यो लेखमा पृथ्वीमा रहेका मानव प्रजाति बाहेकका अन्य प्रजाति किन कसरी लोप हुँदैछन् भन्ने बारेमा केही लेख्दै छु । जलवायु परिवर्तनका कारण निकट भविष्यमै विश्वका लगभग २८५ प्रजातिका उभयचर, जलचर, घस्रने जन्तु तथा गैडा, हात्ती, बाघ, भालु लगायत जीव–जन्तुहरु लोप हुने सूचीमा रहेका छन् । यसको मुख्य कारण विश्वभर तीब्र गतिमा भइरहेको जलवायु परिवर्तनको असरलाई मानिएको छ ।
समाचारमा उल्लेख भएअनुसार साइमन फ्रेजर विश्वविद्यालयका प्राध्यापक निकोलस डल्भीले आफ्नो अध्ययन प्रतिवेदनको निचोड राख्दै एएफपीसँग भनेका छन्– ‘रेड लिस्ट’ मूल्याङ्कनका लागि अध्ययन गरिएअनुसार सम्पूर्ण प्रजाति÷समूहको संरक्षण स्थिति खस्कँदै गएको छ । तिनीहरुको लोप हुने खतरा भयावह ढङ्गले बढिरहेको छ ।’
उक्त अध्ययन प्रतिवेदनअनुसार १२ सय प्रजातिहरु त सार्क, डल्फिन लगायत जलचर प्रजाति रहेका छन् । तीमध्ये पनि ३७ प्रतिशत जलचरमध्ये कडा हाड भएका प्रजाति लोप हुने खतरामा रहेका छन् ।
स्मरणीय के छ भने, यो तथ्याङ्क विगतमा (सात वर्षअघि) गरिएको यस्तै अध्ययनको तुलनामा एकतिहाइ भन्दा पनि बढी हो । यसरी पृथ्वीमा रहेका विभिन्न प्रजाति लोप हुनुमा बासस्थानको अभाव, अवैध चोरी सिकार आदि भए तापनि प्रमुख कारण भने पछिल्लो समयमा तीब्र गतिमा बढेको जलवायु परिवर्तनको असर नै हो ।
जलबायु परिवर्तन र यसको असरका बारेमा कुरो गर्दा निकट भविष्यमै जलवायु परिवर्तनकै कारण एकएक गरेर हिमाली भेगमा रहेका हिमनदीको पनि अन्त्य हुँदैछ भन्ने अर्को एक अध्ययन प्रतिवेदन पनि केही समयअघि सार्वजनिक भएको छ ।
यो कुरो त्यस्तै, उस्तै मान्छेहरुले पत्याउने कुरो नै होइन । तर, जोे विषय विज्ञ हो, उसले त नपत्याउने कुरै भएन । त्यसैले त जलवायु परिवर्तनसम्बन्धी विषय विज्ञले विगत लामो समयदेखि नै यसलाई गम्भीरताका साथ लिँदै आएका छन् ।
पछिल्लो समयमा विश्वमा तीब्र रुपमा हुँदै गएको जलवायु परिर्वतनको असरका कारण सुरुमा हिमनदी पग्लने र बिस्तारै हिमनदी सुक्ने अनि हिमताल पनि फुटने र सुक्ने एवम् प्रकारले हिमालमा रहेका सेता हिउँ पनि पग्लेर नाङ्गा डाँडा (काला पहाड÷भीर) मा परिणत हुने अनुमान गरेका छन् ।
यो डरलाग्दो अवश्यंभावी परिणामलाई रोक्न वा कम गर्नका लागि सम्बन्धित विषयमा चासो राख्ने विज्ञ, वैज्ञानिक, खोज–अनुसन्धानकर्ता, वातावरणविद लगायत जलवायु परिवर्तनका बारेमा चिन्ता व्यक्त गर्नेहरुले जलवायु परिवर्तनमा प्रत्यक्ष असर गर्ने हरित गृह ग्यास उत्पादनमा कटौती गर्नुपर्ने भन्ने सम्बन्धमा धेरै पहिलेदेखि आवाज उठाउँदै आएका छन् ।
