• मंसिर ११ २०८१, मंगलवार

अनलाइन कक्षाले बसाल्यो मोबाइलको लत !

माघ १८ २०७८, मंगलवार

स्कुलमा दुईजना विद्यार्थी कुरा गर्दै थिए । आज राती बत्ती गयो भने त म कसरी सुत्ने होला ? उनलाई मोबाइलमा गेम नखेली निद्रै नपर्ने जस्तो देखिन्थे । अर्की एकजना छात्रा मोबाइल चलाउन दिएन भने ३ दिनसम्म पनि खाना खाँदिनन् रे ।

बाध्य भएर मोबाइल दिनैपर्ने अभिभावकाले सुनाए । मोबाइल गेममा फुटबल टुर्नामेन्ट चलेकाले दोस्रो त्रैमासिक परीक्षामा ध्यान दिन नसक्दा परीक्षा बिग्रिएको एक विद्यार्थीले सुनाए । अर्का एकजना आमासँग मात्रै बस्ने विद्यार्थीको पनि उही समस्या थियो ।

हातमा मोबाइल छ भने घरमा केही गर्दैन, ज्ञानी भएर बस्छ, यदि मोबाइल छैन भने पढ्ने पनि होइन, खाली झर्किने मात्रै गर्छ । उनका बुबा घरमा नहुँदा केही नराम्रो गरिहाल्यो भने उनकी आमा डराएजस्तै देखिन्थिन् ।

कोरोना भाइरसका कारण झण्डै डेढ वर्षजति विद्यार्थीहरुले घरबाटै मोबाइलको सहाराले पढ्नुपर्यो । जसका कारण अहिले कक्षा ६ देखिका धेरैजसो विद्यार्थीहरुसँग उनीहरुको व्यक्तिगत मोबाइल हुने गरेको छ ।

दिनभरि अनलाइन कक्षा लिनुपर्ने बाध्यताका कारण अभिभावकले आफ्ना छोराछोरीका हातमा मोबाइल दिए । कतिपय अभिभावकले आफूहरु काममा जानुपर्ने बाध्यताका कारण आफ्ना नानीबाबुलाई छुट्टै मोबाइल नै किनिदिए ।

धेरैजसो अभिभावकलाई अहिले त्यही मोबाइल नै समस्याको जड भएको छ । दिनभरि आफ्ना नानीबाबु स्कुलमा हुँदा हाइसन्चो गरेर बसिरहने अभिभावक उनीहरु घर फर्केपछि पिरोलिने गरेका छन् ।

बेलुकी गृहकार्य गर्ने, बिहान उठेर पढ्ने बानी छुटेको छ । घरबाहिर, घरभित्रै भाइबहिनीसँग खेलिने खेलहरु खेल्न बिर्सिसकेका छन् । मोबाइलमा व्यस्त भएकै कारण आफ्ना स–साना कामका लागि समेत अरुलाई गुहार्नु परिरहेको छ ।

लामो समयसम्म एकै ठाउँमा बसेर टाउको झुकाइ, आँखा नझिम्काएर खेलिने यस्ता मोबाइल गेमहरुले बालबालिका, किशोरकिशोरीमा शारीरिक तथा मानसिक रुपमा नकारात्मक असर परिरहेको छ ।

कतिपय विद्यार्थीहरु गृहकार्य गरिरहेको बहाना बनाइ ढोका थुनेर बस्ने गरेको अभिभावक सुनाउने गर्छन् । विद्यार्थीका बारेमा छलफल गर्न स्कुल आउने गरेका अभिभावकका गुनासा जहिले पनि आफ्ना नानीबाबुले धेरै मोबाइल चलाउने गरेको मात्र हुन्छन् ।

अभिभावक मात्र हैन, शिक्षकहरु पनि विद्यार्थीहरुको पढ्ने रुची खस्किएको देख्दा चिन्तामा परेका छन् । विद्यार्थीले कक्षाकार्य गर्न अल्छी गर्ने, लेख्न नमान्ने, गृहकार्य गरेर नआउने समस्याले शिक्षकलाई समेत समस्यामा पारेको छ ।

