नेपाल अहिले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को संकटबाट गुज्रिइरहेको छ । तर हिजोसम्म नेपालको समस्याका रुपमा रहेको एमसिसी संकट आज दक्षिण एशियाको संकटका रुपमा देखा परिसकेको छ ।
नेपाललाई सन् २०१७ को एमसिसी सम्झौताअनुसार अमेरिकाले आफ्नो ‘अलाइ’ वा ‘रणनीतिक साझेदार’का रुपमा सार्वजनिक गरिसकेपछि नेपाल त्यसबाट हलचल गर्न ससक्ने अवस्थामा छैन ।
अमेरिकी रणनीतिक साझेदारका रुपमा राखिएको कुरा सरकारले पनि खण्डन गरेको छैन । भनौ खण्डन गर्न नै चाहिरहेको छैन । यस्तो अवस्थामा केही दिनअघि मात्र अमरिकाले नेपालमा एमसिसी सम्झौता संसदबाट पारित नगरिदिए यसलाई अमेरिकाले ‘चिनियाँ हस्तक्षेप’का रुपमा लिने सार्वजनिक घोषणा गरिसकेको छ ।
यसले स्पष्ट रुपमा के देखाउँछ भने नेपाल अब अमेरिकी अलाईका रुपमा रहेकाले नेपालमा पर्ने संकट अमेरिकाको चासोको विषय बन्छ । यसको सिधा अर्थ हो, आफ्नो अलाई नेपालमाथि चीनको हस्तक्षेप देखाएर अमेरिकी सेनाको प्रवेश ।
यो असंलग्न सार्वभौम राष्ट्रका लागि निकै दुखद कुरा हो । तर पनि यो आजको यथार्थ भने हो । यो भनाइले अब नेपालमा लादिएको एमसिसी सम्झौता केवल नेपालको संकट होइन, दक्षिण एशियाकै एक साझा संकट बन्न पुगेको छ ।
हेर्दा यो चीनका विरुद्धमा देखिए पनि भारतका लागि झन् खतरा बनेर आएको छ । चीनसँग अमेरिकाको प्रत्यक्ष टक्कर भए पनि अप्रत्यक्ष तर गहिरो टक्कर भारतसित पनि रहँदै आएको छ । अमेरिकाको दक्षिण एशियामा प्रभावकारी उपस्थिति भएसँगै अमेरिकाले भारतलाई रुससँगको सैन्य सम्बन्धमा तत्काल पुनर्विचार गर्न आग्रह गर्ने देखिन्छ ।
यो भारतका लागि ‘फलामको च्युरा’ साबित हुने छ । दक्षिण एशियामा बाह्य शक्तिका कारण देखिएको यो डरलाग्दो राजनीतिक संकट पहिलो नभए पनि पछिल्लो तर निकै भिन्न र असरदार प्रहार भने हो ।
यो अबका दिनमा त्रिशक्ति टकरावका रुपमा देखा पर्ने संकेत सार्वजनिक भैसकेको छ । अन्ततः चीन, अमेरिका र भारतजस्ता तीन महाशक्तिका बीचमा यो रणनीतिक दाउँपेचका रुपमा अभिव्यक्त हुँदैजाने देखिएको छ ।
सन् २०१७ को एमसिसी सम्झौतापछि चीनले नेपाललाई गाह्रो र अप्ठेरोका रुपमा लिन थालेको छ । भारत पनि अमेरिकी आगमनका खुसी छैन र अमेरिकी कदम विरुद्ध नेपालमा ‘माइक्रो लेवल’को लडाइँमा उत्रिएको छ । नेपालमा हाल राज्यसत्ताभित्र वा तराइका सडकमा घटिरहेका घटना बढी वैदेशिक शक्ति प्रेरित र प्रभावित हुँदै जान थालिरहेका छन् ।
यस्ता घटना र परिघटनाहरुले नेपाली मौलिकता छुन र सम्बोधन गर्न सक्दैनन् । बरु एकपछि अर्को गरी आश्चर्य र चमत्कारका रुपमा अभिव्यक्त हुँदै जान थाल्ने छन् । यस्ता वैदेशिक स्वार्थमा नेपाल अचानोमा पर्नु र आफ्नै शासकहरुले पार्नु सबैभन्दा बिडम्बनाको कुरा हो ।