• मंसिर १३ २०८१, बिहीबार

राजधानीका सडक निकै जोखिमपूर्ण : ‘नेपालमा सरकार भन्ने वस्तु पनि छ र ?’

माघ २५ २०७८, मंगलवार

काठमाडौं । कलंकी–नयाँबसपार्क खण्डमा पर्ने ठूलो भर्याङ नजिक बाटोमा सार्वजनिक बस कसो नालामा खस्यो ! यात्रीहरु चिच्याए । डाइवरले भएभरको बल लगाएर स्टेरिङ फन्काउनतिर लागे । बसका मानिसहरु सबै देब्रेतिरको सिटमाथि थुप्रन पुगे ।

महिलाहरु चिच्याए, नानीहरु रोए । तन्नेरी युवाहरु आफू बसेको सिटमा झुन्डिन पुगे । सहचालक सकीनसकी बसको अघिल्तिर सुरक्षित हुँदै बसको अघिल्तिरको भाग ‘ढ्वाङढ्वाङ’ पारेर ठटाउँदै ड्राइभरलाई सघाइरहेका थिए ।

एकक्षणपछि बस अलिकति सोझियो । सबैले शान्तिको स्वास फेरे । ‘धन्न बाँचियो’, एकजना बूढीआमा बोलिन् । ट्राफिक प्रहरी आएर सोधे, ‘कसैलाई केही त भएन नि !’

‘हुनु के पो बाँकी छ र !’ बूढी आमा फेरि चिच्याइन् । ‘डाइबरले पनि गाडी चलाउन नजानेका रहेछन् ।’ कोही ड्राइभरतिर खनिए, कोही महानगरपालिकातिर खनिन थाले । कोही अरुले संघीय सरकारलाई गाली गर्न थाले, ‘‘नेपालमा सरकार भन्ने वस्तु पनि छ र ?’

सबै हाँसे, तर सबैको मुख मलिन थियो । कसैको अनुहारमा चमक थिएन । कालको मुखबाट बचेका यी विचरा मानिस ! ड्राइभर बल्ल बोले, ‘सडककै बीचमा यस्तो भयो, मैले गर्दा हो र ?’ उनको अनुहार अझैं फुङ्ग उडेको थियो ।

उनी बिस्तारै फुस्फुसाए, ‘सरकार मरिसकेको छ, आफूले जहान केटाकेटी पाल्न नेपालमै केही गरौं भनेको, उल्टै यात्रुको श्रापले मरिने भैयो ।’
साच्चै, राजधानी सहरका सडकहरु अहिले निकै जोखिमपूर्ण अवस्थामा छन् । सडकका छेउँछाउँ र बीचमा परेका ठूलाठूला खाल्डाखुल्टीले चक्रपथको घुमघुमाउ यात्रालाई निकै जोखिमपूर्ण ‘एम्बुस’ थापेर बसिरहेका छन् ।

सहर भित्रने र बाहिरिने यात्रामात्र होइन, राजधानी सहरको यात्रा निकै कठिनाइपूर्ण छ । खाल्डाहरु कुनै निस्चित ठाउँमा मात्र छैनन् , यत्रतत्र र सर्वत्र ! सडकका हरेक एकाध मिटरका बीचमा सडकै भरि खाल्डाखुल्टी नै छन् । यी खाल्डाको सास्ती बेहोर्नु परेको दुई वर्ष पूरा भैसकेको छ ।

खाल्डाकै कारण कामाडौंमा सवारी दुर्घटनाको संख्यामा पनि बृद्धि हुँदै गैरहेको छ । बस, मिनिबस, भारबाहक, मालबाहक ट्रकहरु तथा क्याब र प्राइभेट जीप अनि मोटरसाइकल आदिको चाप बढेको बढ्यै छ ।

सरकारले ट्याक्स पनि लिएकै होला । भन्सार त जिभ्रोले टिपेकै देखिन्छ । तर पनि राजधानी सहर काठमाडौंका सडकहरुको बेहाल छ । हामीलाई देख्दा लाज लाग्छ, तर सरकार नांगै छ, उदांगो छ र शरमहीन अवस्थामा छ ।

यिनै महाखाल्डे सडकहरुमा पानी पर्दा हिलेयात्रा सुरु हुन्छ । घाम लागेपछि धुलेयात्रा चल्छ । कति बाध्यकारी छ, राजधानीको बसाइ ! सडकको सामान्य सुधार हुने छनक कतै पनि देखिएको छैन । अस्वाभाविक र ठूल्ठूला खाल्डाखुल्टीहरुको कारणले दुर्घटना निम्त्याउने हर्कत बढेरै जाने देखिन्छ ।

जनजीविकाको समस्या उस्तै छ । यस्ता जोखिमपूर्ण बाटोका वरपर सामान फिँजाएर किनमेलका लागि मानिस झुम्मिने गरिरहेका हुन्छन् । ठाडो भर्याङमा कसो ज्यान बचाएर माछापोखरी आइपुग्दा यो तमासा आँखैमा पर्न आउँछ । बाटोको अबस्था ‘कुबाटो’मा फेरिएको छ ।

कुन बेला गाडी ढल्किएर यिनै सडक पसलेहरुमाथि गुड्न र गुल्टिङ खान पुग्ने हो, थाह छैन ? सामान बेच्दा र खोल्दा निस्कने प्लाष्टिकजन्य फोहरले बाटो ढाकेको छ । आफै त असुरक्षित खाल्डे सडक, त्यसमाथि प्लास्टिकको सेतोपत्रे ! उफ्, जीवन कति सस्तो छ नेपालीका लागि !

उता पैदल यात्रीहरुका लागि सडक पेटीको व्यवस्था गरिएको छैन । पैदल यात्री सडकमा आएका छन्, गाडी पैदलमार्ग रहने ठाउँससम्म यात्री लखेट्न पुगिरहेका छन् । के यस्ता कुरा देख्ने सरकार नेपालमा होला !

धन्य, काठमाडौं सहरमा एकै समयमा तीवटा सरकारले शासन गरिरहेका छन् ! काठमाडौं महानगरपालिका, बागमती प्रदेश र संघीय सरकार ! यी तीनै तहका सरकारको बसाइ काठमाडौंमै छ । तर कसैको पनि यी सडकको सामान्य सुधार गर्नेतिर नजर परेको देखिदैन ।
त्यसैले प्रश्न उठ्नु स्वभाविकै हो, ‘नेपालमा सरकार भन्ने वस्तु पनि छ र ?’