्कर र दलालले चलाएका छन् । देशमा यिनीहरुकै विगविगी छ । यहाँ राज्यशक्ति र स्रोत परिचालनमा सत्ताधारीहरूको कुनै भूमिका रहँदैन ।

त्यसमा यिनीहरुकै रजगज चलिरहेको छ । यिनीहरूको आपराधिक कार्यमा राज्यको संरक्षण छ ।’ आखिर को हुन् त ती माफिया, तस्कर र दलाल भनेका ? यिनीहरु कस्ता गतिविधिमा संलग्न रहन्छन् ? भन्ने कुरा हरेक नागरिकले बुझ्नुपर्छ, किनकि यिनैले श्रृङ्खलाबद्धरुपमा राष्ट्रलाई असफलतातिर धकेलिरहेछन् ।

माफिया भनेको कानून तथा राज्य व्यवस्थालाई नै हाँक दिने ठूल्ठूला अपराध कार्यमा संलग्न रहने छद्म अपराधी समूह हो । त्यस्तै, तस्कर भनेको अवैध किसिमका र मूल्यवान वस्तुहरूको चोरी निकासी गर्ने चोर हो ।

त्यसैगरी, दलाल भन्नाले कुनै वस्तु किनबेच गर्दा किन्ने र बेच्नेका बीचमा कुरा मिलाई विना श्रम नाफा खाने व्यक्ति हो । यी परिभाषाले यिनीहरूलाई राष्ट्रका आपराधिक समूहको रूपमा पहिचान दिन्छ ।
देशमा आपराधिक समूहले अवैध र अपराधजन्य दुई खालका गतिविधिहरूमा संलग्नता जनाउँछन्। पहिलो, बेइमानीपुर्ण र छलकपट रुपमा व्यापारको डिल गर्छन् । अपराधसंग सम्बन्धित विवादित विषयहरुमा मध्यस्तता गर्छन् ।

वस्तुको किनबेच कार्यमा दलाली गर्छन् र विना लगानी नाफा खान्छन् । अवैध खालका सम्झौता र कारोबारहरु गर्छन् । दोस्रो, अति उच्च ब्याजदरमा बैंकसंग रकम सापट लिई बैंकलाई टाट पल्टाउँछन् । मानव, बहुमूल्य जीवजन्तु, सुन आदि वस्तुहरूको तस्करी गर्छन् ।

लागू औषध, बेश्यावृत्ति र अन्य ठगी कारोबारहरूमा संलग्न रहन्छन् । यस्ता कार्यमा राज्यका सम्बन्धित संयन्त्रहरूको संरक्षण रहन्छ र त्यसैका आडमा राज्यको शक्ति, सत्ता र स्रोतहरूको दोहन गर्छन् । यस्ता आपराधिक कार्यहरू आपराधिक समूह (भुस्तिघ्रे डनहरू, ठेकेदारहरू, नाफाखोरहरू आदि) र राज्यका राजनीतिक, सुरक्षा, न्याय, अनुसन्धान आदि संस्था या निकायहरूको सेटिङमा संचालन भैरहेको हुन्छ ।

चलनचल्तीको राजनीति पनि मिलिभगतमै चलिरहेको छ। मुलुकभित्र आफन्तजन, राजनीतिक दल र त्यसभित्र पनि गुटका आसेपासे र आपराधिक समूहका व्यक्तिहरूको बलियो नेक्सस निर्माण भएको छ । राज्यको सम्पत्ति र स्रोतको दोहनमा त्यस नेक्ससको मनी, माइण्ड र मसल्सको भरपुर लगानी हुन्छ ।
त्यति मात्रै कहाँ हो र, सुरा, सुन्दरी, हतियार र पैसाको पनि खेलोफड्को हुन्छ । यस्तो नेक्ससमा संसदीय समितिका पदाधिकारीहरू, न्यायाधीशहरू, वकीलहरू, सुरक्षाकर्मीहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरू जस्ता संवैधानिक एवम् सरकारका अंगहरूकै मिलेमतो हुन्छ ।

यिनीहरूले राज्यका सरकार, कानून, बजार, स्रोतसाधन, संयन्त्रहरू आदि नियन्त्रणमा लिएका हुन्छन् । आपराधिक समूहले अवैध कार्य गर्छ, राज्यका अंगहरूले चोख्याउने काम गर्छन् । योभन्दा घृणित र कुत्सित काम अरू केही हुँदैन ।

अर्कोतिर यो मुलुक पाँच थरिका शक्ति सभ्रान्तहरूले चलाएका छन् । जसअन्तर्गत उच्च तहका सैनिक, उच्च प्रशासकहरू, घरानीया व्यापारीहरू, पाखण्डी बौद्धिकहरू र दलालहरू पर्दछन् । यिनलाई राज्यका स्थायी सत्ताको रुपमा पनि पुकारिन्छ ।

किनकि, मुलुकमा जुन दलको सत्ता आएपनि यिनीहरूले सत्ताधारीहरूलाई घेराबन्दीमा पारेका हुन्छन् । देशमा बैंक तथा बित्तीय संस्थाहरू, ठूल्ठुला एनजीओ र सन्चार माध्यमहरू यिनैले चलाउँछन् । यिनीहरूको सत्ताधारीका अतिरिक्त दातृराष्ट्रहरूसँग पनि घनिष्ट र प्रगाढ सम्बन्ध रहेको हुन्छ ।
मुलुक हाँक्नेहरुले आफ्नो दायित्व के हो भन्ने सम्झे भने विकासमा कुनै किसिमको अवरोध सिर्जना हुँदैन, न त अन्तरघाती खेल नै हुन्छ । सत्ताधारीपक्ष र आपराधिक समूहको मिलनबिन्दु स्वार्थमा गाँजिएको छ भने पक्कैपनि मुलुकको दुर्गति हुन्छ ।

