पिस्कर राजनीतिक एवम् ऐतिहासिक रुपमा महत्वपूर्ण स्थल हो । पञ्चायती निरङ्कुशता विरुद्ध युद्धको शंखघोष गरेपछि परिवर्तनका खातिर ठूलो शहादत भएको थियो पिस्करमा । सुरुमै दुई महान् शहीदले मृत्युवरण गर्नु परेको थियो त्यहाँ । त्यही भूमिबाट सयौंजना परिवर्तनको पक्षमा उभिएका थिए । अरु दर्जनौ गिरफ्तार भएका थिए ।
२०४० सालको सेरोफेरोमा तत्कालीन नेकपा (माले)को राजनीतिक गतिविधिको केन्द्रविन्दु बन्दै आएको थियो पिस्कर । त्यतिबेला पिस्करले स्थानीय सामन्त र निरङ्कुश पञ्चायती व्यवस्थाका स्थानीय इकाइहरुमाथि ठूलै धक्का दिइरहेको थियो ।
मार्क्सवादी र लेनिनवादी दर्शनद्वारा प्रशिक्षित अगुवाको अग्रसरतामा पिस्करको महादेवस्थानमा लाग्ने संक्रान्ति मेलाको उपयोग गरी जनतालाई संगठित र जागरुक बनाउने अभियान अन्तर्गत भएको सांस्कृतिक कार्यक्रमले पञ्चायती शासक निकै डराएका थिए ।
त्यसपछि तत्कालीन नेकपा (माले) र पिस्करवासीको सशक्त जनजागरणका कारण पञ्चायती व्यवस्था र त्यसको तानाशाही प्रशासनले वैरभाव साँधिरहेको थियो । फलतः तात्कालीन व्यवस्थाले आफ्नो वर्चश्व जोगाइराख्न सुनियोजित ढङ्गले २०४० सालमा पिस्कर हत्याकाण्ड घटाएको थियो ।
माघे संक्रान्तिका दिन महादेवस्थानमा नेपाल प्रहरीको जत्थाले न्यायप्रेमी समुदायमाथि अन्धाधुन्ध गोली बर्साएका थिए । वीरबहादुर थामी घटनास्थलमै मारिए भने इले थामीको शव दाबीखोलाको किनारमा स्याउलाले छोपेको अवस्थामा फेला परेको थियो ।
घटनामा पल्कमाया थामी, साङडोल्मा, बेत्रावती पौडेल, सावित्री बोहरा, कर्णकुमारी बोहरा, चिनी कार्की, शोभा बोहरा, बिर्खमाया थामी, तारा बोहरा, ललितकुमारी बोहरा, मन बोहरा गिरफ्तार भएका थिए ।
छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरुण नेपाल, सरेश नेपाल, गोपाल थपलियालगायत दर्जनौंले जेलको यातना खेप्न पुगेका थिए । त्यो कालो रातले बीरबहादुर थामी र इले थामीको इहलीला समाप्त पारेको थियो ।
तत्कालिन शासकको गोलीले मृत्युवरण गरेका दुई थामीको बलिदानीले पञ्चायतको क्रुरता र बर्बरतालाई उदाङ्गो पारेको थियो । पिस्कर आफैमा गौरवपूर्ण नाम भए पनि यो क्षेत्रको संरक्षण र विकासमा ढिलोगरी योजना निर्माण हुन थालेका छन् ।
महादेव मन्दिरमा तत्कालिन पञ्चायती सरकारका प्रहरीले गोली प्रहार गरेर न्यायप्रेमी जनताको प्राण हरण गरेका थिए । सोही स्थानमा अहिले मन्दिर निर्माण गरिएको छ । यसले धार्मिक एवम् ऐतिहासिक महत्वको स्थलका रुपमा यसलाई जगेर्ना गर्न मद्दत मिलेको छ ।
पिस्कर भूमिमा शहीद थामी द्वयको शालिक निर्माण भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाले पिस्करको महत्व उजागर गर्ने उद्देश्यका साथ शहीदस्तम्भ निर्माण गरेको छ । यो स्तम्भले यस ठाउँको राजनीतिक महत्वलाई अझ उजागर गर्न सहयोग पुर्याएको छ ।