कक्षा ६ मा पढ्ने एउटा विद्यार्थीले नेपालीको परियोजना कार्यलाई हिन्दीमा लेखेर ल्याएको देख्दा विद्यार्थीमा मोबाइलको गहिरो लत लागेको देखिन्छ । अनलाइन पढ्ने समयदेखि नै लेख्ने अभ्यास कम भएकाले कतिपयको हस्तलेखन समेत बिग्रदै गएको देखिन्छ ।

वैशाख वा जेठदेखि नै अनलाइन कक्षा सुरु गरेका धेरैजसो निजी विद्यालयहरुले विद्यार्थीहरुको प्रथम त्रैमासिक परीक्षा घरबाट अनलाइन नै लिए । विद्यार्थीहरुको प्रश्नपत्र गुगलले उपलब्ध गराएको नमुनामा बनाउँदा विद्यार्थीहरुले प्रश्नपत्र खोलेर हल गर्न खोज्दा उनीहरुको भिडियो नै नदेखिने हुन्थ्यो ।

यसको फाइदा उठाउँदै विद्यार्थीहरुले अनलाइन परीक्षामा समेत कापी, किताबबाट चोरेरै लेख्न सिके । कतिपयले त इन्टरनेटबाट डाउनलोड गर्दै हुबहु कपी पेस्ट समेत गरे । अनलाइन कक्षामा शिक्षकले जति बोलाउँदा पनि नबोल्ने जुनसुकै विद्यार्थीहरुले समेत राम्रो अंकसहित उत्तीर्ण भए, अनलाइन परीक्षामा ।

कतिपय विद्यार्थीहरुलाई निजी विद्यालयहरुले कक्षामा प्रथम भएपश्चात् बर्षभरिको छात्रवृत्ति उपलब्ध गराउँछन् । अनलाइनमार्फत् लिइने यस्ता परीक्षाहरुले राम्रो पढ्ने, परिश्रमी विद्यार्थीलाई मात्रै समस्यामा पारेन अन्य मध्यमखालका विद्यार्थीहरुलाई समेत मेहनती हुनबाट बन्चित गरायो ।

असोजको पहिलो हप्तादेखि स्कुलहरु खुलेसँगै विद्यार्थीहरु भौतिक रुपमै स्कुल जान थाले । अहिले धेरैजसो विद्यालयले दोस्रो त्रैमासिक परीक्षा लिइरहेका छन् । कतिपय स्कुलहरुले विद्यार्थीको परीक्षा लिइपनि सकेका छन् ।

तर शिक्षक भने विद्यार्थीको कापी जाँच गर्दा उनीहरुको लेख्ने शैली, लेखेको मात्रा, हस्तलेखन् आदि देख्दा अचम्मभित हुने गरेका छन् । पहिला कक्षा नौ, दशमा पढ्ने विद्यार्थीहरु सामाजिक, नेपालीजस्ता विषयहरुको प्रश्नपत्र हल गर्न समय नपुगेको, प्रश्नहरु छुटेको भन्दै परीक्षा हलबाट रुँदै बाहिर निस्कने गर्दथे ।

अहिले विद्यार्थीलाई केहि त लेखून् भन्दै जबरजस्ती नै गर्दै दुईघण्टासम्म निस्कन नपाउने गरी परीक्षा हलमा राख्नु परिरहेको छ । लामो समयसम्म घरमा बढी स्वतन्त्र र पढ्ने, लेख्ने बानी छुटेका कारण विद्यार्थीको पढाइमा ध्यान कमै जाने गरेको देखिएको छ ।

योसँगै जबसम्म विद्यार्थीहरुको परीक्षाफल प्रतिशतमा आउने गर्थ्यो, उनीहरुमा छुट्टै प्रतिस्पर्धा हुने गथ्र्यो । ८० प्रतिशत ल्याएर डिस्टिङ्सन त हान्नै पर्छ है भन्ने धेरैजसो विद्यार्थीहरुको धारणा हुने गर्थ्यो र त्यसै अनुसार मेहनत पनि गर्दथे ।