• मंसिर १३ २०८१, बिहीबार

युवा नेतालाई स्वास्थ्य लाभ, गरुङलाई राजनीतिक लाभ !

माघ १३ २०७८, बिहीबार

काठमाडौं । लामो समय जटिलखालको जन्डिस रोगको उपचार गराएर चीनबाट फर्केका नेकपा माओवादी नेता वर्षमान पुन र अर्का नेता जनार्दन शर्मा पुननिवास खुमलटारमा भेटघाट भएका छन् । उनीहरुको भेटघाटलाई जनार्दन शर्माले यस अघि भन्ने गरे झैं ‘सौहार्द्र र मित्रवत’ रुपमा देख्दा राजनीतिक वृत्तमा कौतुहलता छाएको छ ।

धेरैले उनीहरुको मित्रतालाई यति नजिकको होइन कि भनेर आँकलन गर्ने गरेका थिए । दुवै युवा नेता महासचिवका दाबेदार रहेकाले पनि उनीहरुबीच घृणा र टकराव पो छ कि भनी अस्वस्था प्रतिस्पर्धाको आँखा बाट हेरिरहेका थिए ।

तर यी दुवैको भेटघाटले यस्ता अनुमान मनोगत पो रहेछन् कि भनी समीक्षा गर्ने अवस्थामा पुर्याएका छ । कतिपयले त नेकपा माओवादी केन्द्र भित्रको शक्ति सन्तुलनलाई नजिकबाट आँकलन गर्न पनि सकिरहेका छैनन् ।

पार्टीमा बरियताको पनि मान्यता रहन्छ । साथै, पार्टीभित्रको अन्तर संघर्ष समाधानका लागि कुन बेला कुन विशिष्टतामा पुग्छ, यसले पनि निर्णायक महत्व राख्छ । तर प्रत्यक्ष निर्वाचनमा गएमा भने यो अधिकार भोटर कार्यकर्ताको हातमा जान्छ र सापेक्ष लोकप्रिय नेताले विजय पाउने संभावना बढेर जान्छ ।

अहिले निर्णायक कुराको फैसला गर्ने अधिकार अन्तिममा गएर पार्टीका अध्यक्ष प्रचण्डलाई दिने परिपाटीले कमाण्ड गरिरहेको छ । यस्तो अवस्थामा भोटिङमा जाला माओवादी केन्द्र भनेर परिकल्पनासम्म गर्न सकिदैन ।

स्वभावैले माओवादी केन्द्रमा देव गुरुङ, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाललगायतका नेताहरु महासचिवका दाबेदार छन् र हुन् पनि । महासचिवमा युवाहरुको दाबी रहनु स्वभाविक पनि हो, त्यसमा पनि जसको सांगठनिक वर्चस्व छ, ऊ त हुनु पर्छ पनि ।

किनकि महासचिव भनेको पार्टीको फिल्ड मार्सल हो । यो नोमिनेशन गरेर वा टीका लगाएर चल्ने जिम्मेवारी पनि होइन । फिल्डका जनता र कार्यकर्तासँग प्रत्यक्ष जोडिएको हुनु पर्छ महासचिव । तर पनि यो पार्टीको आन्तरिक पद वा जिम्मेवारी भएको हुनाले यो पार्टीमा रहेका नेताहरुको जिम्मेवारीको बाँडफाँडसँग पनि जोडिएको हुन्छ ।

महासचिवका लागि ‘वर्षमानको अनुपस्थिति’ जनार्दनको हाइहाइ भनेर पनि चर्चा गरियो । तर वर्षमान अएपछि उनको दावालाई लिएर सोचिएको जस्तो चर्चापरिचर्चा पनि गरिएन वा चलेन । यसको मुख्य कारण हो, पहिलो त वातावरण नै त्यो खालको रहेन अर्कोतिर नेतृत्वले पनि त्यसो गर्न चाहेको देखिएन ।

यसको अर्थ हो, पार्टीभित्र पुराना नेता र नयाँ नेताहरुको बीचमा सेटिङ मिलाउन बाँकी छ । पुराना नेतालाई मातृका यादवले भने झैं ‘त्यत्तिकै पाखा लगाउने (?)’ अवस्था पनि छैन । नेपाली कांग्रेसको महाधिवेशनमा झैं ड्रम उभ्याएर भोट खसाल्ने अवस्था पनि छैन ।

बरु माओवादी केन्द्र पार्टी भित्रको आन्तरविरोध र त्यसले जन्माएको शक्ति सन्तुलनका बेला नेता पुनलाई भेटेर देव गुरुङ दम्पति बाहिरिनासाथ अर्का नेता जनार्दन शर्मा पुष्पगुच्छा लिएर पुनलाई भेट्न पुगेझैं यी दुवै युवा नेतालाई स्वास्थ्य लाभ र गुरुङलाई राजनीतिक लाभ हुने संभावना बलियो रहेको देखिन्छ ।