कर्णाली प्रदेशको राजनीति अहिले ‘वाल्लो घाट न पाल्लो तिर’को अवस्थाबाट गुज्रिइरहेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको बाक्चालका कारण मन्त्रीमण्डल बिस्तारमा समस्या देखिएपछि यस्तो अवस्था सिर्जना हुन गएको हो ।
संकटका बीचमा सत्तासिन बनाउने राजनीतिक शक्तिहरु नै अहिले आएर उल्टै मुख्यमन्त्री शाहीलाई ‘खोलो तर्ने, लौरो बिर्सने’ पात्रका रुपमा चित्रित गरिरहेका छन् । त्यसमा पनि एकताका ‘फ्लोर क्रस गरेर आफ्ना सहयोगीहरुलाई काँध थापेका प्रकाश ज्वाला ‘सरकारबाट फिर्ता हुनसक्ने’ सम्मको कुरा सार्वजनिक गर्न बाध्य भैरहेका देखिन्छन् ।
शाहीको प्रदेश सरकारले पूर्णाकार ग्रहण गर्न सापेक्ष लामो समय लिइरहेको छ । यसले पनि थुप्रै शंका आशंका जन्माइरहेको छ । यो बिलम्बलाई विश्लेषकहरुले कर्णाली गठबन्धन दलका नेताबीचमा चलेको ‘जुँगाको लडाइँ’ को संज्ञा दिएका छन् ।
तर मुख्यमन्त्री शाही भने सरकारलाई पूर्णता दिनका लागि आफू लागिपरिरहेको दावा गरिरहेका छन्। यस विषयमा माओवादी केन्द्रले सार्वजनिक रुपमा आफ्नो मुख नखोले पनि गठबन्धनमा रहेको एकीकृत समाजवादीले भने मुख्यमन्त्री शाहीको क्रियाकलापप्रति गम्भीर आपत्ति जनाउँदै आएको देखिएको छ ।
समाजवादीले खुलेरै आफ्ना कुराहरु राख्दै आएको पनि देखिन्छ । उसको आरोप छ, ‘मुख्यमन्त्री शाहीले सानो दल भनेर समाजवादीलाई ‘अन्डरस्टिमेट’ गरिरहेका छन् । एउटा तथ्यगत कुरो त के हो भने वैशाख २ मा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही र एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज एवम् पूर्वमन्त्री प्रकाश ज्वालाबीच ११–बुँदे सहमति भएका कारण आजको अवस्था निर्माणको जग बसेको थियो ।
यही गठबन्धनको राजनीतिक जगमा खुट्टा टेकेर महेन्द्रबहादुर शाही र जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने र टिक्ने अवसर पाएका हुन् । यसको तथ्यगत अभिव्यक्ति थियो, तात्कालीन एमालेभित्रको माधव नेपाल खेमामा रहेका चारजना सांसदद्वारा गरिएको ‘फ्लोर क्रस’ ।
यसको लाभ लिनेमा मुख्यमन्त्री द्वय शाहीहरु नै हुन् । तर यो ‘फ्लोर क्रस’ को प्रतिफल अहिले ‘आशंका र त्रास’ हात परेको समाजवादीको कटु अनुभव रहेको छ । यो कुरो त यतिसम्म पनि गम्भीर बनिसकेको छ कि मन्त्रीपरिषद् विस्तारमा आएको समस्या केन्द्रमा पठाउँदा पनि हल हुन सकिरहेको छैन ।
यो संकटको घडीमा उता मुख्यमन्त्री शाही भने भित्रभित्रै प्रमुख प्रतिपक्षी एमालेसँग ७–बुँदे सहमति गरेर आफूलाई शक्तिशाली देखाइरहेका छन् । उनको यो व्यवहारले समाजवादीलाई ‘अन्डरस्टिमेट’ गरेको स्पष्ट आभाष हुन्छ ।
प्रदेशमा आफूहरूबीच बनेको लिखित समझदारी अनुसार पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जीवनबहादुर शाहीलाई सत्ता हस्तान्तरण गरेका थिए । तर आफ्नो हातमा बागडोर आएपछि जीवनबहादुर शाहीले भने अनेकन कुट र चलखेलको नेतृत्व गरिरहेका छन् ।
यसै कारण पूर्वसहमतिअनुसार एकीकृत समाजवादीले पाउनु पर्ने तीन मन्त्रालयका बारेमा किचलो निम्तिएको छ । नेकपा समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वाला भन्छन्, ‘समाजवादीलाई दिने भनिएको तीन मन्त्रालय माग होइन, पूर्वसहमती हो, यसमा गरिने बहानाबाजी स्वीकार्य छैन ।’
ज्वाला थप्छन्, ‘हामीले विद्रोह गरेर आफ्नो पदको कुनै वास्ता नगरी प्रतिगमनविरुद्ध लड्दै आएका छौं, तर हामीलाई अहिले ‘बाइपास’ गर्ने जस्तो मानसिकता जीवनजीमा देखिएको छ, हामी बरु सरकारबाट फिर्ता पनि तयार छौं, सहमती विपरीत काम हुनुहुँदैन ।’