प्रियङका चोपडा आफैले एक पारिवारिक जमघटमा आफू सरोगेसीमार्फत् आमा बनेको घोषणा गरेपछि सार्वजनिक वृत्तमा विभिन्न बहस उठिरहेका छन् । यी बहसमा सकार र नकार दुवै पक्षलाई आआफ्नै कोणबाट केलाइएका छन् ।
सरोगेसी भनेको आफ्नो बच्चा जन्माउनका लागि अरुको कोख भाडामा लिने प्रचलन र प्रयोग हो । यो प्रचलन र प्रयोग नेपालीका लागि अझैं पनि नौलो लागे पनि पश्चिमा देशहरुमा भने सामान्य भैसकेको छ ।
भरतीय नायिका प्रियंका चोपडाले अमेरिकी गायक तथा सिनेकर्मी निक जोनससँग बिबाह गरेकी छिन् । उनको दाम्पत्य जीवनमा त्यति धेरै विवाद त देखा परेका छैनन् । तर पनि निक जोनस र उनीबीचमा केही खटपट चल्दै आएको कुरा एकदुई पटक बाहिरिएका छन् ।
अहिले आएर उनले आफ्नो पारिवारिक जमघटको अवसर पारेर आफू सरोगेसीबाट आमा बनेको खबर बाँडेकी थिइन् । यसैलाई लिएर उनका फ्यान तथा फलोअर्सबीचमा बिबाद र बहस चलिरहेको हो ।
निक जोनस र प्रियंका चोपडा टाढिएको भनिएको केही समयपछि उनले बच्चा धारण गरेको सरोगेसीको कुरा आएको छ, उनकै मुखबाट । यो उनीहरुको व्यक्तिगत मामलाको कुरा पनि हो ।
तर सार्वजनिक फिगरको विचार, आचार र व्यवहारले सिंगो समाजमा केही विवाद र बहस त सिर्जना गर्छ नै । सबैको आँखा उनीहरुको सोच र व्यवहारमा लागिरहेको हुन्छ । उनका फ्यान तथा फलोअर्सका विवाद र बहसका कुरा यीभन्दा बाहिरका पनि छैनन् ।
बहसमा मुख्य गरी तीन कुराहरु आएका छन् । पहिलो, प्रियंकाले सरोगेसीबाट बच्चा धारण गर्नु स्वभाविक हो, संसारमा कानुनी मान्यता पाएकै छ । दोस्रो, उनमा सरोगेसीबाट बच्चा धारण गर्नुपर्ने शारीरिक कमजोरी केही पनि थिएन, किन त्यसो गरेको ? तेस्रो कुरा, के सरोगेसीबाट धारण गरेको बच्चालाई उनले साँच्चिकै आमाको माया र ममता दिन सक्लिन् ?
यी बहसका पछाडि केही सामाजिक, सांस्कृति तथा पहिचानगत कुराहरुले ठूलो मलजल गरिरहेका छन् । सन्तान र सन्तती सामाजिक, सांस्कृतिक र पहिचानगत उपजहरु हुन् । भन्लान् मानिसले यो त सृष्टिको निरन्तरता हो, तर यो भनाइ दार्शनिक मान्यतामा आधारित छ ।
त्योभन्दा पनि बढी हामीलाई आफूले मान्दै आएको सनातन मान्यताले बाँधेको हुन्छ । यसभित्र धर्म, संस्कृति, परम्परा, सामाजिक मान्यता तथा व्यवहार र पहिचानगत कुराले काम गरिरहेका हुन्छन् ।
यसैले पनि एक पूर्वीय मान्यतामा हुर्किएकी भारतीय चेली प्रियंका चोपडा र अर्को पश्चिमी मान्यतामा हुर्किएका निक जोनसका बीचमा रहेका सोच, समझ, सामाजिक मान्यता तथा तिनले ल्याउने व्यवहारिक प्रभाव आफैमा कठिन हुन सक्छन् ।
बच्चा जन्माउने बारेमा भारतमै बसिरहेका एक भारतीय महिला वा पुरुषले जे सोच्न सक्लान् त्यो भन्दा फरक अमेरिकामा हुर्किएका महिला वा पुरुषले अवश्यै पनि त्यो भन्दा भिन्नै सोच्न सक्छन् ।
प्रियंका र निकका बीचमा त यी भिन्न सोच, परिवेश, मनोविज्ञान र आफन्तका व्यवहारले निकै नै प्रभावित बनाइरहेका छन् । सरोगेसीबाट आफूले बच्चा धारण गरिसकेपछिको अवस्थामा यसलाई भाइरल नबनाइदिन पनि उनले आग्रह गरेकी छिन् । यो स्वाभाविक पनि हो ।
प्रतिक्रियाका क्रममा ‘नन वेस्टर्न स्टडिज’ मा स्थापित लेखिका, महिला अधिकारकर्मी तथा उपन्यासकार तसलिमा नसरिनले आफ्नोे ट्वीटमार्फत् सरोगेसीबाट धारण गरिरएको बच्चालाई ‘रेडिमेड बेबी’ को उपमा दिएकी छिन् ।
तसलिमा नसरिनले प्रियंका चोपडाका बारेमा थप कुरा पनि औंल्याएकी छिन् । उनले चोपडा ‘एक्ली नायिका होइनन्’ भन्दै किन सरोगेसीमार्फत् सन्तान सुख प्राप्त गर्नु परेको भनी प्रश्न पनि उठाएकी छिन् । अर्को कुरा, उनी शारीरिक रुपमा कमजोर पनि छैनन् ।
नसरिनले उठाएको कुरा आफैमा तार्किक र जायज दुवै छन् । हो पनि, वास्तवमा सरोगेसीको विधि र प्रक्रिया त ती जोडीका लागि वरदान मानिन्छ, जसलाई विभिन्न खालका स्वास्थ्य समस्याले सन्तान प्राप्ति हुनबाट रोकिरहेका छन् ।
हुन सक्छ, यसका पछाडि केही बाध्यताले काम गरिरहेको होला ।