त्यस अवस्थामा एउटाले अस्थिरता सिर्जना गराई फाइदा लुट्ने र अर्काले सत्ता टिकाउने खेल खेल्छ । मूल्यमान्यताविहीन राजनीति गर्दा र व्यक्तिगत स्वार्थकेन्द्रित चरित्र प्रदर्शन गर्दा मुलुक तरल अवस्थामा पुग्छ र त्यही मौकामा तिनले चलखेल गर्छन् ।

यस्ता खेल खेलिनु भनेको राष्ट्रप्रतिको बेइमानी र गद्दारी हो । राष्ट्रियताका संवेदनशील यी अपारदर्शी खेलहरुको अन्त्य गर्नुपर्छ र त्यसका लागि राजनीतिक संस्कार परिष्कार गर्नुपर्छ । मुलुकको वास्तविक परिदृश्य माथि उल्लेखित गतिविधिहरूले प्रकाश पारेको छ ।

राजनीतिक नेतृत्व इमान्दार र सक्षम मात्रै भैदियो भने पनि मुलुकका अधिकांश जटिलताहरूको समाधान हुन्छ । राजनीतिक नेतृत्वले दूरदर्शी सोच र दृष्टिकोण राखेर मूल्य मान्यता, विचार, आदर्श र संस्कारयुक्त राजनीति गरेको खण्डमा अहिलेको अस्तव्यस्त समाजमा व्यापक सुधार आई सामाजिक न्याय र सुशासन कायम हुनेछ ।

त्यसैगरी देशका विज्ञ विशेषज्ञमा रहेको ज्ञान, सीप, बुद्धिजस्ता सक्षमताहरू राज्यको विकासमा पूर्णरुपमा उपयोग गर्न सकेमा समृद्धि र विकास भई मुलुकको कायापलट हुनेछ । जसका लागि मुख्यरुपमा निम्न उपायहरू अवलम्वन गर्नुपर्छ ।

राष्ट्रिय मुद्दाहरूमा नीति अनुसन्धान गरी विश्लेषण गर्नसक्ने र कंक्रिट सुझाब दिनसक्ने दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्छ । विकासका नवीन मोडल, प्रविधि र शैलीको प्रयोग गर्नुपर्छ । मौलाउँदो भ्रष्टाचार र वैदेशिक हस्तक्षेपलाई निरुत्साहित गर्नुपर्छ ।

कानूनको शासन हुनुपर्छ । उपभोगमुखी अर्थतन्त्रको सोच र दृष्टिकोलाई उत्पादनशील अर्थतन्त्रको दिशातिर मोड्नुपर्छ । इमान्दार, सक्षम र दूरदृष्टि भएको नेतृत्व चयनले छोटो अवधिमै विकासमा फड्को मार्न सकिने चमत्कारपूर्ण उदाहरण सिंगापुरका ली क्वान यू, मलेसियाका डा. महाथीर मोहम्मद, दक्षीण कोरियाका पार्क चुंग हीजस्ता राजनीतिक नेतृत्वले प्रस्तुत गरे ।

ली क्वान यूले प्राविधिक र व्यवसायिक कार्यकुशलता भएका जनशक्ति उत्पादनमा जोड दिई तिनलाई शासकीय कामकारवाही र प्रबन्धमा सरिक गराए। असल शासनका लागि स्वच्छ प्रशासनिक पद्धति लागू गरे । डा. महाथीर मोहम्मदले खर्चमा मितव्ययिता, वैदेशिक लगानी, निजीक्षेत्रसंग सहकार्य, कर्पोरेट ट्याक्स आदि उपायहरू भएको आफ्नो नयाँ आर्थिक विकाससम्बन्धी योजनालाई देशको आर्थिक नीतिको रुपमा लागू गराए ।

पार्क चुङ हीले सार्वजनिक–निजी साझेदारी अवधारणा ल्याई लघु घरेलु फार्म एवम् व्यवसायको प्रवर्धन तथा उद्योगहरू स्थापनामा जोड दिए । परिणाम, आधारभूत रुपमा अर्थतन्त्र मजबूत भई राष्ट्रिय अर्थ व्यवस्थामै परिवर्तन आयो । हामीले पनि विकासका लागि उनीहरूले अपनाएको अवधारणा, मोडल, विधि र शैलीको सिको गरेर हाम्रो मुलुकको विकासमा जोड दिनुपर्छ ।

देश किन बनेन र बनाउन के गर्नुपर्छ भन्ने उपयुक्त उपायहरूबारे हामीलाई अवगत भयो । तर, धर्तीको माटो छोएर मुलुकलाई साँच्चै विकास गर्छु भनेर दृढ इच्छाशक्ति र प्रतिबद्ध नेतृत्वले मात्रै देशको विकास गर्छ । म यो देशमा जन्में, मैले यो देशका लागि केही गर्नुपर्छ ।

बाँचे पनि देशकै लागि बाँच्छु र मरेपनि यही देशका लागि मर्छु भन्ने नेतृत्व चाहिन्छ । सरकारको मुख्य म्यान्डेट भनेको मुलुकमा सुशासन र सामाजिक न्याय स्थापित गर्ने हो ।

यस मुलुकले अवलम्वन गर्दै आएको विद्यमान राजनीतिक व्यवस्था र वीर विरङ्गनाहरूको बलिदानीपूर्ण संघर्षबाट आएको परिवर्तनलाई संस्थागत गर्ने मुख्य जिम्मेबारी सरकारी नेतृत्वकै हो । त्यस भूमिकाका लागि नेतृत्व वर्गमा इमान्दार प्रयत्न र पूर्ण सक्षमताको विकास जरूरी छ ।