जलवायु परिवर्तनका कारण हुने स्वच्छ हावाको कमी, वातावरण विनास, बेमौसमा बढ्ने गर्मी र बेमौसमी जाडो, बेमौसमी वर्षा, खण्ड वृष्टि अति वृष्टि, हिउँदे बाढी तथा पहिरोजस्ता प्राकृतिक विपत्तिहरु हिमालभन्दा मुनिरहेका बस्तीमा रहेका मानिसले बेहोर्नु परिरहेको छ ।
यसरी हिमनदी पग्लने क्रमले गर्दा हिमाली र पहाडी क्षेत्र (खास गरी नदी आसपास) मा बसोबास गर्ने मानिसमा पार्ने दीर्घकालीन असरका साथै भविष्यमा कञ्चन, सफा, निर्मल र स्वच्छ पानीको मुहान नै सुक्ने वा अन्त्य हुने संभावना रहेको देखिन्छ ।
त्यसैले त होला, विषय विज्ञहरु यस्ता बेमौसममा आउने बाढी, पहिरो आदिका लागि कसले जिम्मेवारी लिने र यसको रोकथामका लागि कसरी काम गर्ने भन्ने विषयमा गम्भीर बहस र छलफल गरिरहेका छन् । तर पनि हालसम्म मतैक्यता हुन भने सकिरहेको छैन ।
त्यसो त विश्वका विकसित र औद्योगिक देशहरुले जलवायु परिवर्तनमा प्रत्यक्ष असर गर्ने हरित गृह ग्यास उत्पादन गरिरहेका छन् । यसमा अमेरिका, रुस, चीन, अष्ट्रेलिया, जापान, जर्मनी, बेलायत, फ्रान्स, ब्राजिल, इटली, भारत, दक्षिण अफ्रिका, टर्की, भियतनाम, मलेसिया आदि देशहरु नै मुख्य रहेका छन् ।
यी देश र तिनका प्रतिनिधिका बीचमा नीति, मापदण्ड, तरिका र कार्यक्रम आदिलाई लिएर गलफत्ति हुँदै आएको छ । पछिल्लो समय विश्वका उदाउँदो अर्थतन्त्र भनी चिनिएका देशहरु जस्तै चीन, भारत, ब्राजिल, टर्की, भियतनाम, दक्षिण अफ्रिका, मलेसिया आदि देशले पनि हरितगृह उत्पादन गरिरहेका छन् ।
अहिले विकसित तथा औद्योगिक देशहरुले विश्वको ३२/३३ देखि ३६/३७ प्रतिशत पानी उपयोग गरिरहेका छन् । उनीहरुले नै अधिकांश प्राकृतिक सोतसाधन दोहन गर्दै पनि आएका छन् ।
कूलमा औद्योगिक देशहरुले मात्रै विश्वको झण्डै ८१/८२ प्रतिशत वायु प्रदुषणजन्य ग्यास, धुवाँ, फोहर लगायत जलवायु परिवर्तनमा प्रत्यक्ष असर पार्ने खालका फोहरजन्य पदार्थ उत्पादन गर्दै आएका छन् ।
अहिले विश्वका प्रायः सबै हिमनदी तीब्र गतिमा पग्लिन थालेका छन् । त्यसमा पनि हिमालय क्षेत्रको चीनको स्वशासित क्षेत्र तिब्बतको पठार क्षेत्रको चिङघाई आसपासमा बढी नै तीब्र गतिमा हिमनदी पग्लेको देखिएको भन्ने छ ।
संयुक्त राज्य अमेरिकाको ‘टेक्सास ए एन्ड एम विश्वविद्यालय’का अनुसन्धानकर्मीले भनिरहेका छन्– ‘परिकल्पना गरिएभन्दा धेरै छिटो हिमनदी पग्लने क्रम बढेको छ । जलवायु परिवर्तनका सम्बन्धमा विकसित देशहरुको अटेरिपन र दादागिरी कायमै रहेमा अबको ५० वर्षभित्रै सफा, कञ्चन, स्वच्छ र शुद्ध खानेपानीको संकट, घरबास संटकका साथै खाद्यान संकटको पनि आइपर्ने पक्का छ ।