गाउँपालिकाले १७ लाख रुपैयाँ खर्च गरेर शहीद गेट निर्माण गरी शहीद र शहीद परिवारको सम्मान गरेको छ । त्यसो त बागमती प्रदेश सरकारको सहयोगमा निर्माण भएको शहीद–स्तम्भले यसको शोभा र गरिमा निकै माथि उठाएको छ ।
यसका लागि प्रदेश सरकारले १० लाख र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख खर्च बेहोरेका छन् । त्यही स्थानमा संग्रहालय तथा पार्क निर्माणको थालनी भएको छ । विगतमा पिस्कर गाउँपालिकामा रहेको यो क्षेत्र नयाँ संरचनासँगै त्रिपुरासुन्दरी गाउँपालिकाभित्र पर्न गएको छ ।
झट्ट हेर्दा प्रशासनिक रुपमा पिस्कर टाढा भएजस्तो भान पनि पर्न गएको छ । यही मर्मलाई आत्मसात् गरी अहिले गाउँपालिका भवन पनि यही ठाउँमा निर्माण भइरहेको छ । केही संरचना निर्माणाधीन अवस्थामा छन् ।
केही नयाँ संरचना निर्माणार्थ उद्घाटन भइसकेको पनि छ । यी संरचनाले साँच्चै यस क्षेत्रको भौतिक विकासका साथै राजनीतिक एवम् ऐतिहासिक विकासमा टेवा पुर्याउन थालेका छन् ।
शहीद परिवारको जीवन र जीविकोपार्जनमा थोरै भए पनि सहयोग पुर्याउनका लागि शहीद थामी परिवारहरुका लागि गाउँपालिकाले कार्यक्रम निर्माण गरेर लाने योजना बनाएको छ । अहिले पनि थामी परिवार शैक्षिक रुपमा पनि पछि परेका छन् ।
यही कुरालाई मध्यनजर गरेर सहीद परिवारलाई स्वास्थ्य र शिक्षासँग सम्बन्धित केही सहयोगी कार्यक्रम निर्माण र कार्यान्वयनका लागि सहयोग कोषको स्थापना गरिएको छ । यसका साथै गाउँपालिकाले बालबालिकाका शिक्षाका लागि वार्षिक एक लाख रुपैयाँका दरले सहीद परिवारलाई सहयोग पनि गरिरहेको छ ।
सडक सञ्जालमा पछि परेको पिस्कर क्षेत्रलाई जोड्नका लागि कार्ययोजना निर्माण गरिएको छ । सडक सञ्जालको योजनामा पारिएसँगै गाउँपालिकाले हरेक गाउँमा सडक बिस्तार गरेर मोटर बाटो पुर्याउन कामको थालनी गरेको छ ।
पिस्कर आफैमा राजनीति तथा इतिहासको अनुपम संगमस्थल हो । थामी जातिको बसोबासले यसलाई अझैं सुन्दर बनाएको छ । तर यो सौन्दर्यमा गुणवत्ता ल्याउनका लागि धेरै मेहनत गर्नु पर्ने भएको छ ।
थामीहरुको शैक्षिक एवम् आर्थिक स्थिति अझै उकास्न बाँकी छ । राजनीतिक चेतनाले लैस रहेका यहाँका बासिन्दाको विकास निर्माणमा सहभागी हुन रहर पनि अद्वितीय नै छ । विकासका काममा हुने गरेको जनसहभागिताले यो आन्तरिक पक्षलाई पनि उजागर गरेर देखाउने गरिरहेको छ ।
देशमा संघीयता आएको छ । यो ऐतिहासिक स्थलको विकास र समृद्धिका लागि तीनै तहका सरकारका बीचमा संयोजन र सहकार्य जरुरी छ । संघ र प्रदेशले सहयोगको हात बढाएमा स्थानीय सरकारले अघि सारेको योजना कार्यान्वयन सोचिएकै समयमा सम्पन्न हुने संभावना पनि देखिन्छ ।
शहीद तथा शहीद भूमिमा कुनै पनि राजनीतिक स्वार्थ साँधिनु हुँदैन । यो आफैमा वर्तमान व्यवस्थाको आधार भूमि हो । यसका लागि स्थानीय सरकारले निर्माण गरेको योजनामा सबैले साथ र सहयोग पुर्याउनु हामी सबैको कर्तव्य हुन आउँछ ।