• मंसिर ९ २०८१, आईतवार

गठबन्धन भत्किए पनि एमसीसी पास गर्ने पक्षमा प्रधानमन्त्री प्रतिबद्ध, एमालेसँग संवाद जारी

माघ १९ २०७८, बुधबार

काठमाडौं । एमसीसीका विषयमा भएको अन्योलले देशलाई घाटा हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा सम्झौतालाई संसद्बाट अविलम्ब पारित गराउन प्रतिबद्ध देखिएका छन् ।

तर सहयात्री नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले भने सहमतिबिना सम्झौता अघि बढे गठबन्धनबाट बाहिरिन सक्ने चेतावनी दिएका छन् ।

नेपालको हित कसरी हुन्छ भन्नेमा आफू पनि सचेत रहेको तर सहयात्री दलका नेताहरूले नबुझेको भन्दै प्रधानमन्त्री देउवा असन्तुष्ट छन् ।

सम्झौता पारित गराउन अवरोध भए सत्ता गठबन्धन तोड्न आफू बाध्य हुने सन्देश पनि प्रधानमन्त्रीले सहयात्रीहरूलाई दिएका छन् । यसका लागि प्रमुख प्रतिपक्षी एमालेको सहयोग लिन पनि उनले समानान्तर संवाद अगाडी बढाएका छन् ।

विषय पेचिलो बन्दै गएपछि मंगलबार काँग्रेस उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पालैपालो माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेका थिए ।

माओवादीका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने परिमार्जनबिना सम्झौता अनुमोदन गर्न नसकिने अडानमा कायमै छन् ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले ‘सहमतिबिना एमसीसी सम्झौता अगाडि बढाइए’ आफूहरू गठबन्धनमा रहने सम्भावना कम रहेको संकेत गरेका छन् ।

अध्ययन कार्यदलका संयोजक तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जबर्जस्ती एमसीसी अगाडि बढाउन खोजे गठबन्धनमा समस्या आउन सक्ने बताइसकेका छन्  ।

कार्यदलका अर्का सदस्य सञ्चारमन्त्री तथा काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले भने आशंकाका विषयमा एमसीसीले यसअघि नै प्रस्ट पारिसकेका कारण अब अनुमोदन गर्न कुनै समस्या नरहेको बताउँदै आएका छन् । ‘

यो आर्थिक सहायता अस्वीकार भएमा अन्तर्राष्ट्रिय रूपमा नेपालको विश्वसनीयता पनि संकटमा पर्छ, सम्झौता गर्दा पनि पर्याप्त छलफल भएको हो, केही विषय एमसीसीले पछि पनि स्पष्ट पारेको छ, अब अलमल गर्नु हुन्न,’ उनले कार्यदलमा र सार्वजनिक रूपमा पनि भन्दै आएका छन् ।

यसरी खनाल र श्रेष्ठ एकातिर तथा कार्की अर्कोतिर भएकाले कार्यदलमै सहमति हुने नदेखिएपछि प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अघि बढाउन निर्णायक अग्रसरता लिएका हुन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।