काठमाडौं । नेपालको आर्थिक विकासमा संरचनागत समस्या रहेको भनी सचिव तथा मन्त्रीहरुले बारम्बार भन्ने गरिरहेका हुन्छन् । तर ती संरचनागत समस्या के हुन् त जसले गर्दा नेपालको आर्थिक विकासमा निकै ठूलो बाधा सिर्जना भैरहेको छ ।
नेपालको आर्थिक विकासमा समस्या सिर्जना गरिरहेका संरचनागत समस्यामा मूलतः दुई कुराहरु पर्ने गरेका छन् । पहिलो हो, नेपालको आफ्नै राजनीतिक तथा आर्थिक संरचना र दोस्रो हो, वैदेशिक राजनीतिक तथा आर्थिक संरचना ।
पहिलो वा स्वदेशी संरचनागत समस्यामा नेपालको आफ्नै राजनीतिक तथा आर्थिक संरचनागत समस्या रहेका छन् । राजनीतिक रुपमा नेपालमा एउटा प्रजातान्त्रिक शक्ति र अर्को साम्यवादी वा वामपन्थी शक्तिको चलखेल छ । यिनीहरुको राजनीतिक सोच र आर्थिक संरचनाको परिकल्पनामा आकाश पातालको फरक हुने गरेको छ ।
त्यसमा पनि बेलाबेलामा हुने प्रजातान्त्रिक तथा वामपन्थी शक्तिहरुको गठजोडले त ‘कक्टेल’ संरचना सिर्जना गरिरहेको हुन्छ । यसले न त आर्थिक विकासको नयाँ धार पकड्न सक्छ, न त पुरानोलाई निरन्तरता दिन नै । यही राजनीतिक मनोदशाले नेपालको आर्थिक संरचना स्थिर र नियमित हुन सकिरहेको छैन ।
अघिल्ला सरकारले सुरु गरेका राष्ट्रिय गौरवका आयोजनाहरुको अभिभावकत्व नलिने चलनले निरन्तरता पाएकै छ । यसको अलावा नयाँ सरकार निर्माण भएपछि अवस्तुवादी नयाँनयाँ नीति र योजनाहरु ल्याउने र जनताका बीचमा राजनीति गर्ने परिपाटी रहेकाले पनि नेपालमा संरचनागत समस्या परिरहेको छ ।
पछिल्लो समयमा त बिचौलिया तथा दलाल ठेकेदारको खोजी र उनीहरुसँगको सम्झौताका कारणले पनि नेपालमा आर्थिक विकास हुन सकिरहेको छैन । यिनै दलाल ठेकेदारहरुसँगको मिलेमतो र साँठगाँठमा आर्थिक अनियमिमतता हुने गरेकाले पनि यसले आर्थिक संरचनागत समस्या निम्त्याएको छ ।
बजेट निर्माण र कार्यान्वयनको ढर्रा पनि पुरानै छ । यसमा समयसापेक्ष परिवर्तन ल्याउन सकिएको छैन । बजेट निर्माण पछिका ६ महिनासम्म कुनै काम पनि नहुने, ठेकेदार छनौटमा ठीक्क हुने, त्यसपछि मात्र कामको थालनी गरिने र असारे वर्षाको भेलसँगै बजेट पुर्ने काम हुँदै आएको छ ।
त्यसै गरी बाह्य आर्थिक संरचनाले पनि नेपालको आर्थिक विकासमा ठूलो असर पारिरहेको छ । नेपालमा वैश्विक उदार अर्थनीति स्वीकार गरिएपछि नेपालको स्वतन्त्र र आत्मनिर्भर अर्थनीतिले ठूलो घाटा बेहोरिरहेको छ । यसैका कारण यो परनिर्भर हुँदै गैरहेको छ ।
नेपालले अहिले बढिभन्दा बढि वैदेशिक सहयोग स्वीकार गरिरहेको छ । यो सहयोगमा पैसा मात्र आउँदैन, यसमा सहयोग कर्ताको स्वार्थ र उपलब्धी पनि सँगै आएको हुन्छ । यस्ता ऋणमा लगानी कर्ताका अन्तर्राष्ट्रिय कानुन तथा रणनीतिक स्वार्थ पनि सँगै गाँसिएर आएका हुन्छन् ।
फलतः नेपालले ऋणका रुपमा ल्याएको रकम पनि उनीहरुको निर्देशनअनुसार खर्च गरिनु पर्ने बाध्यता आइलागेको हुन्छ । यो वास्तवमा विदेशी स्वार्थमा लादिएको संरचनागत समस्या हो ।
यिनै आन्तरिक तथा बाह्य संरचनागत समस्याले नेपाल अहिले किंकर्तव्यविमुढको अवस्थामा छ । यहाँ संरचना भन्नाले विदेशी तथा स्वदेशी सोच र तदनुरुपको आर्थिक खर्च व्यवस्थापनको कुरा भन्ने बुझ्नु जरुरी छ ।