• मंसिर १८ २०८१, मंगलवार

युवती जस्तै लजाउने सुन्दर फूल भेटियो चीनमा

माघ १२ २०७८, बुधबार

काठमाडौँ । मानिस यो पृथ्वीको सर्वश्रेष्ठ प्राणी भएको हुनाले ऊभित्र ज्ञानको भण्डार रहेको मानिन्छ । ज्ञान क्षमताको हिसाबमा संसारका अरु सबै जीवजन्तु र प्राणीभन्दा मानिस श्रेष्ठ हुनाले सबैलाई मानिसले आफ्नो नियन्त्रणमा राख्ने हैसियत प्राप्त गरेको छ ।
मानिसमा खाने, पिउने, मनोरञ्जन गर्ने, ठुलालाई आदर गर्ने र सानालाई माया गर्ने, कुरा बुझ्ने, बुझाउने आदि मात्र होइन, नयाँ नयाँ अनुसन्धान गर्ने चेतना समेत रहेको हुन्छ ।

माथि उल्लेख गरिएका कुराबाहेक मानिसमा लजाउने प्रकृति हुन्छ नि ! मानिस आफ्ना अगुवाहरुसँग, अग्रजहरुसँग र अझ गरेर प्रेमी प्रेमिकासँग र प्रेमिका प्रेमीसँग लजाउने गरेको पाइन्छ । लजाउनु मानिसको एउटा खास गुण नै हो । वैज्ञानिक र मनोविदका अनुसार जनावरहरु पनि लजाउँछन् र रुख बिरुवाहरु पनि लजाउँछन् । हामीले व्यवहरमा पनि अनुभूत गर्ने गरेका छौं, हैन ?
वनस्पतीहरुको फूल फुल्ने गुण एक विशेष गुण मानिन्छ । फूललाई सुन्दरता र आनन्दसँग तुलना गरिन्छ । फूल देख्दा त कोहि कोहि लजाउने पनि गरेको देखिन्छ । फूलहरु र बनस्पतीहरु पनि मानिस र अरु प्राणी देख्दा लजाउने गर्छन् भन्दा चाहिं तपाईमध्ये कसैकसैलाई अनौठो लाग्न सक्छ ।

मानव जगतमा नारी जातिको स्वभावलाई लज्जालु स्वभावको रुपमा चित्रित गरिन्छ । हरेक नारी जिन्दगीमा एकचोटी बुहारी हुने भएकाले बुहारीलाई नै लजालुको रुपमा चित्रित गरेको समेत पाइन्छ । त्यही भएर होला नेपालीमा लज्जावती बनस्पतीलाई ‘बुहारी झार’ समेत भन्ने गरिएको पाइन्छ ।

नेपालका डाँडा पाखाहरुमा पाइने लज्जावती झार अर्थात् बनस्पतीलाई विभिन्न ठाउँहरुमा विभिन्न नामले पुकार गर्ने गरेको देखिन्छ । कतै यसलाई ‘लज्जेझार’ भनिन्छ त कतै यसलाई ‘लज्जेकन्दा’ भनिन्छ ।

यसलाई छुनका लागि मानिसले हातका औंला झारको नजिक पुर्यायो भने आफूतिर खुम्चिएर लजाइहाल्छ । अर्थात्, यो नामजस्तै गरी लजाउँछ । यसरी लजाउने झार वा बनस्पतीलाई अंग्रेजीमा ‘टच मी नट’ (Touch Me Not)  भनेर भनेको पाइन्छ । लजाउने फूल पनि हुन्छन्, जो नेपालमा पनि प्रशस्तै पाइन्छन् ।

लजालु फूलको कुरा गर्दा हालै चीनमा संसारको सबैभन्दा छिट्टो लजाउने लजालु फूल पत्ता लागेको छ । चिनियाँ अनुसन्धानकर्ताहरुले संसारकै छानोको रुपमा रहेको भनेर चिनिने तिब्बतमा संसारककै सबैभन्दा बढी लज्जालु फूल फेला पारेको बताएका छन् ।

चिनियाँहरुले अनुसन्धानको क्रममा तिब्बती पठार छिङघाईमा सो फूल पत्ता लगाएको दाबी गरेका छन् । चिनियाँ अनुसन्धानकर्ताहरुका अनुसार मानिस वा अन्य वस्तुले छोएको ढिलोमा सात सेकेण्डभित्र फूलले आफ्ना सबै पत्ता बन्द गरिसक्छ । यो फूल नै संसारकै सबैभन्दा लज्जालु फूल हुन सक्ने उनीहरुको दाबी छ ।

चिनियाँ विज्ञान बुलेटिन जर्नलमा प्रकाशित एक अध्ययन अनुसार हुपेई विश्वविद्यालय, चिनियाँ एकेडेमी अफ साइन्सेज अन्तर्गत वुहान बोटानिकल गार्डेन, वुहान विश्वविद्यालय र तिब्बत विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले यो कुरा संयुक्त रुपमा पत्ता लगाएका हुन् ।
यस्ता फूलहरुले द्रुत कोरोला संकुचन र पूर्ण बन्दको प्रक्रिया अपनाउँछन् । यिनीहरु यतिसम्म संवेदित हुन्छन् कि यिनले मेकानिकल उत्तेजनामा समेत प्रतिक्रिया दिनसक्छन् । प्रजातिका हिसाबले जेण्टियना वर्गमा पर्ने यो फूलका चार प्रजाति रहेको समेत ती अनुसन्धानकर्ताले पत्ता लगाएका छन् ।

सो अनुसन्धानको नेतृत्व गरिरहेका अनुसन्धानकर्तामध्ये हुपेई विश्वविद्यालयका स्कुल अफ रिसोर्सेज एण्ड इन्भाएरोमेण्टल विज्ञानका प्राध्यापक ताई छुवानले यस्तो जानकारी बाहिर ल्याएका छन् । उनले चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वालाई दिएको जानकारी अनुसार अध्ययनको क्रममा ‘अचम्म लाग्दा ती फूलहरु नाङ्गो आँखाले देख्दा क्षणभरमै आँखा अगाडि नै हराउन पुगेका थिए ।’

अनुसन्धान कार्यमा संलग्न अनुसन्धानकर्ताका अनुसार चारवटै प्रजातिका फूलहरुले लजाउन बढीमा सात सेकेण्डको समय लिएका थिए । यसै कारणले पनि ती फूलहरुलाई संसारकै सबैभन्दा संवेदनशील र छिट्टो प्रतिक्रिया जनाउने फूलमा रुपान्तरण गरिदिएको छ । यसरी प्रतिक्रिया दिएर पूर्ण रुपमा बन्द भएका ती फूलहरु खुला आकाशमा औसतमा २१ मिनेटपछि फेरि खुल्न थाल्छन् ।