भागवत पुराणमा वर्णित छ स्वयम्भू मनु र उनकी पत्नी शतरुपाको सन्तानले यो संसार ढाकेको हो । स्वयम्भू मनुका सन्तान कश्यपका १३ वटी पत्नीहरु थिए । पत्नी दितीका कोखबाट दानवहरुले जन्म लिए, पत्नी अदितीका कोखबाट देवताहरु ईन्द्र आदि सबै भए । भूत, प्रेत, पिशाचदेखि सबै प्राणी उनकी पत्नीहरुबाट पैदा भए ।
अर्की पत्नी थिइन् कद्रु जसबाट नागहरुको उदय भयो, अर्की पत्नी थिइन् । विनिताका कोखबाट गरुडजीको जन्म भयो, उनी विष्णुका बाहन भए, जसरी कुमारको मयु्र र गणेशको मुसो भनेझैं । सौतेनी माम्लो भनिएझैं नाग र गरुडको खासै मिल्ती थिएन, दिदी बहिनीमा पनि सौतेनी ईष्र्या नै थियो ।
विनिता जेठी भएकीले केही मान्यता चाहन्थिन्, बहिनी कद्रु उनलाई मान्न तयार थिइनन् । एक पटक विवाद भएछ । शास्त्रमा सूर्य ७ घोडामा चढेर परिभ्रमण गर्छन्, सप्तरंगी इन्द्रेणी त सूर्य किरणमा हामीले देखेका छौँ । सूर्यका घोडा सेता रंगका छन् भनी विनिताले भनिन्, होइन, होइन कालो रंगको पो हो त भन्दै कद्रु उफ्रन लागिन् ।
घम्साघम्सी नै पर्यो । बाजी गर्ने, हार्नेले जीवनभरि जित्नेको दास बन्नु पर्ने प्रस्ताव गरिएछ । ध्रुवकी आमा सुनीति जस्तै सुविचारकी थिइन् विनिता, उनलाई रंग सेतो हुनुमा शङ्का थिएन, शास्त्र पढेकी पनि थिइन् । भोलि विहानको सूर्योदय हेर्ने दुबैको प्रस्ताव भएछ ।
यता कद्रुपुत्र नागहरुले आफ्नी आमाले हार्ने भइन् हामी दासीका पुत्र हुने भयौँ भन्दै बखेडा गर्न थालेछन्, सबै नागहरु मिली सूर्यलाई घेरा दिँदा सूर्यको घोडाको रंग छायाँ परेकाले कालो देखिएछ ।
भोलिपल्टै सूर्यको छायाँ अँध्यारो रंग कालो देखिँदा वचनमा पक्का भएकी विनिता सधैँका लागि दास भई कहिले बहिनीको नुहाइ, धुवाइ, मैलो कपडा फेर्ने, जुम्रा केलाइदिने गर्न लागिछन् । बहिनीको आदेश नपाई अरुसँग बोल्ने स्वतन्त्रता पनि रहेनछ । एक पटक विनिता पुत्र गरुड आमा भेट्न आए, भोकै रहेछन् उनी ।
सौतेनी आमाको कपाल सुम्सुम्याउँदै गरेको देखेर लज्जित भई आमा, आमा भनी बारम्बार बोलाउँदा पनि मालिकको आदेश नभएकाले आमाले छोराप्रति हेर्न सकिनछन् । बहिनीको इशारा पाएपछि मात्र उनले आफ्नो वृत्तान्त छोरालाई भनिन् । गरुड स्वयम् श्रीविष्णुका बाहन हुन्, उनलाई थाहा भयो, भाइ नागहरुको षडयन्त्र ।
गरुड नागहरुप्रति जाइलाग्ने विचार गरे । नागहरुले भने आफूले ईन्द्रको अमृत पान गर्न सके आफू सुरक्षित हुने थाहा पाए । तर अमृत ल्याउने सामथ्र्य नागहरुमा थिएन, त्यो सामर्थ्य थियो गरुडमा । नागहरुले आफू मिलेझैं गर्न लागे र गरुडलाई भने आमाको दासत्व मुक्तिको उपाय छ, ईन्द्रमा रहेको अमृत ल्याएर माता विनितालाई पिलाउनू ।
स्वर्गको अमृतको घडा ल्याउने काम सजिलो थिएन, चोरेर ल्याउनु पर्ने थियो, स्वभावैले गरुड उड्ने प्राणी भएकाले उडेर स्वर्ग गए, कसैले थाहा नपाउने गरी अमृतको घडा ल्याएर भाइ नागहरुको हातमा थमाए, सोझैं आमालाई दिन डर थियो चोरीको सामान । अब अमृत पहिले कसले खाने भन्ने विवाद भयो, खोसाखोस हुन थाल्यो ।
गरुड चलाख थिए, उनले भने चोखो प्रसाद खाँदा पहिले नुहाउनु पर्छ, बासी मुखले खानेकुरा खानु हुन्न, त्यसमा पनि यो त अजरामर होइने बस्तु अमृत पो हो त । गरुडको प्रस्ताव नागहरुलाई राम्रै लाग्यो, विश्वाश पनि भयो । यामानको ढुङ्गाले अमृतको घडालाई थिचेर, लुकाएर नागहरु विधिपूर्वक नुहाउन नदीभित्र पसे, जलमा पसेपछि सर्पहरु अल्मलिनु स्वभाविक हो ।
यही बेला स्वर्गमा अमृतको घडा हराएको हल्ला चलेछ । अमृतको घडा खोज्न चारैतिर मत्र्यलोक, पातालतिर दूतहरु खोज्न पठाएछन् ईन्द्रले । दूतहरुले ढुँगा पल्टाई अमृतको घडा लगे स्वर्गमा । अमृतको घडा ओरिपरिको सामान पनि ल्याउनू भनेछन् ईन्द्रले ।
धेरै ऋषि मध्येका गौतमले घडा रहेको ढुँगाको पत्तो लगाएछन्, ढुँगा लैजान खोज्दा गौतमले भनेछन् दूतहरुलाई कि मैले घडा राखिएको ठाउँ पत्तो लगाएँ, त्यसैले अमृत लगेकै छ, त्यो ढुंगा नलानू म यहीँ तप गरी बस्छु, यो स्थान अमृतको छिटा परेकाले प्रयागको रुपमा चिनिने छ ।
ईन्द्र पनि आवश्यकता परेका बखत यहीँ आऊन्, ईन्द्र पत्नी पनि । अबदेखि पाप नाशक, श्राप मोचक, पुण्यवद्र्धक स्थान हुनेछ यो क्षेत्र । पाइला भए पनि राख्नु पर्ने यो क्षेत्र पाइलाको अर्थमा पला भन्नाले पाइला र ती भन्ने अर्थमा राख भनी पलाँती नाम रहेको र पुण्य प्राप्ति हुने भएकाले पुण्यवतीक्षेत्र हुने भएछ, अपभ्रंश हुँदै पनौती भनिन थालेछ ।
यसरी काभ्रेको पनौती ईन्द्रेश्वर मन्दिर, पनौती खोला अनि स्वर्गका राजा देवेन्द्रसँगै जोडिएको प्रसंग काठमाडौँको दहचोक डाँडोमा ईन्द्रदह जहाँ भाद्र शुक्ल चतुर्दशीमा विशेष मेला लाग्छ ।