काठमाडौँ । पानी परेर फाट्यो भने र चर्को घाम लाग्यो भने जमिनबाट हररर बासना आएको तपाईंले पक्कै पनि अनुभव गर्नु भएको होला । देशको राजधानी काठमाडौँ र अन्य ठूला शहरमा त घरैघर हुने भएर पानी परेर फाटेपछि मानिहरुले माटोबाट बासना आएको त्यति महशुस गरेको पाइँदैन तर प्रशस्त खाली जमिन भएको ठाउँ र गाउँहरुको क्षेत्रमा मानिसहरुले त्यसरी माटो बासना आएको महशुस गरेको पाइन्छ ।
अझ पानी परेसकेपछि चर्को घाम अथवा घाम लाग्दा जमिन बासना आएको महशुस गरेपछि किसानहरु खुशी भएको समेत देखिन्छ । जति जमिन बासना आयो त्यति बढी माटो मलिलो भएको विश्लेषण गरेको समेत पाइन्छ । पानी परेपछि घाम लाग्दा नाकसम्म आउने सुगन्ध जो कसैलाई पनि मिठो लाग्ने गर्छ तर पानी परेर फाटिसकेपछि माटोबाट किन बासना आउँछ भनेर सायद तपाईंलाई थाहा छैन होला ।
पानी परेर फाटिसकेपछि माटोबाट बासमा आउने होइन बरु हावामा मिसिएका विभिन्न किसिमका तत्वहरुले गर्दा हामीले बासना आएको महशुस गर्छौं । पानी परेर फाटिसकेपछि विभिन्न कारणले बासना आएको हुन्छ । मिठो बासना केहि खास व्याक्टेरियाहरुको कारणले आएको हो । कहिलेकाहिँ जंगल घुम्ने क्रममा पनि हामी यस्तो बासना फैलिएको पाउछौं । आउनुहोस् यसरी बासना आउने कारण बारे केही जानकारी राखौं ।
ओसिलो र न्यानो जमिनमा चाँडै विकसित भएर फैलने ‘एण्टिनोमाइसिटिज’ नामको व्याक्टेरियाले जमिन सुकेपछि ‘स्पोर्स’हरुको उत्पादन गर्छन् । ती स्पोर्सहरु हावामा फैलन्छन र ओसिलो हावामा रहेका कणहरुसँग त्यस्ता स्पोर्सहरु मिसिएपछि मिठो बासना निस्कन्छ र हामी त्यसको अनुभव गर्छौं ।
त्यस्तै पानीमा हुने अम्लका कारण बासना आउँछ । हावामा हुने विभिन्न रासायनिक तत्वहरुका कारण अम्ल मिसिएको यस्तो पानीले जमिनमा रहेका रासायनिक तत्वहरुसँग प्रतिक्रिया गर्दा बासना आउँछ । यस्तो बासना शहरमा समेत आउन सक्छ । किन कि शहरी क्षेत्रमा रहेको पानीमा बढी मात्रामा अम्ल पाइन्छ । तर शहरी क्षेत्रमा आउने यस्तो बासना मिठो भने कमै हुने गर्छ ।
त्यस्तै रुख तथा विभिन्न बिरुवाहरुबाट उत्पादित चाँडै वाफ भइ फैलन सक्ने ‘भोलाटाइल’ तेलका कारण पनि पानी परेर फाटेपछि बासना आउँछ । चट्टानहरुको सतहमा जम्मा भएर बस्ने यस्ता तेलहरुसित वर्षाको पानीले रासायनिक प्रतिक्रिया गर्दा ग्याँसको रुपमा हावामा छरिन्छन् । यसरी ती तेलहरू हावामा छरिएर आएको बासना भने मिठो हुने गर्छ ।